मनोरञ्जन

‘कान्छी’ बन्दै श्वेता

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण ३१, २०७४-झन्डै ३३ वर्षअघिको फिल्मको नाम सापटी लिँदै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ निर्माणको घोषणा गरेका छन् । भदौ २ देखि छायांकनमा जाने बताइएको उक्त फिल्ममा आकाशले दयाहाङ राई र श्वेता खडकालाई मुख्य जोडीका रूपमा उतार्ने भएका छन् । श्वेताले पछिल्लो पटक आकाशकै निर्देशनमा फिल्म ‘कोहिनूर’ खेलेकी थिइन् । ‘कान्छी’ को शीर्षभूमिकामा रहेकी श्वेताले नै फिल्ममा लगानीसमेत गरेकी हुन् ।

‘अचेल सबै विदेश गएर मात्रै कमाउन सकिन्छ भन्ने सोच गाउँगाउँसम्म पुगेको छ । गाउँमा अहिले लास उठाउने युवाहरू पनि पाउन छोडिसक्यो । यस्तो अवस्थामा हामीले फिल्ममार्फत देशभित्रै पनि कमाउने प्रशस्त सम्भावनाहरू छन् है भन्ने सन्देश दिन खोजेका छौं,’ याम थापाको पटकथा रहेको फिल्मबारे आकाशले थपे, ‘तर फिल्मको मूल कथा भने प्रेम नै हो ।’ फिल्म तल्लो र उपल्लो मुस्ताङ क्षेत्रमा खिचिने फिल्मले एक हिमाली गाउँ र त्यहाँका गाउँलेबीचको कथा बुन्ने बताइएको छ । 

सोमबार गरिएको फिल्मको घोषणा कार्यक्रममा उपस्थित दयाहाङले गाउँका युवाहरूको कथामा फिल्म आधारित रहेको जानकारी दिँदै भने, ‘विभिन्न पेसामा आवद्ध साथीहरूले गाउँमा एउटा विकास निर्माणको काम गरिरहेको हुन्छ । त्यो काम गर्दै जाँदा विभिन्न बाधा आइपर्छन् । प्रेमसम्बन्ध नै मुख्य बाधक बनेर आइदिन्छ ।’ उनले पनि फिल्म खासगरी प्रेमकथामा केन्द्रित रहे पनि गाउँका विविध आयामलाई पनि समेटिएको बताए । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहने बताइएको छ । यसै वर्षको माघ २६ मा रिलिज गर्ने लक्ष्य राखिएको ‘कान्छी’ मा दयाहाङ र श्वेताका साथमा अनु शाह, प्रज्ज्वल सुजल गिरी, नीर शाह, भूमिका श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

प्रकाशित: श्रावण ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार