समाचार

हाडे रोगको प्रकोप बढ्यो

- कान्तिपुर संवाददाता , ललितपुर

श्रावण २९, २०७४- झरुवारासीकी ८ वर्षीय दीपा घिमिरे दुई साताअघिसम्म फूर्तिली थिइन् । भाइरल ज्वरोका कारणले विस्तारै उनको शरीर कमजोर भयो । यही भाइरल चार दिनअघि उनकी दिदी दीपिकालाई पनि सर्‍यो । ‘सुरुमा छोरीले गाला दुख्यो भनी, खानेकुरा केही खाइन,’ दीपाका बुवा दीपकले भने, ‘अस्पताल लगेपछि हाडेरोग लागेको थाहा भयो ।’

सोमबार गोदावरी नपा–१२ स्थित उनको घरमा पुग्दा दीपाको मुख सुन्निएको थियो । ‘पढाइ छुट्ला भनेर विद्यालय पठाएकै गल्ती भयो,’ दीपकले भने, ‘हाडे रोगले चापेपछि धेरै दुख्ने रहेछ ।’ झरुवारासीकै ७ वर्षीय प्रवेश घिमिरेलाई भाइरल ज्वरोले साताअघि नै आक्रमण गरिसकेको थियो । ‘तैपनि हामीलाई थाहा थिएन,’ प्रवेशकी दिदी रश्मीले भनिन्, ‘निरन्तर खोकी लाग्ने, ज्वरो आउने भएपछि मात्रै थाहा पाएँ ।’

झरुवारासीकै शान्ति लामाको समस्या पनि उस्तै छ । यी तीनै जना झरुवारासीकै नवज्योति माविमा अध्ययनरत छन् । उनीहरूजस्तै विद्यालयका कक्षा २, ३ र ७ मा गरी १२ जना विद्याथीलाई हाडेरोग लागेको छ । विद्यालयका १२ जना विद्यार्थीमा हाडेको संक्रमण देखिएपछि सोमबार विद्यालय नै बन्द गरियो । 

नवज्योति माविका प्रिन्सिपल हरिहर लामिछानेले गत हप्तासम्म विद्यार्थीमा रोग देखिएको थिएन । ‘आइतबार सिकिस्तै भएकाले बिदा नै दिएका हौं,’ उनले भने । चापागाउँस्थित वाणि विलास माविका विद्यार्थीमा पनि हाडेरोग देखा परेको छ । 

जिल्ला सामुदायिक अस्पतालका डाक्टर सिर्जना महर्जनले हाडेरोग उपचार गर्न आउने बिरामीको संख्या बढेको बताइन् । महर्जनका अनुसार यो रोग खासगरी बच्चाहरूमा बढी हुनेगर्छ । यो ‘प्यारोमाइक्जा भाइरल’ का कारण हुने एक सरुवा रोग हो । ‘यो आफैं निको हुने रोग हो,’ उनले भनिन्, ‘यो रोग लागेमा ज्वरो आउने, सुन्निने, खोकी लाग्ने हुन्छ ।’ 

झरुवारासी स्वास्थ्य चौकीका इन्चार्ज लालबहादुर थापाका अनुसार विद्यालय बाहिरका पनि केहीमा हाडे रोग देखा परेको छ । ‘७ जना विद्यार्थी उपचारका लागि आएका छन्,’ उनले भने, ‘रोगबारेमा सचेत हुन अन्य विद्यालयलाई पनि जानकारी गराएका छांै ।’ उनले बिरामीको अवस्था बुझ्न कर्मचारीलाई खटाइएको बताए । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार