ब्लग

मैले नबुझेको फेसबुकका दासहरुको चर्तिकला

- नवीन रायमाझी, काठमाडौं

भाद्र १६, २०७४-मार्क जुकर्बर्गले फेसबुक भन्ने जिनिस् के र कुन उदेश्यले बनाएका हुन्, त्यो ठयाक्कै भन्न त उनले मात्र सक्लान् । तर, जे र जस्तो उदेश्यले बनाएपनि आजको दिनमा सबै यसैलाई दास बनाएको छ । पुराना/ नयाँ परिचितहरुसंग सम्पर्क हुने र आफ्नो स्मरण गर्न योग्य फोटो र सन्देशहरु साट्न सकिने यो एक किसिमको प्लेटफर्म नै बनेको छ, जो सकारात्मक कुरा हो । बेला–बेलामा फेसबुक प्रोफाइलबाट अरुको तस्विर अनधिकृत रुपमा झिकेर नक्कली प्रोफाइल बनाउने, त्यसको दुरुपयोग गरेर विभिन्न किसिमको अपराध गर्ने जस्ता बिकृतिहरु नदेखिएका त होइनन् । तैपनि समग्रमा यो जिनिसलाई नराम्रो भनि हाल्न मिल्दैन ।  

एक आपसमा भेट नभई फेसबुकबाटै प्रेम भएर लाखौं रुपियाँ र गहना ठगेको समाचार पनि आउने गरेका छन् । यस्तो कुरा सुन्दा भने अचम्ममा परिन्छ । तर, ठग्ने र ठगिनेहरुको मनोविज्ञान सामान्य व्यक्तिले बुझ्ने कुरा भएन । सरसर्ती हेर्दा भने देख्दै नदेखेको मान्छेले माग्यो भन्दैमा लाखौं रुपियाँ बुझाउने मान्छेलाई मुर्ख भन्दा अरु के नै भन्न सकिन्छ र ? केही बुज्रुक समाजशास्त्रीहरुले फेसबुकको कारण बेश्यावृत्ति बढेको कुरा गर्छन् । तर, यो कुरामा म कुनै तुक देख्दिन । यसमा मेरो ज्ञान नभएर पनि हुन् सक्छ । 

म आफै पनि फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा सक्रिय छु । यसैकारणले यस्ता सामाजिक सञ्जालहरुमा अरुले गर्ने क्रियाकलापहरु मध्ये मैले बुझ्न नसकेको कुराहरु यहाँ उल्लेख गर्ने जमर्को गरेको छु, कुनै महानुभावलाई यो बारेमा जानकारी भए र मलाई त्यो जानकारी दिने कष्ट गर्नुभए म आभारी हुने छु । 

मैले बुझ्न नसकेको पहिलो कुरा, सडक दुर्घटना भएर रगतपच्छे र हेर्दै डरलाग्दो भयावह तस्विरहरु पोष्ट किन गर्छन् होला ? एकपटक हेर्दा पुरा दिन नै खराब हुने त्यस्ता तस्विरहरु अपलोड गरेर के फाइदा हुन्छ ? एउटा सामान्य ज्ञानले पनि त्यस्ता फोटोहरु कसैलाई हेर्न मन लाग्न नपर्ने हो ।

दोश्रो, चिने नचिनेका मरेका मान्छेहरुको फोटो अपलोड गरेर त्यसको तल आरआइपी लेख्नुहोला भनेर भन्नेहरुको मनसाय पनि मैले बुझ्न सकेको छैन । कालगतिले वा अकालमा मरेका व्यक्तिहरुको परिवारलाई पर्ने शोक त आफ्नो ठाउँमा छँदैछ । चिन्नु न जान्नुको मान्छेले आरआइपी लेखेर के हुन्छ ? त्यस्तो मान्छेहरु हरेक दिन लाखौँको संख्यामा मरिरहेका हुन्छन् । अब कतिको फोटो अपलोड गर्ने र कति आरआइपी लेख्ने ? साहित्यकार नयनराज पाण्डेले फेसबुकमा लेखेको यो स्ट्याटस "सामाजिक सञ्जालमा मृत्युका सचित्र समाचार यति आउन लागे कि अब त जन्मदिनमा राखिएका फोटाहरुले पनि तर्साउन थाले" ले मेरो मन भित्रैबाट छोयो । मलाई पनि आजभोली केहि व्यक्तिहरुको काम नै आज यो मर्यो वा हिजो उ मर्यो भन्ने मात्र होकी जस्तो लाग्न थालेको छ । 

तेश्रो, कुनै भगवान वा मन्दिरको फोटो अपलोड गर्ने अनि त्यसको तल पाँच मिनेटभित्र लाइक र सेयर गर्नुस्, तपाईंको रोकिएको काम पुरा हुनेछ, रोकिएको धन प्राप्त हुनेछ, सुन्दरी श्रीमती पाउनुहुन्छ जस्ता हावादारी र बकम्फुसे कुरा लेख्नेहरु । एउटा फोटो शेयर गरेको भरमा मनमा लागेको कुरा पुग्ने भए, धन प्राप्त हुने भए वा सुन्दरी श्रीमती प्राप्त हुने भए मान्छेहरु यत्रो दौडधुप किन गर्थे र किन गर्नु पर्थ्यो? बास्तवमा यो बिभिन्न व्यक्तिहरुको सूचना संकलन गर्न चरालाई पासो थपेको जस्तो मात्र हो । कुनै कुनै यस्तै पोष्टहरुमा लाइक र शेयर गर्नासाथ तपाईं को मोबाइलमा भएको डाटाहरु त्यो पोष्ट गर्नेहरुको नियन्त्रणमा जाने हुनाले यस्तो क्रियाकलापलाई सकेसम्म निरुत्साहित गर्नु पर्छ । आजको यस्तो बैज्ञानिक युगमा कुनै पोष्ट शेयर गर्नासाथ मनले चिताएको कुरा पुग्छ भनेर कसैले सोच्छ भने त्यो मुर्ख हो ।

चौथो, एकथरिको काम समाजमा प्रख्यात वा कुख्यात व्यक्तिहरुसँग खिचेको फोटो अपलोड गरेर आफुलाई बिशेष व्यक्ति प्रमाणित गर्न खोज्ने रहेको देखिन्छ । यसको लागि त्यो मान्छेको परिचितसँग अनुरोध गरेर फोटो मात्र खिच्नको लागी मरिहत्ते गरिरहेको पनि यो मैले देखेको छ । अझ कसैकसैले त फोटोसपबाट मिलाएर पनि अपलोड गरेको देखेको छु । यसको ज्वलन्त उदहारण नयाँ मन्त्रिपरिषद् गठन हुनासाथ मन्त्रीहरुसँग खिचेको फोटोहरु बाक्लै अपलोड हुने गर्दछ । मैले यसो भन्नुको अर्थ मेरो भित्री अन्तरमनमा ए जना पनि मन्त्रीसँग परिचय नभएकोले डाहा पनि हुन् सक्छ ।

अमेरिकाको वासिंगटन बिश्वबिद्यालयले सन् २०१३ मा गरेको सामाजिक सञ्जाल र यसले पारेको प्रभाबको बारेमा गरेको एउटा अनुसन्धानले फेसबुकलगायतका सामाजिक सञ्जालहरुले बिस्तारै मान्छेहरुलाई दुर्व्यसनी बनाउदै लागेको निचोड निकालेको थियो । उक्त अनुसन्धानमा करिब ६५ प्रतिशत ब्यक्तिहरु आफुले पोष्ट गरेको फोटो वा स्टयाटसमा कति लाइक आउँछ र कस्तो प्रतिक्रिया आउँछ भनेर कुरेर बस्छन् । त्यसमा पनि अधिकांशले आफ्नो फोटो वा स्टयाटस्हरुमा प्रतिक्रिया जनाउन हारगुहार गर्ने पनि गरेका छन् । यस्तै फेसबुकको लतले व्यक्तिको कार्य क्षमतामा पनि ह्रास आउने गरेको उक्त अनुसन्धानले देखाएको थियो । त्यसैले आजभोली कतिपय देशका कार्यालयहरुमा कार्यालय अवधिमा फेसबुक चलाउन प्रतिबन्ध लगाइएको हुनसक्छ । तर, मेरो व्यक्तिगत बिचारमा यसरी प्रतिबन्ध लगाएर समस्या सुल्झवाला चाही छैन । 

यि माथि उल्लेखित भन्दा पनि संवेदनशील यो सामाजिक सञ्जाललार्इ कसै कसैले जानेर वा नजानेर बैबाहिक सम्बन्ध गाँस्ने पोर्टल (मेट्रिमोनियल पोर्टल) को रुपमा लिएको देखेको छु, जो बिल्कुलै गलत छ । यस्तै गतिबिधिका कारणले कति महिला र पुरुष मानसिक पीडाबाट गुज्रेका छन् । हामीले बिर्सनु नहुने कुरा के भने कुनै केटाले वा केटीले साथी बन्न खोज्यो भने त्यो मात्र साथी बन्न खोजेको हो, बिबाह गर्न होइन, यदि तपाईंको कुनै लेखोट वा फोटो कसैले लाइक गर्यो भने त्यो फोटो वा बिषयबस्तुलाई मन पराएको हो तपाईंलाइ होइन ।

प्रकाशित: भाद्र १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार