समाचार

नारायणीमा पानीको सतह खतराको निशानभन्दा माथि, ५०० घर डुबानमा

  • नदी आसपासका स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिँदै
- नारायण शर्मा, नवलपरासी

श्रावण २९, २०७४- लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । 

गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७.३ मिटर भन्दा माथि देखिएको छ । गण्डकको देवघाटमा भन्दा त्रिवेणी बाँधमा पानीको सतह धेरैमाथि  देखिएको छ । नारायणगढ भन्दा २२ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी बाँध (गण्डक बाँध) सम्मका खोलाहरुमा आएको बाढी र लगातारको झरीका कारण गण्डक बाँध रहेको स्थानमा पानीको सतह एक्कासी बढेको हो । 

सुस्ता आसपास, पक्लिहवा,  नरसहि र कुडिया क्षेत्रको स्लगत अवलोकन गरेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गण्डकमा पानीको सतह खतराको तह भन्दा माथि देखिएकाले सबै सुरक्षा निकायलाई परिचालन गरेर सर्तकता अपनाइएको जानकारी दिए । 

उनले सबै सुरक्षाकर्मी र स्थानियलाई उद्धारकालागि तम्तयार अवस्थामा राखिएको कान्तिपुरलाई बताए । प्रजिअले गण्डक बाँधका सबै ढोका खुल्ला राख्न भारतीय समकक्षीलाई जानकारी गराएको बताए । 
नारायाण्ीमा पानीको सतह बढेपछि त्रिवेणी, बबुअन, सुस्ता, नरसहि, पक्लिहवा, प्रतापपुर, बेलाटारी र कुडिया क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् । उता गैंडाकोटदेखि त्रिवेणीसम्मको क्षेत्रमा नदी आसपासका वस्ती रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ । 

खासगरि कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाविसका नदी किनारका बासिन्दा बाढिको जोखिममा रहेका छन् ।

मध्यविन्दु नगरपालिकाको दक्षिण नारायणी नदी किनारमा रहेको शेहरी, नन्दपुर, ब्रम्हस्थान र विनयी त्रिवेणी गाउँपालिकाको बबुअन क्षेत्रका करिब ५ सय घर डुबानमा परेका छन् । ती स्थानमा स्थानीयहरु खाद्यान्न, लत्ताकपडा र चौपाय डोर्‍यार सुरक्षित स्थानमा सरिरहेको इलाका प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिए । त्यस क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि उद्धारमा खटिएको छ । 

जिल्ला प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । नारायणी नदी आसपासका दर्जनौं गाउँका बासिन्दा सुरक्षित स्थलतर्फ सर्नेक्रम जारी छ ।

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार