समाचार

भारतका पूर्व कुटनीतिज्ञ तथा विश्लेषक भन्छन्– ‘काठमाडौंले भारतको वास्तविक सुरक्षा चासोलाई त्यति ध्यान दिएको छैन’

- कमलदेव भट्टराई, नयाँदिल्ली

भाद्र ७, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पाँच दिने राजकिय भ्रमण सुरु गरेकै दिन भारतका पूर्व कुटनीतिज्ञ तथा विश्लेषकहरुले भारतको वास्तविक सुरक्षा चासोलाई काठमाडौंले पर्याप्त ध्यान नदिएको बताएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको दुई देशका जनता–जनताबीचको सम्बन्ध विषयक कार्यक्रममा बोल्दै कुटनीतिज्ञ तथा विश्लेषकहरुले नेपाल–भारत सम्बन्धलाई चीनसंगको सम्बन्धसंग तुलना नै गर्न नमिल्ने समेत बताए । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भारतीय पक्षले आफ्नो सुरक्षा चासोलाई अझ मुखरित रुपमा राख्ने तयारी गरिरहेको सन्दर्भमा भारतीय विश्लेषकहरुले समेत यही कुरामा जोड दिएका हुन् । 

नेपालकालागि पूर्व भारतीय राजदुत केभी राजनले भने, ‘भारतको वास्तविक चासोलाई काठमाडौंले त्यति धेरै चासो नदिएको जस्तो देखिन्छ । भारतको सुरक्षाचासोलाई नेपालले सम्बोधन गर्नु पर्दछ ।’ उनले नेपाल र भारतको सम्बन्ध अरु कुनै मुलुकसंग तुलना हुन नसक्ने बताए ।

‘नेपाल र भारतको सम्बन्ध अहिले जुन तहको छ, चीन र नेपालको सम्बन्ध कहिल्यै पनि त्यही तहमा पुग्न सक्दैन यसलाई काठमाडौंले स्वीकार गर्नुपर्दछ,’ उनले भने ‘काठमाडौंमा देखिएको उग्र राष्ट्रवादले नेपाल र भारत दुवैको हित गर्दैन बरु यसले नेपालमा भारत विरोधी भावना बढाएको छ ।’ 

उनले भारतले नेपालको मामिलामा भारतले ‘माइक्रो म्यानेज’ गरिरहेको भन्ने आरोपमा आंशिक सत्यता भएको बताए ।

‘केही विज्ञहरु भन्ने गर्दछन् की नेपालका नेताहरु भारतमा सुझाव लिन आउँछन् र भारतले सुझाव दिन्छ । तर काठमाडौं फर्केपछि उनीहरु त्यसलाई हस्तक्षेप मान्दछन् । भारतले भने जस्तो नेपालमा हुँदैन भन्ने तत्कालकै नेपालको केही राजनीतिक घट्नाक्रले देखाउँछ,’ राजनले भने । उनले नेपाल र भारतको सम्बन्धलाई सुधार गर्नका लागि संस्थागत तथा नीतिगत सुधार गर्न आवश्यक भएको बताए । 

नेपाल मामिलाका जानकार अशोक मेहताले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा चाइना–फ्याक्टर जबरजस्त रुपमा आउन थालेको बताए । उनले नेपालको राजनीतिक दलहरुमा चीनले आफ्नो प्रभाव बढाउँदै लगेको समेत बताए । दोक्लाम तनावको विषयमा बोल्दै मेहताले नेपालका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले यसमा नेपाल तटस्थ बस्छ भनेको प्रसंग उल्लेख गर्दै भने, ‘महराको अभिव्यक्ति पृथ्वीनारायण शाहको विदेश नीतिसंग मिल्दछ । तर भारत र चीनको बीचमा युद्ध भयो भने नेपालले के गर्छ ? किनकी भारतीय सेनामा ५० हजार गोर्खा सैनिकहरु छन् । त्यतिवेला नेपाल तटस्थ बस्छ कि गोर्खा सैनिकको पक्षमा बोल्दछ । त्यसैले नेपाल यतिबेला धेरै ट्रिकी पोजिसनमा छ ।’ 

उनले नेपाली नेताहरुले भारतमा आएपछि विशेष सम्बन्धको कुरा गर्ने तर काठमाडौं फर्केपछि त्यसलाई बिर्सने बताए । मेहताले जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्नकालागि भारतले आफ्नो मुलुकमा रहेका नेपालीलाई सम्मान गर्नुपर्ने बताए । 

नेपाल मामिलालाई निरन्तर फलोअप गर्ने भारतीय नेता विजयप्रताप सिंहले नेपालको बारेमा भारतको उच्च राजनीतिक तहमा कम जानकारी रहेको बताए । 

यस्तै अर्का जानकार उद्धव प्याकुरेलले भारतले दुई वर्ष अगाडि लगाएको नाकाबन्दीको कारण भारत विरोधी भावना नेपालमा बढेको दाबी गरेका थिए । ‘जनता र जनताबीचको सम्बन्ध राम्रो होइन बिग्रदो अवस्थामा छ,’ उनले भने, ‘पहिला भारतमा पहाड र मधेशका नागरिकलाई हेर्ने दृष्ट्रिकोण समान थियो । मधेश आन्दोलनपछि दिल्लीमा मधेशका नागरिक र पहाडका नागरिकलाई फरक रुपमा हेरिन्छ ।’

प्रकाशित: भाद्र ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार