अर्थ / वाणिज्य

युरियाको माग धान्नै गाह्रो

- कान्तिपुर संवाददाता , पर्सा

श्रावण २९, २०७४-कृषि सामग्री कम्पनीलाई युरिया मलको आपूर्ति गर्न हम्मेहम्मे परेको छ । कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जले साउन लागेयता युरिया मलको माग अत्यधिक बढेकाले आपूर्ति गर्न हम्मे परेको जनाएको हो । 

कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवका अनुसार कम्पनीले ग्लोबल टेन्डरबाट मगाएको युरिया मल आए लगत्तै परिचालन गर्दा पनि माग धान्न गार्‍हो भएको बताए । साउन लागेयता सिंगापुरको विल्सन इन्टरनेसनल कम्पनीले ल्याएको ६ हजार ५ सय टन मल यहाँस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएको र उक्त मल कम्पनी वीरगन्ज कार्यालयका गोदामहरूमा आएलगत्तै परिचालन गरिए पनि माग अत्यधिक भएकाले आपूर्ति र परिचालनको सन्तुलन मिलाउनै अप्ठेरो भएको उनले बताए । 

कार्यालयले उक्त मलमध्ये ५ हजार ९ सय १५ दशमलव १ टन मल परिचालनसमेत गरिसकेको छ । मल खोज्दै बिहीबार पर्साकै विभिन्न सहकारी सञ्चालकहरू आए पनि आफूले फिर्ता पठाउनुपरेको उनले बताए । 

विल्सन कम्पनीले ल्याउने १२ हजार ५ सय टन युरिया मलमध्ये बाँकी मल हाल पनि कोलकाता बन्दरगाहदेखि सिर्सिया बन्दरगाहको बीचमा बाटोमा विभिन्न स्थानमा रहेकाले आइतबारसम्म त्यसमध्ये केही मल आउने सम्भावना रहेको छ । 

धनुषा, बारा, रौतहट, सर्लाही, चितवन, मकवानपुर आदि जिल्लाहरूबाट युरिया मलको माग बढी आएको श्रीवास्तव बताउँछन् । पछिल्लो केही वर्षयता किसानले धान खेती मात्र नभई माछा, केरा आदि खेतीमा पनि युरिया मलको प्रयोग गर्न थालेका छन् । माछापालन र केरा खेती बर्सेनि बढ्दो छ । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार