ब्लग

बाढीबीच यसरी कट्यो दिन र रात

- जितेन्द्र साह, विराटनगर

भाद्र ४, २०७४-शनिबार (२८ साउन) बिहान सात बजे पलंगबाट भुईमा खुट्टा राख्दा झन्डैझन्डै घुँडासम्म पानी थियो । राति अबेरसम्म उठेको थिएँ । त्यसैले निन्द्राबाट ब्युझने बित्तिकै पानीमा खुट्टा चोपलिँदा सपनामा हो की विपनामा छुट्टयाउन कठिन भयो । कसैले बाथरुमको धारा खुल्लै छाडेकोले कोठामा पानी छिरेको हो की भनेर श्रीमतीलाई सोधेँ ।

उनी पनि वरिपरि हेरेर चकित हुँदै ‘धारा बन्द गरेरै सुतेको हो’ भन्दै जवाफ फर्काइन् । बत्ती बालेर हेर्दा त हाम्रो तीन कोठे फल्याट पोखरीमा परिणत भइरहेको थियो । वरिपरि किरा फटयांग्रा पौडिरहेका थिए । 

छेउकै कोठामा सुतिरहेको छोरालाई हतारहतार उठाएँ । कोठामा पानी देखेर छोरा पनि स्तब्ध थियो । तीनै जना ट्वाल्ल परेर एक अर्कालाई हेरिरहेका थियौं ।

   

हामी विराटनगरको मधुमारा हरिहरचोक बालमार्गस्थित दुई तल्ले घरको भुइतल्लामा बस्छौं । तल्लो तल्लाको तीन कोठामा हामी र अघिल्तिरको तीन कोठामा मोरंगकै विभिन्न थलोबाट आएका विद्यार्थी एवं जागिरे भाइबहिनी बस्छन् ।

   

भित्रैबाट अर्कोतिर बसिरहका छिमेकीलाई पानी कहाँबाट आएको हो भनेर सोध्दा अचानक भेल छिरेको हो भनेर उनीहरुले जवाफ दिए । त्यसपछि त्यो ढोका खोल्न लगाउँदा बाढीको पानी मुख्य द्वारबाट सोझैं सडकभन्दा मुनि रहेको हाम्रो वास स्थानमा बगिरहेको देख्यौं ।

 

राती अबेरसम्म पढ्दापढ्दै भुइमा निंदाएका एक भाइले शरीरमा पानी छताछुल्ल भएपछि उठेको सुनाए । उनीहरुको पनि पठन सामग्री एवं लुगाफाटा पानीमा भिजिसकेको थियो । उनीहरुमध्ये कोही सामान समेटिरहेका थिए भने कोही बाल्टिनले पानी बाहिर फालिरहेका थिए । 

हामीले पनि भुइँमा छरपस्ट झोला, विद्युतीय र अन्य केही हल्का सामग्री उठाएर अग्लो ठाउँमा राख्यौं । वास्तवमा क्षति भइसकेको थियो । तत्काल पानीको बहावलाई रोक्न पनि सकिंदैन्थ्यो । यो हाम्रो तर्फबाट बचाउको एउटा औपचारिकता मात्र थियो । 

हुन त शुक्रबार रातभरी अविरल वर्षा भएको थियो तर विराटनगर महानगरपालिकाको सबैभन्दा सुरक्षित आवासीय क्षेत्र मानिने यो वस्तीमा घरभित्रै वर्षाको पानी प्रवेश गर्ला भन्ने कहिल्यै सोच्न सकेको थिइन् । 

यो कुनै खोला, नहर, पोखरी वा घाट छेउकै वस्ती पनि होइन की वर्षा हुँदा बाढीको डर होस् । तर करिब आधी किमी परको सिंघिया खोलाको पानी निकास नपाएर घुमिफिरी यहाँसम्म आइपुगेको थियो ।

   

वास वस्न आउनुअघि निश्चित हुनलाई सोध्दा घरबेटिले भनेका थिए, ‘जस्तो सुकै मुसलधारे वर्षा भए पनि यहाँ आजसम्म पानी प्रवेश गरेको छैन ।’ त्यही भएर पनि ढुक्क भएर सुतिरहेका थियौं । अविरल वर्षाभन्दा पनि अपूरो नाला, अव्यवस्थित ढल र सडकले गर्दा हामी बलजफ्ती बाढीपीडित हुन पुग्यौं । 

२०४५ सालपछि यसै पटक यो वस्तीमा पानी पसेको स्थानीयले भनिरहेका थिए । म उनीहरुको कुरा सुन्दै वरिपरिका वस्ती एवं घर पनि जलमग्न रहेकाले तत्कालै कसरी पानीको निकास हुने चिन्तामा थिएँ । विभिन्न खाले रमिते प्रयास र सान्त्वना दिने कार्यहरु पनि भइरहेका थिए । पहल गर्छौं भन्दै थुप्रै व्यक्तिहरु आए तर फर्केर वा दोहोर्‍याएर कोही आएनन् । 

परेको बेला जे गर्न पनि तयार छौं भन्ने राजनीतिकर्मी/समाजसेवी मित्रहरु पनि विभिन्न बहाना गर्दै पन्छिएका थिए । 

पानी पर्न नरोकिएसम्म केही नहुने पक्का भएपछि हिम्मत बटुलेर आफ्नै कोठाको केही तस्बिरहरु खिचेँ । भारी वर्षासँगै बिहान साढे सात नबज्दै विद्युत आपूर्ति बन्द भइसकेको थियो भने सञ्चार सञ्जालले काम गर्न छाडेको थियो । सम्पूर्ण मित्र, परिवारजन एवं शुभेच्छुकलाई जानकारी गराउन सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्ने प्रयास पनि सफल भइरहेको थिएन ।

 

केही सहकर्मीहरुलाई आफ्नो स्थिति अवगत गराउँदै सहयोगकालागि महानगरपालिकासँग समन्वय गराइ दिन आग्रहकासाथ मोबाइल सन्देस पठाएँ । जलमग्न सडक एवं त्यसमा झमझम परिरहेको वर्षाबीच कोठाबाट बाहिर निस्कने स्थिति समेत नरहेको मित्रहरुले भनिरहेका थिए । ‘सबैतिर यस्तै छ, त्यही भएर तत्काललाई जोगिने उपाय खोजौं, अरु कुरा पछि सोचौंला,’ सहकर्मी माधव घिमिरले भने । 

मोरंगका प्रहरी प्रमुख, आफ्नो वडाका एक जनप्रतिनिधि र उनले नम्बर उपलब्ध गराएका महानगरका बरिष्ठ अधिकारीहरुलाई मोबाइल नेटवर्क लागेको मौकामा मिलेसम्म पानी निकास गराउन अनुरोध गरेँ । 

कोही आफ्नै घरमा पानी पसेर बाल्टिनले फालिरहेको र महानगरपालिकासँग सिमित साधनस्रोत भएकाले उद्धारकालागि घरघरै पुग्न नसकिने भनिरहेका थिए । महानगरपालिकाका मेयरसम्म पहुँच पुग्ने वातावरण थिएन ।  

साँच्चिकैभन्दा पुरा विराटनगर टापुमा परिणत भएको थियो । हजारौं बेघर भइरहेका थिए । खोला किनारका वस्तीहरुदेखि सबैतिर विनाश, हताहती र क्षतिको मात्र दृश्य थियो । यस्तो भिषण वर्षामा सञ्चारकर्मी मित्रहरु जसोतसो आफ्नो सञ्चारमाध्यम मार्फत यथार्थ बाहिर ल्याउन व्यस्त थिए भने सारा प्रहरी, प्रशासन एवं महानगरको संयन्त्र उद्धार तथा राहतमा जुटिरहेकै थिए ।

राजधानीको महाभूकम्पमा समेत खुट्टा नकमाइ समाचार संप्रेषणकालागि दिनरात खटेको म भने जलमग्न कोठा, श्रीमती र छोराको मलिन अनुहार हेरेर बसेको थिएँ । एक सक्रिय सञ्चारकर्मी म आफैं भने लाचार थिएँ । 

वास्तवमा सबैलाई आफ्नै पीडा ठूलो लाग्दो रहेछ ।  विचल्लीमा परेका छोरा, श्रीमती र वर्षौंदेखि जोडेको सरसामानको बिजोग भएको देखेर म पनि यतिबेला आफ्नै बारेमा सोचिरहेको थिएँ ।

आखिर के गर्न सक्थेँ त ? कोठामा पानी बढिरहेको थियो । अघिल्लो दिन मात्रै चिकित्सकलाई जचाएर पाखुरा दुखाइको औषधि खाइरहेका छोराले झन्डै चार घण्टासम्म बाल्टिनको मद्दतले कोठा बाहिर पानी फालेका थिए । श्रीमती र बहालमा बस्ने भाइबहिनी पनि यस्तैयस्तै खाले प्रयास गरिरहेका थिए । 

साराथोक अलपत्र छाडेर कही जान पनि सक्दैन्थ्यौं । श्रीमतीले हिम्मत बटुलेर पानीले भरिएको किचनमै उभेर खाना पकाइन । पानी घट्ने आशमा उभिएरै खायौं । यो बीचमा धेरै पटक घर अघिल्तिरको बाटो बीचबाट वा यो वस्ती प्रवेशको पश्चिमपट्टिको मोडको सडक वारपार हल्का काटेर पानी बगाउन पनि छलफल भयो । यसो गर्दा वरिपरिका अन्य घर एवं वस्तीलाई क्षति पुग्ने संभावना थिएन । यसकोलागि प्रशासनको समेत अनुमति चाहिन्थ्यो जसको उपस्थित वरिपरि महसुस गरेका थिएनौं ।

 

समाधानको खोजीमा पानीमा रुझ्दै दिउँसोको दुई बज्यो । केही पर अलिक अग्लो थलोमा फल्याट लिएर बसेका भाइलाई डाँके । उनी पनि चकित थिए । अनि स्वास्थ्य एवं सुरक्षाकालागि सबैभन्दा पहिले छोरालाई उनीसँग पठाएँ । अन्तत: मैंले सबैलाई सार्वजनिक जानकारी हुने गरी फेसबुकमा केही तस्बिर राख्ने र शब्द कोर्ने मनसाय बनाएँ ।

श्रीमतीलाई नआँतिई पलंगमाथि बस्न लगाइ घरदेखि झन्डै १ किमी पूर्व दक्षिणमा कार्यालय रहेको एक राष्ट्रिय टिभी च्यानलमा कार्यरत मित्रकोमा पुगेँ । उनको कार्यालय अगाडी कम्मरसम्म पानी थियो । बडो मुश्किलले त्यहाँ पुगेँ । धन्य, उनकोमा इन्भर्टर र इन्टरनेटले काम गरिरहेको थियो ।  

फेसबुकमा बिहानको तस्बिरहरु राख्न नपाउँदै कोठामा पानीको सतह बढिरहेको भन्दै श्रीमतीले तत्कालै फर्कन भनिन् । आँखाले हेर्न सकिने थलोसम्म पानी भएकाले अब ति मित्रको कार्यालयबाट कोठासम्म फर्कने चुनौती थियो । लौरो खोजेर त्यहाँबाट हिंडे । आफ्नो वासस्थानसम्म आइपुग्दा साँझको छ बजिसकेको थियो । 

एक सुरक्षा टोली हेरेर गएको र पानी नरोकिएसम्म संयमता राख्न भनेको श्रीमतीले जानकारी गराइन् ।

 

यी सब गफगाफ चलिरहँदा छोरा लिएर अघिको भाइ पनि जलमग्न कोठामा आइसकेका थिए । सल्लाहअनुरुप सबथोक इन्द्रदेवको भरमा छाडेर तीनै जना भाइको डेरामा शरण लिन पुग्यौं । भोक, तिर्खा र निंद्रा हराएको थियो । बिहान हुने पखाईमा आँखा आकाशमै टिकेको थियो । उता मोरंगको रंगेली बजारस्थित पुर्खौली घर अघिल्तिरको मुख्य द्वारबाट रातभरी आँगन तथा करेसाबारी हुँदै स्थानीय धाँधरी खोलाको पानी बगेको परिवारजनबाट जानकारी पाएँ ।

 

यता विराटनगरमा भने आइतबारको दिन र रात पनि आकाशतिर हेर्दै कटिरहेको थियो । सोमबार बिहानसम्म पानी बगिसकेपनि कोठाहरु हिलामय, फोहोर एवं दुर्गन्धित थियो । ढोका पछाडी झुण्डयाएको लुगा र दराजमाथि राखिएको केही सामान बाहेक सबथोकमा माटो थियो । बिहान ८ बजदेखि झन्डै ६ घण्टा हिलो फाल्न र किराफटयांग्रा धपाउनमै बित्यो ।

 

केही दिनसम्म आइरहने दुर्गन्धको सामना गर्ने आँटकासाथ तीनैजना सोमबार साँझ आफ्नै कोठामा बास बस्न थाल्यौं । सुक्नलाई राखेको लुगाफाटा र कागजपत्रले फल्याट बाहिरको डोरी, भुई तथा वरिपरिका पर्खाल ढाकिए । अझैं पूर्णरुपले आकाश सफा नभएकाले फेरी लगातार पानी परेमा हुने क्षतिको त्रास कायमै छ ।

कोठामा खाद्य सामग्रीको अभाव भएको छ । पूर्व निर्धारित योजनाअनुरुप शनिबार बिहारको जोगबनी बजार पुगि आवश्यक सरसामग्री किन्ने योजना पुरा नहुँदै यो महाविपती आइपुगेको हुनाले यस्तो भएको हो । बाढीले सर्वत्र जलमग्न भएर जनजीवन, आवागमन एवं बजारव्यवसाय ठप्प भएको थियो । 

परिणाम स्वरुप बजारमा अति आवश्यक दैनिक उपभोग्य सामग्री एवं पिउने पानीको अभाव र मुल्यवृद्धि भयो । अत्यधिक शारीरिक एवं मानसिक थकानले बाढीको चौथो दिन मंगलबार छोरा र श्रीमती ज्वरोले ग्रस्त भए । नीकै बेर पानीमा बसेको हुनाले श्रीमतीको खुट्टा भरी घाउ हुन गयो । 

बाढीको पानी सुकेपनि वातावरण पूर्णतया सामान्य भइसकेको छैन । अधिकांस महानगरवासी बाढीपछि जीवनलाई पटरीमा ल्याउन हरसम्भव कोसिस गरिरहेका छन् । आपसी भेटघाटमा सबैले एक अर्कालाई बाढीकै अनुभव र क्षति बारे सोधिरहेका हुन्छन् ।

प्रकाशित: भाद्र ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार