जीवनशैली

‘मेरो दाह्री दुनियाँलाई किन भारी ?’

- किरण पाण्डे
कुरा गरेजस्तो सजिलो छैन दाह्री पाल्न । दाह्री ग्याङका साथीहरूको अनुभवले भन्छ, धूलो त दाह्रीका लागि दुश्मन नै हो ।

भाद्र ३, २०७४-पछिल्ला वर्षहरूमा दाह्रीका सोखिन तन्नेरीहरूको संख्या सहरमा बाक्लै देखिन थालेको छ । तर यिनीहरूले ऋषिमुनिजस्तै देखिन दाह्री पालेका होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेका वा काम न काजकाहरू दारी पाल्छन् । हो, यही आम सोचाइलाई चिर्नकै लागि दाह्री पाल्ने तन्नेरीहरूले समूह नै गठन गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा दाह्री ग्याङ नामक फेसबुक पेज नै चलाएका छन् । आफ्नै म्यासेन्जर ग्रुपसमेत छ उनीहरूको । जहाँ उनीहरू आ–आफ्ना अनुभूति मात्रै साट्दैनन्, दाह्रीका अनेकन रहस्य र किस्सा पनि बाँड्छन् । उनीहरूको साझा उद्देश्य दाह्रीमा मात्रै अल्झेको छैन । यो ग्याङका साथीहरू परोपकारी र सामाजिक काममा पनि उत्तिकै संग्लन छन् । उनीहरू चाहन्छन, दाह्री पाल्नेहरू पनि जिम्मेवार मान्छेहरू हुन् भनेर सबैले जानुन् ।

केही वर्षपहिले सुरु भएको दाह्री ग्याङमा अहिले देशभरका एक लाखभन्दा बढी सदस्य छन् । काठमाडौंबाट सुरु भएको यो ग्याङ अहिले पोखरा, चितवन, बुटवल, धनगढी, हेटौंडा, विराटनगर, झापा, इलाम र इटहरीसम्म फैलिएको छ । जिल्लाहरूमा एरिया संयोजकहरू छन् र तिनीहरूले समन्वय गरेर ग्याङका सदस्यहरूबीच हरेक महिना भेटघाट गर्दछन् । जहाँ उनीहरू कसरी अघि बढ्ने ? के कस्ता सामाजिक काम गर्न सकिन्छ भन्नेजस्ता विषयमा छलफल गर्छन् ।  कामको बाँडफाँड गर्छन् ।

दाह्री ग्याङका साथीहरू कहिले आर्थिक रूपमा कमजोर स्कुलमा शैक्षिक सामग्री र ह्वाइट बोर्ड दिन्छन् । कहिले अर्थको अभावमा उपचार गराउन नसकेका बिरामीहरूका लागि सहयोग जुटाउछन् । यसका लागि उनीहरूले कहिले सांगीतिक कार्यक्रम गर्छन् त कहिले सामाजिक सञ्जालमार्फत आह्वान ।

दाह्री ग्याङमा सामेल हुन कुनै योग्यता चाहिँदैन । चाहिन्छ त खालि मन र दाह्री पाल्ने सोख । यति चीज छ भने यो ग्रुपमा गएर सोधिएको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । ग्याङका सदस्य जगदीश भण्डारी उत्तर दिएपछि यो ग्रुपमा सामेल हुन सकिने बताउँछन् । दाह्री ग्याङका अर्का सदस्य अभिषेक राजसिंह थापा दाह्री पाल्नेहरूलाई समाजले हेर्ने नकारात्मक सोचाइ परिवर्तन गर्न आफूहरू लागिपरेका बताउँछन् ।

दाह्री ग्याङमा सबै क्षेत्रका व्यक्तिहरू जोडिएका छन् । उनीहरू एकआपसमा भेट्दा जय दाह्री भनेर सम्बोधन गर्छन् ।  विभिन्न रमाइलो, रोचक र घोचक भनाइ समेटिइएका टिसर्ट पनि ग्याङका साथीहरूले छापेका छन् । ‘मेरो दाह्री दुनियाँलाई किन भारी ?’ ‘गालामा दाह्री काँधमा जिम्मेवारी’ जस्ता नारा लेखेका टिसर्ट लगाएको कोही भेट्नुभयो भने ठान्नुभए हुन्छ, ती टिर्सटको सुरुआती डिजाइन यही ग्याङले गरेको हो ।

कुरा गरेजस्तो र अरुले भनेजस्तो सजिलो पनि छैन दाह्री पाल्न । विकास निर्माणको नाममा काठमाडौंलगायत देशका मुख्य सहर धूलोले छोपिएका छन् । दाह्री ग्याङका साथीहरूको अनुभवले भन्छ, धूलो त दाह्रीका लागि दुश्मन नै हो । धूवाँधूलोले लट्टा पर्ने, झर्ने भएकाले पनि यसलाई उनीहरूले दुश्मन ठानेका हुन् । उनीहरूको सामूहिक अनुभव छ, दाह्री काट्नभन्दा पाल्न झन् महँगो छ ।

हिजोआज दाह्रीलाई सुन्दर बनाउन बजारमा दाह्रीमा लगाउने विभिन्न तेल पाइन्छ । तर यसको भाउ छोइसक्नु छैन । ३० एमएल तेलकै १७–१८ सयसम्म पर्छ भन्छन् विक्रम आदित्य लामिछाने । ग्याङका साथीहरूको सामूहिक बुझाइ छ, दाह्री पाल्नेलाई समाजले हेर्ने दृष्टिकोण त बदल्नैपर्छ किनकि दाह्री पाल्ने व्यक्ति धैर्यवान, क्षमतावान, बौद्धिक र नम्र हुन्छन् ।

दाह्रीलाई समाजमा स्थापित गराउन लागेका तन्नेरीहरूको आफ्नै पीरमर्का छ । प्राय: दाह्री पाल्ने युवाहरूलाई ‘विवाह गर्दा त दाह्री काटेर जाने होला नि ?’ भनेर खिसी गर्दै प्रश्न सोध्छन् चिने–जानेकाहरू । अनि उनीहरू पनि रमाइलो पाराले जवाफ दिन्छन्, ‘बरु विवाह गरिंदैन तर दाह्री काटिन्न ।’

दाह्रीका अनेकन प्रकार छन् । जस्तै, नेचुरल फुल बिअर्ड, फुल बिअर्ड, एड्मिन स्टाइल, भर्डी, स्विटलेडी र फ्रेन्च फर्क । संसारभरि नै अंग्रेजी महिनाको नोभेम्बरमा ‘नो सेभ नोभेम्बर’ भन्ने अभियान चल्छ । विशेषगरी त्यो महिनाभरि दाह्री काट्दा लाग्ने पैसा सदस्यबाट उठाएर क्यान्सरपीडितलाई सहयोग गर्ने गरिन्छ । यो महिना दाह्री पाल्नेहरूका लागि अर्को विशेष चीज भनेको दाह्री प्रतियोगिता हो । संसारभर नै यस्तो दाह्री प्रतिस्पर्धा गर्ने गरिन्छ ।

दाह्री ग्याङ कुनै बैठक बसेर, लामो छलफल गरेर र विधिविधान बनाएर जन्मेको होइन । यो कसरी जन्म्यो भन्ने रोचक कथा छ । दाह्री ग्याङका अभिषेकराजसिंह थापाले सुनाए, ‘पढाइको सिलसिलामा एक दिन सत्यमोहन जोशीलाई भेट्न गएका थियौं ।’ उनले त्यो समय सम्भिँmदै भने, ‘सबै दाह्री पालेका हामीलाई देख्नेबित्तिकै उहाँले भन्नुभयो, ओहो तपाईंहरू त दाह्री ग्याङ नै भएर आउनुभएछ ।’ जोशीको यही भनाइ सुन्नेबित्तिकै आफूहरूले दाह्री ग्याङको परिकल्पना गरेको थापाले सुनाए ।

प्रकाशित: भाद्र ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार