सूचना प्रविधि

निकुञ्जमा सीसी क्यामरा र सोलार

- कृष्णप्रसाद गौतम, नेपालगन्ज

भाद्र १६, २०७४-बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा निगरानीका लागि सीसी क्यामरा र सोलार जडान गरिएको छ । निकुञ्ज क्षेत्रका ५ स्थानमा सीसी क्यामरा र १८ स्थानमा सोलार जडान गरिएको हो । निकुञ्जमा हुने अवैध गतिविधि, सडक दुर्घटना तथा अन्य गतिविधिको निगरानीका लागि सीसी क्यामरा राखिएको निकुञ्ज प्रशासनले जनाएको छ । 

निकुञ्जका अनुसार पूर्वपश्चिम राजमार्गको प्रगतिनगरमा २ र मुख्यालय रहेको ओभरीमा ३ वटा सीसी क्यामरा जडान गरिएको हो । सीसी क्यामरा एकएक किलोमिटरको दूरीमा जडान गरिएपछि सुरक्षा निगरानी चुस्त बन्दै गएको छ । यसअघि वन्यजन्तुको सडक दुर्घटनामा मर्ने क्रम बढ्दै गएको थियो भने निकुञ्ज क्षेत्रमा तीव्र गतिमा यातायात सञ्चालन गर्दा दुर्घटनाको संख्या बढेको थियो । 

यातायातका साधनको गति नियन्त्रणका लागि समेत सीसी क्यामरा उपयोगी हुने निकुञ्जले जनाएको छ । उसका अनुसार सीसी क्यामरामार्फत कुनै शंकास्पद गतिविधि भेटिए तत्काल निकुञ्ज र सेनाको गस्ती उक्त क्षेत्रमा खटाउनसमेत सहज हुनेछ । सीसी क्यामरा अन्य संवेदनशील क्षेत्रमा समेत जडान गर्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जले विद्युतीकरण नभएका निकुञ्जका ९ र ९ सेनाका पोस्टमा ६ हजार वाटको सोलार जडान गरेपछि चौबिसै घण्टा हुने ड्युटी र गस्ती सहज बन्दै गएको छ । त्यस्तै ओभरी चेक प्वाइन्टमा सडकमै सौर्यऊर्जा जडान गरेपछि सुरक्षा जाँचमा सहयोग पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

‘सीसी क्यामराले निकुञ्जको अति संवेदनशील क्षेत्रको सुरक्षा निगरानी बढाउन, अवैध गतिविधि रोक्न र सडक क्षेत्रमा वन्यजन्तु आउजाउको स्थिति जानकारी लिन सजिलो भएको छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत भण्डारीले भने, ‘निकुञ्जका विभिन्न १८ वटा पोस्टहरूमा विद्युतीकरण 

नहुँदा रातको समयमा निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीलाई समस्या हुने गरेको थियो ।’ 

उनका अनुसार सौर्यऊर्जा जडान गरेपछि गस्ती र ड्युटी प्रभावकारी भएको छ । सौर्य ऊर्जाले गस्तीका लागि सञ्चार सामग्री चार्ज गर्न, आसपासको क्षेत्रको सुरक्षा स्थिति निगरानी गर्न र सिसी क्यामराको पावर सप्लाइ गर्न सहयोग पुर्‍याएको निकुञ्जले जनाएको छ । सीसी क्यामरा र सोलार जडानमा जुलोजिकल सोसाइटी अफ लन्डनले सहयोग गरेको हो । 

बाँके निकुञ्जमा पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा ब्लक निर्माण गरी पर्यटन विकासका कार्यक्रम थालिएको मुख्यालयले जनाएको छ । निकुञ्जमा ११ बयस्क बाघ छन् । आहारा प्रजातिको संख्यामा वृद्धि र अनुकूल वातावरणका कारण बर्सेनि निकुञ्जमा बाघको संख्या बढ्दै गएको निकुञ्जले जनाएको छ । वन्यजन्तुका वासस्थान व्यवस्थापनका लागि निकुञ्जमा घाँसे मैदान व्यवस्थापन, पानी पोखरी निर्माण, नियमित सुरक्षा गस्ती, वनपथ विस्तार, अग्निरेखा निर्माणलगायत कार्यक्रम सञ्चालन गरिएको भण्डारीले जनाए । 

साढे ५ सय वर्गकिलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्ज फैलिएको छ । निकुञ्जमा बाघसँगै ११ प्रजातिका दुर्लभ तथा संकटमा परेका स्तनधारी वन्यजन्तु भेटिएका छन् । दुर्लभको सूचीमा परेका दुई प्रजातिका घस्रिने वन्यजन्तु पनि फेला परेको निकुञ्जले जनाएको छ । 

गत वर्ष गरिएको अध्ययनले निकुञ्जमा ३२ प्रजातिका वन्यजन्तु भेटिएका थिए । निकुञ्ज क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउन होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका छुट्टाछुट्टै ब्लक निर्माण सुरु गरिएको छ । निकुञ्जले पर्याप्त पूर्वाधारको व्यवस्था गरी यसै आवभित्र पर्यटक भित्र्याउन सुरु गरिने जनाएको छ ।

 

प्रकाशित: भाद्र १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार