फोटोफिचर

जब काठमाडौं विश्वविद्यालयमा बाढी पस्यो... [फोटोफिचर ]

- मनिष गौतम, काठमाडौं
सबैभन्दा ठूलो क्षति ललितकला विभागले झेल्न परेको छ जहाँ दशक बढी समय खर्चेर जम्मा गरेका दुर्लभ र मूल्यवान पुस्तकहरु पानीले नस्ट पारेको छ ।

श्रावण २९, २०७४-काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ आट्र्स र स्कुल अफ एजुकेसनमा शनिवार दिनभरको बर्षासँगै आएको बाढीले झण्डै ३ करोड रुपियाँ लागतको क्षति पुर्‍याएको छ । हात्तिवन, ललितपुरस्थित विश्वविद्यालयको हाताभित्र पानीको भेल छिरेपछि उक्त क्षति हुन पुगेको हो । 

भुईंतलाका सबै कक्षाकोठाहरु, हलमा पानी छिरेपछि विश्वविद्यालयले एक साताका लागि विदा दिने निर्णय गरेको छ । केयुका कार्यबाहक डिन सागरराज शर्माका अनुसार सबैभन्दा ठूलो क्षति ललितकला विभागले झेल्न परेको छ जहाँ दशक बढी समय खर्चेर जम्मा गरेका दुर्लभ र मूल्यवान पुस्तकहरु पानीले नस्ट पारेको छ ।  डा शर्माका अनुसार ४५ मिनेटबिचमै नार्कको हात्तिवनस्थित आलुबारीबाट आएको पानीले विश्वविद्यालय हाता डुबाएको थियो । 

“हाम्रो मिडिया ल्याब पूर्णरुपमा क्षतिग्रस्त छ । टेलिभिजन र रेडियो सामाग्री निर्माण गरिने ध्वनिक मिडिया ल्याब झण्डै ४५ लाख खर्चेर निर्माण गरिएको थियो,” डा. शर्माले भने, “हामीले क्षति पुगेका यी पुर्वाधारको आवश्यक मर्मत र सुधार गरेर कक्षाहरु अर्को आइतबारबाट सुरु गर्ने योजनामा छौं ।” 

विश्वविद्यालयको भुईंतलामा केही विद्यार्थीहरु स्वयं जुटेर क्षति पुगेका पुस्तक, कम्प्युटर र अन्य उपकरणहरु जोखाउने प्रयासमा थिए । ललितकला विभाग २०७२ को भुकम्पले पहिल्यै क्षति झेलेको थियो र प्रिफ्याब्रीकेटेड संरचनाबाट चलिरहेको थियो । उसको पुस्तकालय आइतबार क्षति झेलेको समेत त्यही संरचनामा थियो । 

शनिबारदेखि उर्लेको कर्मनशा नदिको भेल सडकसम्म आइपुगेपछि विश्वविद्यालय समेतले यस्तो हविगत झेल्न परेको थियो । केयुका एक कर्मचारी पदम कार्कीले भने, “आलुबारी पनि भरिएपछि हेर्दाहेर्दै केही उपाय नै लगाउन नसकिनेगरी क्षणभरमै पूरै विश्वविद्यालय हाता पानीमा डुब्यो ।” 

स्कुल अफ आट्सले अर्थशास्त्र, सामाजिक विकास र मिडिया अध्ययनमा स्नातकका कक्षाहरु र डेभलपमेन्ट स्टडिज एण्ड ह्युमन एण्ड नेचुरल रिसोर्सेज स्टडिजका कक्षाहरु हात्तिवनबाट सञ्चालन गरिराखेको थियो । स्कुल अफ एजुकेसनले आफ्नो दिगो विकासमा स्नातकोत्तर कार्यक्रम र एमफिल र पीएचडी कार्यक्रमहरु संचालन गरिराखेको छ । 

तस्बिरहरु : केशव थापा/ सुजान श्रेष्ठ

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार