ब्लग

संस्मरण : राँगाको कब्जामा सुरक्षा !

भाद्र १३, २०७४-

नौमती बाजाजस्तै कहिले कुन, कहिले कुन तालले बज्दोरहेछ मान्छेको जीवन ! ठाउँठहर, लयसुर पत्तै नपाइने । प्रसङ्ग महोत्तरीको अनि छपन्न साले आमनिर्वाचन तयारी बेलाको हो । बाढी, गर्मी र गाँजाको त खानी नै भनिदिए हुने रहेछ त्यतिबेरको महोत्तरीलाई । त्यसमाथि चुनाव आउने वर्ष त दुई/चार महिनाअघिबाटै वातावरण गाजडी तालले गर्माएर बेपत्ता । सातसाले क्रन्तिका सपूत जन्माउने ऊर्वरभूमि भनेर गर्व गर्ने महोत्तरीले चुनावी सभ्य संस्कृति भने अझै अँगाल्न नसकेको रहेछ ।

 

छिमेकको विहारलाई दोष दिन्थे त्यहाँकै अलि भद्रभलाद्‌मीहरु । सरुवा भएर नयाँ सीडीओ, एसपी जानेबित्तिकै स्थानीय नेता, कार्यकर्ता जोगी, सन्यासी मास्टर व्यापारी एकमुख लागेर भन्दारहेछन्– चुनाव तो क्या होगा ? बूथ कि छपाइ होगी । मतदाताले त हाजिरी देखाउनेमात्रै हो । बूथ कब्जा गर्ने पार्टीका भिजिलान्ते एजेन्टले मतपत्रमा छाप हानेर खसाल्छन्, जसले बूथ कब्जा गर्न सक्छ जित उसैको हुन्छ–उनीहरुको एकै भनाइ थियो । एसपी गंगा पाण्डे, वसन्त राई, मेजर अनि म प्रजिअलगायत सुरक्षा प्रमुखहरु भने निष्पक्ष धाँधलीरहीत निर्वाचन गराएरै छोड्ने अठोटमा थियौं । हामी गर्व र हिम्मतसाथ जोसँग जतिबेर पनि धाँधलीरहीत नमूनाको अभूतपूर्व चुनाव गराएरै छेड्ने घोषणा गर्दथ्यौं तर अगाडि ठीक पारे पनि भित्रैदेखि पत्याउने पात्रहरु त्यति पाइएनन् ।

 

पहाडमा थुप्रै चुनाव गराए पनि तराईको अनुभव थिएन । त्यसैले हाम्रासामु चुनावका चुनौतीरुपी चाङहरु महाभारत बनेर ठडिएका रहेछन् । त्यो थाहा पाएदेखि नै चुनावमै केन्द्रित भएर बारम्बर बैठक बस्यौं । बाधाव्यवधान र रणनीतिबारे बेस्सँग छलफल गर्‍यौं । मतदातालाई सुसूचित गरेर मतदानमा अनिवार्य सरिक गराउनु पहिलो र दुर्लङ्घ्य चुनौती देखियो । अनि लाग्यौ देहातका गाउँ टोल र रस्तीबस्तीको स्थलगत दौडाहामा ।

 

जिल्लाको सबै भेगभाग घुमेर वस्तुस्थिति बुझ्ने, मतदानमा अभिप्रेरित गर्ने र सुरक्षाको प्रत्याभूति दिने कार्यक्रम तय थियो । जसअनुसार प्रहरी र जनसम्पर्कका दुवै एसपी र म आफैंसमेत एक दिन जिल्लाको मध्यभेगतिर निस्कियौं । जलेश्वरबाट सिधै बर्दिबास जाने मोटरबाटो बनेको थिएन । भारतीय सीमाछेउ रहेको जिल्ला सदरमुकाम जलेश्वरबाट उत्तरपूर्वी क्षेत्रमा जता जाँदा पनि जनकपुर भएरै जानुपर्थ्यो । त्यस दिन पनि जलेश्वरबाट जनकपुर, रामनगर हुँदै महोत्तरीको भागाहा निस्किएका थियौं । गाउँ निस्किनैलाग्दा बीचबाटामा सानो दह जमेको खोल्सी तर्नु पर्ने रहेछ । खोल्सीका माझमा छिपछिपे पानी जमेको पोखरी देखियो । ए ए पख्नोस् भन्दै थिएँ म त । तर, बढी आत्मविश्वासले गर्दा होला, एसपी गंगा पाण्डेले मेरो भनाइ सुनेनन् । उनले चलाएको टोयोटा पिकअप गाडी विस्तारै लगेर ठाउँठहर भेउ नपाइने खालको गहिरो हिले पोखरीमा छम्लङ्गै भासिदिए । गाडी फस्दै गएपछि दह्रो गियर लगाएर उतार्न खोज्दैथिए, तर केही लागेन, पछाडिका दुवै चक्का अधोमार्गी बनेर झन्झन् भास्सिँदै गए । घडरक–घुडुरूक्क्क गर्दागर्दै थोरै धुँवा फालेर सुइया आवाजसहित स्टार्ट बन्द भयो । अनि मुन्टोमात्र निकालेर सुस्केरा भर्दै गाडी त पोखरीभित्रै थ्याच्चै थला पो बस्यो !

 

एसपी साहेवसँगै एउटै गाडीमा थियौं म र वसन्तजी पनि । आधासरो डुबेपछि गाडीबाट हामी साहेबहरु पाइन्ट र जुत्ता भिजाउँदै र छाम्लाङछुम्लुङ गर्दै बल्लतल्ल पाखा उत्रियौं । अनि हिलाम्मे कपडा निचोर्न थाल्यौं । पानी निचोरिए पनि हिलो लागेका कपडा विरुप देखिएर अर्को सास्ती ! यता पोखरीबाट गाडी तुरून्तै निकाल्ने एसपी साहेबको आदेश गोलीको वेगमा निस्कियो । प्रहरी ठिटाहरु सकेजति पाइन निकालेर हर्कतमा आए । जलसमधि लिएको गाडीलाई कोही पाखातिर घचेट्न र कोही टुचिन लगाएर अगाडि तान्न थाले । तर, गाडी टसमस भएन । कमलो हिलो भेटेपछि सुग्घर सफा सुकिलो जापानी गाडी प्रेमपूर्वक झन्झन् भास्सिन थाल्यो । हुँदाहुँदै पोखरीको नरम, मांसल, मुलायम मायाजालमा सांसारिक प्राणीझैं नजानिँदो किसिमले बिस्तारै फस्दै गयो । हामी हाकिम भनाउँदा जीवहरु भने किनारा लागेपछि अजीव तालले हक्क न बक्क पर्दै गयौं ।

 

भागाहा गाउँ अलि परै रहेछ । त्यतैतिर छाडा छोडिएको एउटा मुस्तण्ड विशालकाय राँगो परैदेखि स्वाँफ्वाँ गर्दै र थान थापेर निहुँ खोज्दै हामी भएतिर आयो । परबाट देख्तै कालो न कालो धम्मरधूस अनि विशाल अवयव र आकार भएको त्यो राँगो क्यालिफोर्नियाको 'ब्ल्याक माउन्टेन'जस्तै लाग्दथ्यो ।

 

प्रहरी केटाहरु गाडी उतार्नमा व्यस्त थिए । कालो न कालो दैत्याकार राँगो ठोसे सिङ उज्याएर हाम्रै नजिक आइ पो हाल्यो । हा हु गरेर रोक्न खोज्दा झन् सन्कियो र चारै खुट्टा फालेर उफ्रिँदै सिंगौरी खेल्दै सुरक्षाफौजको जिउज्यानमाथि नै धावा बोल्ने पोजिसन देखायो । बन्दुक खट्याग खट्याग पार्दा झनै निहुँ खोजेर हामीतिरै पो अघि बढ्यो । दहबाट गाडी उतार्दै गरेका अफिसर जवानहरु भागाभाग भए । हामी हाकिम भनाउँदा बबुराहरु पनि उनीहरुकै पछुवा स्कर्टमा भागाभाग गर्न थाल्यौं । भाग्ने कर्ममा हामी कमजोर भएकाले राँगाको डर पनि सासजस्तै बढिरहेको थियो । तर इमान्दार अनुशासित सुरक्षाकर्मीले हामी मोटा हाकिमको पिछा छोडेर अधर्म गरेनन् । हामी भागेको देखेपछि विजेता शैलीमा राँगो झनै सन्किएछ । पुच्छर ठड्याउँदै र बुर्कुसी मारेर पट्टा खेल्दै मोहम्मद गजनी बनेर दपेट्न थाल्यो । हडबडीमै सल्लाह पनि गर्दै थियौं हामी । राइफलको कमी त थिएन, तर हवाइ फायर गर्दा राँगो झन् बिच्किएर हिंस्रक तालले आइलाग्ने अनुमान भयो । केहीबेर आफू दुई कदम पछि हटेर नै राँगालाई तह लगउनु उपयुक्त लाग्यो । अनि त के भाग्यौं मज्जैले !

 

'पुलिसको नीलो ड्रेस देखेर राँगो सन्किएछ । अनि आइलागेको ।' बाटोवरपर किनारा लागेका बटुवाहरु भन्दैथिए । हामी विपरीत दिशातर्फ भागाभाग गरेको देखेर राँगो  झनै उत्साहित भएछ, सिङ थाप्दै, मुन्टो बटार्दै पछिपछि लागेर दपेट्दै थियो ! छाडा राँगो साँच्चिकै त्यो भूगोलभरिको आतातयी तानाशाह बनेर हामीलाई लखेटिरहेको थियो । हामी भागी नै रहेका थियौं । जिल्लाको सुरक्षा समिति पनि हमीसँगै भागिरहेको थियो ।

 

हातमा शस्त्रास्त्रको कमी त थिएन, तर मूले राँगालाई ड्याङ्गै गोली ठोकेर ढालिहाल्नु पनि भएन । हवाई फायर गर्दा तर्सिएर झन्साह्रो आक्रामक हुँदै आइलाग्यो भने ? यस्तै के के सोच्दै सासै नफेरी दौडिँदै गयौ । निकैबेरको कसरतपछि बल्ल एउटा कच्ची खपडावाल घरभित्र पसेर शिर जोगायौ ।

 

लखेट्दै आएको राँगाले पनि हामी त्यो घरभित्र पसेको देखिहालेछ । ऊ पनि ठ्याक्कै ढोकाबाहिर रोकियो । अनि अझै तुजुक देखाएर आँखा तर्दै भुइँ खोस्रिएर सिंगौरी खेल्न थाल्यो । कच्ची गाह्रो हानेर हामी बसेको घरै भत्काउला भन्ने अर्को डर थपियो । यतिखेर जिल्लाको शान्तिसुरक्षा पूर्णरुपले राँगाको कब्जामा झुपडीभित्र कैद भयो । हामी सबैले कहिल्यै नभोगेको हाहाकार भोग्नुपर्‍यो । 'यो प्रजातन्त्रमा पनि हामी पुलिस प्रशासनउपर किन यस्तो ज्यादती ? राँगाले समेत देखि नसहने !' प्रहरी जवानहरु ठट्टा गर्दै थिए । 'जनआन्दोलनताका भक्तपुरका कुकुरहरुले पनि हामीलाई लखेटेर हैरान पार्थे' अर्का सइसाहेब हास्यौली गर्दै थिए । 'रातो–पहेंलो लुगा लगाएका आइमाई र नीलो ड्रेसका पुलिस देख्नै हुन्न रे यसलाई, ठाडै आइलाग्छ यो पड्के त । बिउको लागि सबै गाउँले मिलेर पालेको छाडा राँगो न ठहर्‍यो ! कहिलेकाहीं त उसै साँढा पल्टिएर सोझासादा बटुवालाई समेत हैरान पार्छ यसले ।'

 

हामीले शरण लिएको घरका बूढा मान्छेले राँगो रहस्य खोल्दै गए । त्यो एरियाभरिकै लागि पालेको साझा राँगो रहेछ । हिउँदबर्खै बालीनालीमा छाडा छोड्ने र कसैले नकज्याउने गरेकाले त्यस क्षेत्रकै निरङ्कुश पशुराज बनिसकेछ । घरधनीले हा हु गरेर जति हप्काए पनि केही नसुनी हाम्रो ऐरो गर्दै बाहिर सिंगौरी खेलिरहेकै थियो । हामी थर्कमान भएर घरभित्र चुपचाप दुम्किएका थियौं ।

 

कच्ची घर रहेछ खपडाको छाना र काँचा इाटको गारो भएको । त्यही पनि सिंगौरी खेलेर भत्कायो भने ? यो महिसाशूरको के ठेगान ? अर्को ठूलै समस्या खडा थियो हाम्रोसामु । 'हेर हेर सुरक्षा प्रमुखहरुको दुर्गति ! हेर हेर विचराहरुको ताल ! एउटा राँगोले त सातो लियो, अब त्यत्रो आमनिर्वचन कसरी पार लगाउला यार ?' 

 

आपसमा यस्तै ठट्टा र पातला कुरा गर्दै हाँसिरहेका थियौं हामी । घरभित्र लुकेको पनि दस मिनेट बितेछ । घरबूढाकै भनाइ पत्याएर प्रहरी जवानहरुलाई नीलो युनिफर्म खोलेर कट्टु–गन्जीमात्रै लगाउन अह्रायौ । अनि त्यसै घरका बर्खे दाउरा र भाटा देखाउँदै राँगामाथि जाइलाग्न ‘युद्ध मोर्चा’मा खटायौ । राँगो पनि सडकको जमिन खोस्रिंदै र फाँ फुँ गर्दै घरको सामुन्ने डटिरहेकै थियो । लाठी आक्रमणको बेला हाम्रा ठीटाहरु हारेको खण्डमा हवाई फायर गर्ने र अझै नटेरेर थप आइलागेको अवस्थामा शस्त्र बल प्रयोग गरेर छुसी राँगालाई संसारबाटै बिदा गरिदिने अनि जो लागेको अर्मल (क्षतिपूर्ति) तिर्ने निर्णयमा समेत पुगेका थियौं ।

 

लाठा र बन्दूकसहित प्रहरी केटाहरु घरबाहिर ह्वारह्वार्ती निस्किए । यतिबेर औपचारिक ड्रेसबिहीन भएकाले उच्च मनोबलले जाइलाग्ने मन:स्थितिमा थिए हाम्रा केटाहरु । अनपेक्षित लाठाधारी जमात देखेर राँगो अलि हच्किएछ । भुइँ खेस्रिन छोडेर ठाडो शिर लगायो र विचारमग्न बन्यो । मौका छोप्न किन चुक्थे प्रहरी जवानहरु ? हाहो गरेर बाटो र भित्ताहुँदि दुई/चार लाठा बजारी हाले । दरो दलबल र चर्को आवाज सुनेर दच्किएको राँगाले फरक्क फर्किएर उल्टो बाटो ततायो । हामी पनि चाहिनेभन्दा बढी नै हौसिएर आक्रामक बन्दै पछि लाग्यौ । एकस्वरले हल्ला बोलेर हाम्रो जमातले हुर्काएपछि राँगाले पनि थर्कमान भएर छेरुवा दाउ देखाउँदै पर पर कुइँचमार ठोक्यो ।

 

राँगाबाट पार पाइसकेपछि हिले पोखरीमा समाधिस्थ गाडी उतार्नतिर लाग्यौं । तर, हाम्रो दलवलले मात्र पार नलाग्ने रहेछ । मद्दतका लागि गाउँका मुखियाजीहरुलाई प्रहरी खटाएर खबर पठायौं । एकैछिनमा थुप्रै गाउँलेहरु जम्मा भए । कसैकसैले गाडासा, फरुवा, कोदाली त कसैले साबेल गैंती ल्याएका रहेछन् । छिनभरमै हिलो फाल्ने र गाडी निकाल्ने काम युद्धस्तरमा चालु भयो । महिनौं थलिएझैं थला बसेको मधौरु गाडी उत्रिएपछि थाहा भयो–निख्खूर नीलो रङ्गको जापानी चिल्लो गाडी दबदबे हिलोमा फसेर हेरीनसक्नु कुरुप बनेछ । धोइपखाली गरेपछि बल्ल काम चलाऊ देखियो । एकछिन निहुँ खोजेर थर्कायो अनि पछि स्टार्ट पनि भयो । 

 

हाम्रो समस्या अर्को पनि चर्कै थियो । फेरफार लुगा लगेका थिएनौं । अगि आहालमा डुबेका चिसा हिला कपडा भिरेर गाउँ डुल्न अप्ठ्यारो लाग्यो । त्यसैले मोटरभित्रैबाट गाउँले भद्रभलाद्‌मी र मुखियाजीहरुलाई बोलाउँदै र भेटघाट गर्दै बेलुकी जलेश्वर फर्किएका थियौं ।

प्रकाशित: भाद्र १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार