भिडियो

खुट्टाले लेखेरै कक्षा ८ मा

- माधव अर्याल, पाल्पा

भाद्र १६, २०७४-हात कमजोर भएकाले लेख्न सक्दैनन् । मुखबाट आवाज निकाल्न नसक्ने भएकाले बोल्नसमेत गाह्रो छ । तर, खुट्टाको सहायतामा उनले लेख्नेलगायत सबै काम गर्ने क्षमता राख्छन् । रामपुर, २ बार्दाकोटका १९ वर्षीय यामबहादुर खाम्चामगरको दैनिकी अरु कोहीको भन्दा फरक रहेको छ ।

काम गर्न र समाउन सक्दैनन् । सुन्न र देख्नमा भने चतुर छन् । कोही बोल्यो की उनले तत्कालै खुट्टाले लेखेर जवाफ दिन्छन् । उनले केही भन्नु पर्दा भने खुट्टाले कापीमा लेखेर जवाफ दिने बानी परेको छ । कति कक्षामा पढ्छौ ? तत्कालै उनले लेखेर जवाफ दिए, अहिले ८ मा पढेको छु ।’  दुबै खुट्टाले कापी र कलम च्यापेर उनले लेख्ने गर्छन् । 

विद्यालयमा शिक्षकले दिएको गृहकार्य इमान्दारितापूर्वक गर्ने पनि उनको खुट्टाकै सहाराले हो । कापीमा राम्रोसंग लेख्ने गर्छन् । उनको रुचि भनेको चित्र कोर्ने हो । उनका अभिभावकका अनुसार चित्र कोर्न मन पराउँछन् । १२ वर्षको हुँदा घर नजिकैको विद्यालयमा कक्षा १ मा भर्न भएका हुन् । अब कक्षा ९ मा अध्ययन गर्ने उनले बताए । ‘कक्षा ८ को पहिलो परीक्षा दिएको छु,’ उनले लेखेर जवाफ दिए, ‘अहिले पनि राम्रो भएको छ । कक्षा ९ मा पनि पढ्ने हो ।’

 

उनका बुबा मानबहादुरका अनुसार यामबहादुर जन्मदै जण्डिसका रोगी थिए । उपचार गर्न लग्ने भन्ने आर्थिक अवस्थाले भ्याएन । त्यसपछि उनी उठ्न सकेनन् । बिस्तारै अपांगताले समातेको हो । ‘राम्रो उपपचार र खानपानकै अभावले यस्तो भएको होला भन्छन्,’ उनले भने । उनका तीन छोरा र एक छोरीमा यामबहादुर माहिला हुन् । छोराको अवस्था नाजुक छ । तर, उनको तिक्ष्ण बुद्धी र खुट्टाले लेखेको देख्दा भने आमा योगमायाले चित्त बुझाउँछिन् । ‘शारिरीक रुपमा अशक्त भएपनि दिमाग छ,’  उनले सुनाइन् । उनलाई स्कुलसम्म कहिलेकाही आमा छोड्न जान्छिन् भने प्राय: आफै बिस्तारै घस्रेर पुग्छन् । दैनिक कार्यमा भने पारिवारिक रुपमा सघाउनु पर्छ ।

 

७ वर्षको हुँदा उपचारकालागि तानसेनको मिसन अस्पताल ल्याएपनि केही सुधार हुन सकेन । त्यसपछि बाहिर अस्पतालमा जान आर्थिक अवस्थाले भ्याएन । ‘सुत्केरी हुनु अघि र भईसकेपछि पौष्टिक आहारको कमी भयो होला,’ आमा योगमायाले भनिन् ।  उपचार गर्न पैसाको अभाव भएको उनले सुनाईन् । त्यसैले उपचार पाउन सकेनन् । यामले ८ वर्षसम्म शरीर धान्नसमेत सकेनन् । उपचार गर्न आएका बेला मिसन अस्पतालका डाक्टरले आमा र छोराको खानपानमा ध्यान दिन भने पनि खासै उपलब्धि भएन । ‘आठ वर्षपछि बल्ल अलिअलि हिडेको हो,’ उनले भनिन् । त्यसपछि हिडडुल गर्न थालेका हुन् । अहिलेको अवस्थामा आउन पनि धेरै समय लागेको हो । 

विद्यालय जान सुरु गरेपछि भने उनी नियमित नै भए । अरु संगी साथीभाई खेल्ने, स्कुल जान नमान्ने हुन्थ्यो । तर उनमा त्यस्तो भएन । बिस्तारै अक्षर चिनेपछि भने तिक्ष्ण बुद्धी देखियो ।  अहिलेसम्म उनी फेल नभई कक्षा चढेका छन् । बालहित माविका प्रधानाध्यापक नवलसिं विरकट्टाले भने,  ‘विद्यालयकै मेहनती र लगनशील विद्यार्थी हो ।’ डेक्स र बेन्चको बिचमा चटाइमा बसेर उनको पढाई हुन्छ । अरुसँगै पढ्दा बुझ्न ढिला भएपनि केही बोल्दैनन् । उनीसंग निलो अपांगता परिचयपत्र छ ।  सरकारी सेवासुविधा पनि केही नपाएको उनका बाबुले बताए । बाबु मानबहादुर र उनका जेठा छोरा पुनाराम भारतमै रोजगारीका लागि बस्छन् । स्थानीय इमानसिं रानाले भने, ‘कतैबाट थप सहयोग जुटेर सुविधासम्पन्न विद्यालयमा पढ्न पाए उनले धेरै प्रगति गर्न सक्छन् ।’

प्रकाशित: भाद्र १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार