मनोरञ्जन

सम्झनामा खेमराज गुरुङ : ‘पूर्व चिनाउने गायक’

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण ३१, २०७४-गायिका मेलिना राई एउटा सन्दर्भ सम्झेर बेलाबखत थकथक मान्छिन् । उनलाई खेमराज गुरुङको ‘चिसो चिसो बतास...’ बोलको गीत गाउन भनिएको रहेछ । त्यसको डमी नै हात परे पनि केके कारणले गाउन पाइन् । ‘मैले त्यो मौका गुमाएँ,’ उनले भनिन्, ‘गाएको भए खेमराज दाइ र मेरो पहिलो सहकार्य हुने थियो ।’

गत साल दिवंगत भएका गायक खेमराज गुरुङसँगको सम्झना गर्ने क्रममा गायिका राईले उनीसँग काम गर्न चुकाएको भन्दै खिन्नता प्रकट गरिन् । उक्त गीतमा गुरुङको शब्दसंगीत भएको र उनले ‘गाउनुपर्छ है बैनी’ भनेको मेलिनाले बताइन् । ‘उहाँ मभन्दा धेरै सिनियर मान्छे,’ उनले भनिन्, ‘तैपनि मसँग काम गर्न इच्छुक हुनुभएको देख्दा ज्यादै खुसी लागेको थियो ।’ खेमसँग काम नगरे पनि मेलिनालाई सोमबार ‘खेमराज गुरुङ नवप्रतिभा पुरस्कार’ प्रदान गरियो । खेमराज गुरुङ ट्रस्टकी संरक्षक तुलसीमाया गुरुङ र उपाध्यक्ष चञ्चला गुरुङले २० हजार रुपैयाँ हस्तान्तरण गरे । गायक गुरुङको प्रथम वार्षिकी अवसरमा मेलिनासँगै वरिष्ठ गीतकार रत्नशमशेर थापालाई पनि सम्मान गरिएको थियो । उनलाई ‘खेमराज गुरुङ संगीत सम्मान’ स्वरूप ५० हजार रुपैयाँ दिइयो । ‘खेम मिलनसार र हँसमुख मान्छे थिए,’, थापाले भने, ‘तर, मैले पनि उनीसँग सहकार्य गर्न पाइनँ ।’

कार्यक्रममा गीतकार थापा, खेमकी आमा तुलसीमाया गुरुङलगायतले ‘सम्झनामा खेमराज’ नामक स्मृति ग्रन्थ पनि लोकार्पण गरे । पुस्तकमा खेमराजसम्बन्धी लेखरचना, उनका गीत/कविता एवं तस्बिर संग्रहित छन् । ‘उहाँले धेरै थोक गर्न चाहनुभएको थियो,’ ट्रस्टका सदस्य सुमनकुमार श्रेष्ठले भने, ‘ती अधुरा सपनाहरूलाई हामी पूरा गर्न खोज्दै छौं ।’ अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्ने खेमको सपना रहेको भन्दै ट्रस्टमार्फत त्यसको थालनी गरेको श्रेष्ठले बताए ।

खेमराजका मिल्ने साथीसमेत रहेका गायक राजेशपायल राई भने मित्रलाई सम्झिएर निकै भक्कानिए । साथी गुमाएदेखि आफूले संयोगहरूलाई पनि आयोजित मान्न थालेको बताए । ‘म तीन दिन संखुवासभामा अड्किएँ,’ उनले रुँदै भने, ‘अहिले भर्खर काठमाडौं आइपुगेको हुँ । मलाई त्यहाँ खेमले अडाएको हो जस्तो लाग्छ ।’ गायक गुरुङको जन्मगाउँ, खाँदबारीमा खेमराज गुरुङ स्मृति रंगशाला बनाउन थालिएको उनले अवगत गराए । 

समारोहमा गायक भविन ढुंगानाले ‘वारि जमुना, पारि जमुना....’ गाउँदा धेरैका आँखा रसाए । अशोक मुकारुङले ‘झम्के फुली लाएर...’ र भीषण मुकारुङले ‘चरीले गाउने...’ बोलका गीतमार्फत गुरुङलाई सम्झिए । ती सबै स्व. गुरुङकै सांगीतिक कृति हुन् । उनले गाएको ‘भन्छन् बूढापाकाले...’, ‘आलुतामाले...’, ‘काले दाइ, गोरे भाइ...’ जस्ता गीत लोकप्रिय छन् । जंडिस बिग्रिएर गत साल उनको निधन भएको थियो ।

 

‘चिन्न समय लाग्यो’

साधना कला केन्द्रको कक्षा कोठामा एक हुल विद्यार्थी मेरोसामु थिए । मैले तिनलाई संगीतको प्रयोगात्मक ज्ञान दिने मुड बनाएको थिएँ । माइक्रोफोनबारे बताउन थालेँ । स्टुडियोमा माइक हयान्डल गर्न जानिएन भने राम्रो गाउँदासमेत नराम्रो सुनिन सक्छ भनेँ । एउटा विद्यार्थीलाई घत परेछ । ऊ बोल्यो, ‘हो सर, मेरो यस्तै भएको छ ।’

त्यो विद्यार्थी खेमराज गुरुङ हो भन्ने थाहा पाउन मलाई निकै समय लाग्यो । मसँग ८/९ महिना कक्षा लिइसकेपछि उसले ‘वारि जमुना पारि जमुना...’ गाएछ । यो गीत गाउने मान्छे र मैले माइक्रोफोनबारे पढाउँदा हात उठाउने मान्छे एउटै हो भन्ने हेक्कै भएन । पछि उसैले भनेपछि झल्यास्स भएँ । 

खेमराज विद्यार्थी र कलाकारका रूपमा निकै अनुशासित थिए । त्यो बेला स्लिम, हयान्डसम र सोझा थिए । पूर्वी लोक भाकालाई परिमार्जित गरेर गाउने उनको कला तारिफयोग्य थियो । उनले सँधै पूर्व चिनाउने गीत गाए । उनका गीतमा पाइने मौलिक पहिचानले सारा नेपालीलाई खुसी बनायो । लोक भाकाको प्रवद्र्धनमा खेमले उदाहरणीय काम गरेका छन् । उनी गाउँगाउँ डुलेर भाका खोज्थे । अचेल त कोठामै बसेर लोक गीत रच्ने चलन आएको छ ।

– प्रकाश गुरुङ, संगीतकार/गायक

प्रकाशित: श्रावण ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार