अर्थ / वाणिज्य

वर्षायाम सकिनै लाग्यो कुलेखानी जलाशय भरिएन

- प्रताप विष्ट, हेटौंडा
मुलुकका विभिन्न भाग बाढीले डुबानमा पर्दा पनि कुलेखानी जलाधार क्षेत्रमा यथेष्ठ वर्षा नै भएन

भाद्र ८, २०७४-वर्षायाम सकिनै लाग्दा मकवानपुरको कुलेखानी जलाशय भने भरिएको छैन । जिल्लाको तल्लो भेगका बासिन्दा बाढीको चपेटामा पर्दा पनि कुलेखानीको जलाधार क्षेत्रमा वर्षा नहुँदा पानीको सतह बढ्न नसकेको हो । 

मुलुककै विद्युत्को ब्याकअपका रूपमा रहेको जलाशय भदौको पहिलो साता बितिसक्दा पनि भरिएको छैन । साउनको अन्तिम सातामा परेको भारी वर्षाले जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, गढी र बकैया गाउँपालिकाका अधिकांश बस्ती डुबानमा पर्नुका साथै बाढी पहिरोले धनजनको क्षति भएको छ । तर, त्यही समयमा कुलेखानीको जलाधार क्षेत्रमा भने खासै वर्षा भएन । जसले गर्दा कुलेखानी जलाशयमा मंगलबार दिउँसो २ बजेसम्म १ हजार ५ सय १५.७४ सेन्टिमिटर मात्र पानीको सतह रहेको छ । सोमबार २ बजे जलाशयको पानीको सतह १ हजार ५ सय १५.५० सेन्टिमिटर रहेको थियो ।

‘हिजोआज जलाशयमा प्रतिघण्टा एक सेन्टिमिटर पानी संकलन हुने गरेको छ,’ आयोजना प्रमुख बद्रीप्रसाद फुँयालले भने, ‘जलाधार क्षेत्रमा खासै वर्षा नभएकाले कुलेखानीको सतह भरिएको छैन ।’ गत वर्षको यही समयमा १ हजार ५ सय १७.२५ सेन्टिमिटर पानीको सतह थियो । साउनको अन्तिम सातामा मुलुकभर भएको भारी वर्षाको समयमा कुलेखानी जलाशयमा २ दिनमा चार मिटर मात्रै पानीको सतह बढेको थियो । त्यतिबेला जलाशयको सतह १ हजार ५ सय ८.१२ सेन्टिमिटर थियो । १ हजार ५ सय ३० मिटर पानीको सतह अट्ने क्षमता रहेको उक्त जलाशय गत वर्ष पनि भरिएको थिएन । भूकम्पले जलाशयको बाँध चर्केकाले प्राविधिकले शतप्रतिशत नभर्न सुझाव दिएका छन् । 

सात किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको जलाशयमा संकलन गरिएको करिब ४६ मिटरसम्मको पानी मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा व्यवस्थापन गर्न संरक्षित क्षेत्र घोषणा गर्न ढिलाइ गरिएकाले पनि इन्द्रसरोवरमा नकारात्मक प्रभाव परेको प्राविधिकको दाबी छ । जलाधार क्षेत्रलाई व्यवस्थापन गर्न ९ वटा उपजलाधार क्षेत्र विभाजन गरेर व्यवस्थापन गर्ने कार्ययोजना रहेको छ । जलाशयमा संकलित पानीबाट कुलेखानी पहिलो र दोस्रो आयोजना सञ्चालन हुँदै आएका छन् । कुलेखानी तेस्रो पनि यही जलाशयमा निर्भर छ । 

कुलेखानी जलाधार क्षेत्रको संरक्षण नहुँदा पानीका मुहानहरू सुक्दै जाने र अर्कोतिर जलाशयको पिँधमा गेग्रिङ र माटो जम्मा भएर पिँधको सतह बढ्दै गएको छ । जलाशयको पिँधको सतह बढ्दै गएकाले विद्युत् उत्पादनमा पनि र्‍हास आएको छ । प्राविधिकका अनुसार २५.३१ लाख घनमिटर पानी अट्ने क्षमतामा हास आएको छ । 

सन् १९८३ मा समुद्री सतहदेखि १ हजार ४ सय ७३ मिटर उचाइमा हुँदा उक्त जलाशयमा ८५.३० लाख घनमिटर पानी अट्ने क्षमता थियो । हाल पिँधमा माटो थुप्रिएर समुद्री सतहबाट १ हजार ४ सय ८४ मिटर पुगेको छ । आयोजनाको निर्माणका बेला जलाशयमा संकलन भएको ५७ मिटर पानी विद्युत् उत्पादनमा प्रयोग हुन सके पनि हाल ४६ मिटर मात्र प्रयोग गर्न सकिन्छ ।

प्रकाशित: भाद्र ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार