समाचार

लगातार बर्षाका कारण पहिरो, एकको मृत्यु, तीन जना बेपत्ता

- शाहीमान राई, पाँचथर

श्रावण २९, २०७४- पाँच दिनदेखि अविरल बर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रमा जान थालेको पहिरो अझै थामिएको छैन । लगातार बर्षाको कारण बाढी पहिरोले त्यस क्षेत्रका वस्तीहरु जोखिममा छन् ।

सदरमुकाम फिदिमदेखि २२ कोस सु्दुर उत्तर फालेलुङ गाउँपालिका–३ मेमेङका ताङलेपा, खोलाघर, फालेलुङ –४ एकतीनस्थित चुप्पादेनलगायत आसपासको क्षेत्रमा गएको पहिरोले  घर सहित बगाएर एक जनाको मृत्यु भएको छ । मेमेङस्थित निवा खोला जलविद्युत आयोजनाका चौकिदारसमेत एकैघरका तीनलाई बाढीले बगाएर वेपत्ता छन् । 

फालेलुङ गाउापालिका–३ मेमेङको ताङ्लेपाका ५९ बर्षीय विष्णुभक्त राई, उनकी छोरी १३ बर्षीया गंगा र १३ बर्षीया नातिनी प्रिया राई शव आइतबार अपरान्हसम्म बेपत्ता छन् । खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले बताए । 

पहिरोले घरैसहित पुरिएका फालेलुङ–४ एकतीनस्थित चुप्पादेनका ८३ बर्षीय त्रिलोचन विश्वकर्माको शव फिदिमस्थित जिल्ला अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । फालेलुङ आसपासको क्षेत्रमा १५ ठाउँमा ठूलठूला पहिरो खसेकोले स्थानीयबासी समेत वारपार गर्न कठिन भएको बताइएको छ । फालेलुङको  एकतीन र मेमेङमा ४ दर्जनभन्दा बढी घर पहिरोले क्षतिग्रस्त भएकाले भागेर बाँचेकाहरु सुरक्षित गोठमा भोकभोकै बस्न बाध्य छन् ।
 
पहिरोले बगायो जलविद्युत आयोजना

उतरी पाँचथरको फालेलुङ गाउँपालिका–३ मेमेङस्थित स्थानीयबासीको सक्रियतामा निर्मित १३ किलोवाट क्षमताको निवाखोला लघुजलविद्युत आयोजना समेत बाढीपहिरोले शुक्रबार विहान बगाएको छ । आयोजनाको विद्युतगृह, कुलो र विद्युतीय उपकरण पूर्णरुपमा क्षतिग्रस्त छ । विद्युत आयोजना बगाएपछि एक हजार घरपरिवार भन्दा बढी उपभोक्ताहरु तीन दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । जलविद्युत आयोजना निरीक्षण गर्न जानसक्ने अवस्था समेत नभएको स्थानीयले बताए ।           

विद्युत र सञ्चार सेवा समेत अवरुद्ध

नियमित बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको १३२ केभि राष्ट्रिय प्रशारण लाइन अवरुद्ध हुादा इलाम, पाँचथर, ताप्लजुङलगायत पूर्वी पहाडमा सर्बसाधारण तीन दिनदेखि आध्यारोमा बस्न बाध्य छन् । झापाको दमकस्थित विद्युत सवस्टेसनमा ट्रन्सफर्मरमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध हुँदा टेलिफोन, मोवाइल र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । विद्युत नहुदा पाँचथरको अधिकांश ठाउँमा सञ्चार सम्पर्कविहीन छ । 

नेपाल टेलिकमलगायत सेवाप्रदायक कम्पनीले जेनेरेटरबाट फाट्टफुट्ट सेवा सञ्चालन गरेपनि सञ्चार प्रणालीमा सुधार नभएपछि संचारसम्पर्क विच्छेद हुँदा इन्टरनेट, मोवाइल र टेलिफोनको नेटवर्क बन्द हुने गरेको छ । सञ्चारसम्पर्क विच्छेद भएपछि सरकारी तथा गैरसरकारी कार्यालयबाट सर्बसाधारणलाई सेवा प्रवाह गर्न कठिन भएको छ । मेची पहाडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएपछि सर्वसाधारण कठिन जीवनयापन गर्न बाध्य छन् ।  

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार