भिडियो

ओमानमा नेपाली कामदार : ‘ओभरटाइमले बाँचेका छौं’

- होम कार्की, अल्खुद (ओमान)

भाद्र १६, २०७४-हरिपुर ३, सप्तरीका हरिलाल विश्वकर्मा ओमान जानुअघि ललितपुरको गोदावरी मार्बलमा काम गर्थे । ५६ वर्षीय विश्वकर्मामा २० वर्षको उमेरमै विदेश जाने चाहना थियो । ‘गाउँमा हलो जोत्दा सधैं आकाशमा जहाज उडेको देख्थेँ । त्यो कहिले चढ्ने होला भन्ने सपना देख्थेँ,’ उनले भने, ‘त्यो सपना २० वर्षपछि पूरा भयो ।’ 

गोदावरीको मार्बल कम्पनी बन्द भएपछि हरिलालको ओमान जाने बाटो खुल्यो । ‘त्यतिखेर ओमानी कम्पनी गएर हामी सबै कामदारलाई उठाएर ल्यायो,’ उनले भने, ‘यो कर्ममा मरुभूमिको मार्बल पनि फुटाउन लेखिएको रहेछ ।’

हरिलाल काम गर्ने आरएमजी कम्पनीमा १ सय ७८ कामदार छन् जसमा नेपाली ७८ जना छन् । ‘म त आफूलाई भाग्यमानी ठान्छु । किनकि ४० वर्ष कटेपछि यहाँ आएँ । मैले त उमेर छँदा परिवारसँग बस्ने मौका पाएँ,’ उनले भने, ‘मेरो छोरो पनि मसँगै काम गर्छ । अहिले २०/२२ वर्षका धेरै युवा यहीं छन् । उनीहरू निकै अभागी रहेछन् । बिचरा, कोही परिवारसँग बस्न नपाउने भए ।’ 

हरिलाल बढीमा थप दुई वर्ष बस्ने योजनामा छन् । ‘१० वर्षदेखि यहाँ पत्थर फुटाउन थालेको हो । नातिनातिनाले काम गर्ने बेला आयो । यो बूढो शरीरमा थप पत्थर फुटाउन सक्ने क्षमता छैन,’ उनले भने, ‘अब आराम गर्न देश जाने हो ।’ उनीसँगै दुवीकाल ८, खोटाङका ३० वर्षीय दीपक तमु ७ वर्षदेखि काम गरिरहेका छन् । ‘जम्माजम्मी २०/२५ हजार कमाउन मरुभूमिको ढुंगा काट्न आउनुपरेको छ । कम्पनीले त शोषण नै गरेको छ,’ तमुले भने, ‘न ओमान बस्न मन छ, न त छाड्न सकेको छु । एकदमै ठूलो ट्रयापमा परियो ।’

पोखरीचौरी ३, काभ्रेका रत्नप्रसाद गौतम करारपत्रअनुसार कम्पनीले सेवासुविधा नदिएको बताउँछन् । ‘एक सय २० रियाल दिने भनिए पनि सुरुमा कम्पनीले ७० रियाल मात्रै दिन्छ,’ उनले भने, ‘वर्षौंसम्म काम गर्दा पनि तलब बढाउने गरेको छैन । ओभरटाइमले मात्रै बाँच्ने हो ।’

राम्रो स्वास्थ्य बिमा नहुँदा कम्पनीमा केही भइहाले उपचार गर्न नेपाल नै पुग्नुपर्छ । ‘गोरखाका केशवप्रसाद पराजुलीलाई काम गर्दा सर्पले टोक्यो । ओमानमा चित्तबुझ्दो उपचार भएन । अहिले नेपालमै गएर उपचार भइरहेको छ,’ बेंसीसहर, लम्जुङका दिनेश पाण्डेले भने, ‘यहाँ अर्को कम्पनीमा गएर काम गर्न पाइँदैन । नेपाल गएर अर्को देश जानुपर्दा अर्को एक डेढ लाख रुपैयाँ बुझाउनुपर्छ । त्यही भएर बसिरहेका छौं ।’

सिरहाका सुरेश यादव कम्पनीमा फोरम्यान हुन् । नेपाली कामदारका समस्यालाई व्यवस्थापनसमक्ष उनैले लैजान्छन् । ‘हामी दाजुभाइ मिलेर बसेका छौं । मैले सक्दो सहयोग गरेको छु । कम्पनीसमक्ष नेपाली कामदारको समस्या पनि पुर्‍याइरहेको हुन्छु,’ उनले भने, ‘साथीहरू यहाँ पैसा कमाउन आएका हुन् । त्यो नै कम छ । व्यवस्थापनले सुनिरहेको छैन ।’ 

१० वर्षदेखि इलेक्ट्रिकल सुपरभाइजर रहेका योगनियाँ १, सप्तरीका रामनन्द मण्डल अमात्य श्रमसम्झौता गरे मात्रै नेपालीको तलब बढ्ने ठान्छन् । ‘नेपालमा जतिको करारपत्र बने पनि यहाँ पाइन्न,’ उनले भने, ‘ओमानसँग श्रमसम्झौता गरेर नेपालीले पाउने न्यूनतम तलब निर्धारण गर्नुपर्छ । त्यो भए मात्रै हाम्रो तलब बढ्छ ।’ 

प्रकाशित: भाद्र १६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार