स्वास्थ्य

स्वाइन फ्लुबाट नआत्तिऔँ, संक्रमणबाट बचौँ

- अतुल मिश्र, काठमाडौं

भाद्र १७, २०७४-स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल बोलचालमा स्वाइन फ्लु भनिने ‘इन्फुएन्जा ए (एच१एन१) को संक्रमणबाट थलिएर एक सातादेखि वीर अस्पतालमा भर्ना भएका छन् । बाढीपीडित क्षेत्रमा स्वास्थ्य उपचार, राहत आदिको अनुगम गर्न जाँदा मौसमी रुघाखोकी भएका स्थानीय बासिन्दाको सम्पर्कमा आउनाले स्वास्थ्य मन्त्रीलाई स्वाइन फ्लु संक्रमण भएको प्रारम्भिक अनुमान गरिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० देखि स्वाइन फ्लु ए (एच१एन१ पिडिएम ०९) लाई मौसमी रूघाखोकीकै श्रेणीमा राखेपछि यसलाई पनि नयाँ नाम दिइएको हो । हाल हाम्रो मुलुकका विभिन्न भागमा मौसमी रुघाखोकीअन्तर्गतको स्वाइन फ्लुको प्रभाव देखिइरहेकाले थप सतर्कता आवश्यक छ । संक्रमणबाट जोगिन सक्ने सरसफाइ आदि उपाय गर्दा यो रोग लाग्नबाट धेरै हदसम्म बच्न सकिन्छ । 

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, यति बेला मुलुकभर फाट्टफुट्ट रूपमा स्वाइन फ्लुको प्रभाव भेटिइरहेकै छ । सन् २०१७ लागेयता यसको संक्रमणले १२ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ । तर अन्य चिकित्सक वास्तविक तथ्यांक यसभन्दा धेरै बढी हुने आकलन गर्छन् । मुलुकमा हाल शंकास्पद मौसमी रुघाखोकीका बिरामीमध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार गत एक महिनामा रुघाखोकीका बिरामीका १ हजार ३७ नमुना संकलन गरिएकामा ४ सय ८५ जना अर्थात् ४७ प्रतिशतमा इन्फलुएन्जा ए (एच१एन१) स्वाइन फ्लु देखिएको हो । यस्तै, १९ जनामा इन्फलुएन्जा ए (एच३), एक जनामा इन्फुएन्जा बी भेटियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा रुघाखोकीको समस्या लिएर दिनहुँ पुग्नेहरूको संख्या कम्तीमा ५० हुने गरेको औंल्याउँदै डा. शेरबहादुर पुन भन्छन्, ‘यो संक्रमण एक सातायता बढेको जस्तो छ । दिनहुँ ६ जनाजति प्रयोगशाला प्रमाणित केस हुने गरेका छन् ।’

निजी प्रयोगशालाले स्वाइन परीक्षण गरेको धेरै शुल्क लिन्छन् भने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नि:शुल्क हुन्छ । आवश्यक नभएका व्यक्तिहरूसमेत परीक्षणका लागि आउँदा उपलब्ध साधनस्रोत अत्यावश्यक व्यक्तिका लागि अभाव हुन सक्ने औंल्याउँदै डा. झा भन्छिन्, ‘स्वस्थ व्यक्तिलाई सामान्य मौसमी रुघाखोकी लाग्दैमा स्वाइनको परीक्षण गरिहाल्नुपर्दैन ।’

मुख्य रूपमा मौसमी रुघाखोकीका लक्षण देखिएकामध्ये रोग प्रतिरोधक क्षमता कम भएका, उच्च ज्वरो भएका, गर्भवती, बूढापाका, ५ वर्षमुनिका, दीर्घ रोगीहरूले स्वाइन फ्लुसम्बन्धी परीक्षण गराउन सक्छन् । मौसमी रुघाखोकी, स्वाइन फ्लु आदि कडा रूपमा देखिन सक्ने समूहमा तपाईं, तपाईंको परिवार, छरछिमेक, समाजका थुप्रै व्यक्ति हुन सक्छन् । यस्ता व्यक्तिलाई रुघाखोकीको संक्रमण हुन नदिनसमेत सकेसम्म प्रयत्न गर्नुपर्छ । यदि भई नै हाल्यो भने सामान्य स्वस्थ व्यक्तिको दाँजोमा थप चनाखो हुनुपर्ने आवश्यकता हुन्छ । 

स्वाइनलगायतका मौसमी रुघाखोकीले सताउन सक्ने जोखिम समूहमा दम, श्वास रोगको समस्या भएकाहरू पर्छन् । मौसमी रुघाखोकी, स्वाइन फ्लुले माथिल्लो वा तल्लो सासनलीमा संक्रमण गराउन सक्ने भएकोले पहिलेदेखि नै फोक्सो र सासनलीमा समस्या भएकाहरूको लागि यो घातक हुन सक्छ । 

हाम्रो मुलुकमा धूमपान र मद्यपान गर्नेहरू पनि स्वाइन फ्लुको उच्च जोखिममा छन् । ‘हामीले केही केसमा बाहिरबाट स्वस्थ देखिएका कम उमेरका व्यक्तिमा यो संक्रमण कडा रूपमा देखिएर मृत्युसमेत हुने गरेको भेट्यौँ र कारण खोतल्दै जाँदा मद्यपानलाई समेत कारक मानेका छौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्मा भन्छन्, ‘मदिराको अम्मलीहरूमा समेत यो संक्रमण सजिलै देखिने र कडा रूपमा प्रस्तुत हुने गरेको पाइएको छ ।’ 

हात/गला नमिलाऔँ, नमस्ते गरौं

मुलुकमा स्वाइन फ्लु सबैभन्दा बढी हात/गला मिलाउनाले फैलिरहेको आकलन विज्ञहरूको छ । अभिवादनका लागि नेपाली संस्कृतिको नमस्कार, प्रमाण गर्ने चलन अपनाउँदा यो संक्रमणको जोखिमसमेत कम हुने उनीहरूको धारणा छ । 

‘जो भेटे पनि आजकल हात मिलाउने चलन छ,’ डा. पुन भन्छन्, ‘हात मिलाउने चलन बन्द गर्दा ३० प्रतिशतभन्दा बढी रुघाखोकी, स्वाइनलगायतका यस्ता संक्रमण हुने सम्भावना कम हुन्छ ।’

रुघाखोकी लागेकाहरूबाट एक मिटर टाढै बसौं

रुघाखोकीजस्तो लक्षण बोकेकाहरूको सम्पर्कमा पुग्दा करिब एक मिटर परै बस्ने गरे संक्रमणबाट धेरै हदसम्म जोगिन सकिन्छ । 

‘इम्फलुएन्जा सास मात्र 

फेरि रहेको बेलामा सामान्यत: सर्दैन,’ डा.शर्मा भन्छन्, ‘खोक्दा, हाच्छिउँ गर्दा मुखबाट निस्किने पानीका ससाना कणका माध्यमले एक व्यक्तिवाट अर्कोमा सर्छ ।’

खोकी लागे तीन दिन घरमै बसौं

ज्वरो र रुघाखोकीको समस्या भएकाहरू सकेसम्म तीन दिनसम्म घरमै सुरक्षित रूपमा बस्दा अन्य व्यक्ति संक्रमणको जोखिममा पर्दैनन् । 

बिरामी विद्यार्थी स्कुल, कलेज नजाने गर्दा, रुघाखोकी भएका व्यक्तिहरू आफ्नो कार्य क्षेत्र, भीडभाड भएको ठाउँमा नजाँदा संक्रमण नियन्त्रणमा सघाउ पुग्छ । 

लक्षण

– एक्कासि उच्च ज्वरो

– टाउको/जीउ दुखाइ

– घाँटी खसखस

– सुक्खा खोकी

– नाकबाट पानी बग्नु

– वाकवाकी र पखाला

उपचार

कडा रुघाखोकी देखिए र प्रयोगशाला परीक्षणले स्वाइन फ्लुको पुष्टि भए एन्टिभाइरल सहित अन्य औषधि दिइन्छ । यसका अतिरिक्त बिरामीलाई प्रशस्त आरामलगायतका अन्य प्रक्रिया अपनाइन्छ । परिवारको कुनै सदस्यलाई यो रोग लागेको छ भने अन्य पारिवारिक सदस्यहरूलाई संक्रमणबाट जोगाउन १० दिनसम्म एन्टिभाइरल औषधि दिने गरिएको डा. पुन बताउँछन् ।

स्वाइन फ्लुको समयमै उपचारले रोग निको हुन्छ । 

लापरबाहीलगायत ढिलो गरी उपचार प्रक्रियामा आउनाले यो रोगबाट मृत्यु हुने सम्भावना बढी देखिएको छ ।  

atulmishra7@gmail.com

प्रकाशित: भाद्र १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार