समाचार

बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु : गृह मन्त्रालय

- जनकराज सापकोटा, काठमाडौं

श्रावण २८, २०७४-अधिक बर्षापछि उत्पन्न बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ । त्यस्तै कयौं वेपत्ता छन् । 

गृहमन्त्री जर्नादन शर्माले बाढी पहिरोको प्रकोपमा परेकाहरुको उद्दार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । शनिबार बिहान गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्रीले जनधनको क्षतिबारे जानकारी गराएका हुन् । गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमान स्थलमा खाद्य तथा उद्दार सामाग्रीहरु तयार पारेर राखेपनि प्रतिकुल मौसमका कारण ति सामाग्री पुर्‍याउन नसकिएको बताए । गृहमन्त्रीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दारमा खटिन पनि निर्देशन दिएका छन् ।

गृह प्रवक्ता दीपक काफ्लेका अनुसार अधिक बर्षा भएका जिल्लाका प्रशासन कार्यालयहरुलाई हाई अलर्टमा राखिएको छ । गृह मन्त्रालयले मानवीय उद्दारको लागि झापा, मोरङ र सुनसरी जिल्ला पठाउनका लागि शनिबार दिनभर नेपाली सेनाका दुई हेलिकप्टर तयारी हालतमा राखेको थियो । तर, प्रतिकुल मौसमका कारण दुवै हेलिकप्टर उड्न सकेनन् । 

त्यस्तै गृहले ईटहरीस्थित पृतना कार्यालयमा रहेको एक हेलिकप्टर र सुर्खेत स्थित पृतना कार्यालयमा रहेका एक–एक हेलिकप्टरलाई मानवीय उद्दारका निम्ती परिचालन गरिरहेको छ । गृहमन्त्री जर्नादन शर्माले समेत निजी क्षेत्रका हेलिकप्टरहरुलाई उद्दारका निम्ती परिचालन गर्नका निम्ती पर्यटन मन्त्रीमार्फत पहल चालेका छन् । गृहका अनुसार आपतकालीन अवस्थामा निजी कम्पनीका हेलिकप्टर पनि परिचालन गर्नुपर्ने देखिएकाले तयारी थालिएको हो ।

साउनमा मात्रै ५५ को मृत्यु

साउन महिनाको २७ गतेसम्मको अवधीमा मात्रै बाढी र पहिरोमा परी २५ जनाको मत्यु भएको छ । गृह मन्त्रालयका अनुसार यो अवधीमा २७ दिनमा मात्रै पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने १० जनाको मृत्यु बाढीका कारण र एक जनाको मृत्यु अत्याधिक बर्ष पछि उत्पन्न परिस्थितिका कारण भएको देखिन्छ । शनिबार मात्रै अधिक बर्षापछि उत्पन्न प्राकृतिक प्रकोपमा परी थप ३० को मृत्यु भएपछि यो संख्या ५५ पुगेको छ ।

२७ गतेसम्मको अवधीमा बाग्लुङ जिल्लामा मात्रै पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । बाढी र पहिरोको प्रकोपमा बाग्लुङका अलवा मुस्ताङ, दाङ, रसुवा, पाल्पा, कपिलवस्तु, स्याङजा, भक्तपुर, सोलखुम्बु, ललितपुर, डोटी, रामेझाप र झापा जिल्लामा मानविय क्षति भएको देखिन्छ । 

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार