प्रवास

लन्डन फेसन रिभोलुसनमा नेपाली पोशाक

लन्डन

भाद्र ५, २०७४-लन्डन फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालय सप्ताहन्त अलिक भिन्न माहोलमा डुब्यो । त्यहाँ फुटबल होइन, एउटा अन्तर्राष्ट्रियको फेसन शोले दर्शक रोमाञ्चित बने । 

अझ रोचक त उक्त ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाकले स्थान जमायो । न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गर्दा नेपाली पुनम क्षेत्री गौतम केन्द्रमा रहिन् । स्टेज उत्रेर उनले नेपालीमै मन्तव्य राख्दै आफ्नो देश र पोशाकको चिनारी दिइन् । 

उक्त शोमा विदेशी मोडलहरुले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए शोमा । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे ड्रेसमा क्याटवाक गर्दा माहोल पृथक अनि रोमाञ्चक देखिन्थ्यो ।

महिला मोडलहरुले पनि नेवार, थारु, राउटे आदि जातीको ‘फ्यूजन ड्रेस’ प्रस्तुत गर्दा धेरैको ध्यान आकृष्ट गरेको थियो । 

अरु डिजाइनरले महिलाको मात्र पाएपनि पुनमले महिला पुरुष दुवै सिक्वेन्स पाएकी थिइन् ।  

‘लुगा बेच्ने होइन, विभिन्न देशमा गएर नेपाल र नेपाली राष्ट्रियता झल्काउने मेरो मुख्य उद्देश्य हो’, नेपालबाट आएकी एक्ली डिजाइनर पुनमले भनिन्, ‘नेपालीले नेपाली समुदायभित्र होइन, विदेशीमाझ विदेशी मोडलबाटै देखाउँंदा हाम्रो कल्चरल ड्रेसको महत्व अझ बढ्छ भन्ने मान्यता मेरो छ ।’

६ महिनाअघि न्यूयोर्कमा आयोजित वल्ड फेशन परेडमा समेत नेपाली राष्ट्रिय पोशाक प्रस्तुत गरेकी पुनम नेपाली फेशनलाई विश्वभर लैजाने अठोटमा छिन् । ‘अब छिट्टै अमेरिका गएर नेपाल शान्तिको देश भनेर चिनाउने खालका पोशाक प्रदर्शन गर्ने सोच छ’, उनले भनिन्, ‘फेशन अस्तित्व हो, यसले मानिस र देशको चिनारी पनि दिन्छ ।’

पुनम इन्टरटेन्मेन्टकी निर्देशक उनी फेब्रुअरीमा दुबई जाने योजनामा छिन् । ‘म जहाँ जान्छु नेपाली पहिचान बोकेर जान्छु’, फिल्म निर्माता समेत रहेकी उनले सुनाइन् ।

नेपालमा करिब चार दर्जन कलाकार उतारेर सेलिब्रेटी रनवे गरिसकेकी पुनम फेशनले नग्नता पस्कन नहुनेमा सजग छिन् । 

फेशन शोमा पुनमसहित समिना मुगल, फुचिया, चार्ली ब्राजियर, केजिजे लन्च, स्टेला मारिस ह्याफेल जस्ता डिजाइनरका डिजाइन प्रस्तुत गरिएको थियो । 

प्रकाशित: भाद्र ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार