विश्व

‘गोलीले समाधान निस्कँदैन’

- बीबीसी, नयाँदिल्ली

श्रावण ३२, २०७४-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गाली र गोली’ ले सीमा समस्या समाधान नहुने बताएका छन् । उनले एकआपसमा मिलेर मात्र कुनै पनि समस्या समाधान हुने बताए । नयाँदिल्लीको लालकिल्लामा ७१ औं स्वतन्त्रता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले पृथकतावादीले कश्मीरमा षड्यन्त्र गरिरहेको बताए । 

सम्बोधनमा मोदीले सुरक्षा भारतको प्रमुख प्राथमिकताको विषय भएको बताए । उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित भएको दाबी गरे । भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउने जुनसुकै विदेशी वा स्वदेशी शक्तिलाई नछोड्ने बताए । 

मोदीले चीन र भातबीचको सीमाविवादतर्फ इंगित गर्दै देशविरोधी शक्तिसँग लड्न भारतीय सेना सक्षम रहेको बताए । उनले भने, ‘समुद्र, सीमा वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौं । जस्तोसुकै विरोधीसँग लड्न हामी तयार छौं ।’ 

भारत र पाकिस्तानबीच दशकौंदेखिको झगडाको केन्द्रबिन्दु रहँदै आएको छ । पाकिस्तानसँग सन् १९४७ देखि नै भारतको सीमा विवाद जारी छ । सीमा विवादका कारण दुई देशबीच पटक–पटक युद्ध भइसकेका छन् । पाकिस्तानले आतंककारी आफ्नो देशमा पठाइरहेको आरोप पाकिस्तानले अस्वीकार गर्ने गरेको छ । 

मोदीले कश्मीर समस्या मिलेर समाधान गर्नुको विकल्प नभएको धारणा राखे । मुसलमान बाहुल्यता रहेको कश्मीरमा विद्रोही र सुरक्षा फौजबीच बारम्बार झडप हुने गरेको छ । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित स्वतन्त्रता दिवस मनाएको हो । 

सम्बोधनमा मोदीले कश्मीरीहरूसँग मिलेर उक्त स्थानलाई पहिलेजस्तै स्वर्गजस्तो बनाउने वाचा गरे । उनले आफ्नो भाषणमा उत्तर प्रदेशमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषय पनि समेटे । यो एक दुर्भाग्यपूर्ण घटना भएको बताउँदै मोदीले देशबासीलाई मृतकका परिवारको पीडामा एकताबद्ध हुन पनि अपिल गरे ।

प्रधानमन्त्री मोदीले तत्काल सम्बन्धविच्छेदको मुस्लिम परम्पराविरुद्ध संघर्षरत महिलालाई समर्थन जनाए । भारतमा हालै महिलाहरूले मुस्लिम पुरुषको सम्बन्धविच्छेद गर्ने परम्पराको अन्त्यका लागि संघर्ष गरिरहेका छन् । 

भारतमा मुस्लिम पुरुषले श्रीमतीलाई तीन पटक ‘तलाक’ गर्ने बताएपछि सम्बन्धविच्छेद हुने परम्परा छ । यस विषयमा भारतीय सर्वोच्च अदालतले केही दिनमा फैसला सुनाउने बताइएको छ । मोदीले धर्मको नाममा हिंसा बढाउने कार्यको पनि आलोचना गरे ।

प्रकाशित: श्रावण ३२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार