विचार/विश्‍लेषण

सिउँडी : एउटा अर्को रामशरण

- विमल निभा

श्रावण २८, २०७४- म आफ्नो घरधनीको असाध्यै इज्जत गर्छु । किनभने उनको राजधानीमा चार–चारवटा पक्की घर छन् । अर्थ मन्त्रालयमा जागिर खान्छन् । र जे गर्छन्, नियमपूर्वक गर्छन् । चाहे त्यो भ्रष्टाचार नै किन नहोस् ! म त उनको पाँचतले घरलाई समेत ठूलो आदर गर्छु । यसको कोठा–कोठालाई सधैं प्रणाम भन्छु । एउटा सच्चा किरायादारको नाताले यही मेरो परम कर्तव्य हो । यसको पूर्णतया पालन गर्न म प्रतिबद्ध छु । 

एकाबिहानै कसैले मेरो ढोका ढकढक्यायो । खोलेर हेरेँ । घरधनी रहेछन् । त्यसैले आफ्नो स्वभाव अनुसार दस औंला जोडेर नमस्कार गरेंँ । उनले यसको प्रत्युत्तरमा तुरुन्तै भने, ‘यो महिनाको भाडा खोई ?’

मैले दयनीय अनुहार बनाएँ । यसका लागि कुनै अतिरिक्त प्रयास गर्नुपरेन । यहाँ घर नभएकाहरूका यस्तो अभ्यास हुन्छ । त्यसपछि मैले विनम्र स्वरमा भनेंँ, ‘यसपालि केही ढिलो हुनगयो दाइ ।’
उनको दुवै पुष्ट गाला राता–राता भए । तर कुनै लाजले होइन । अपितु क्रोधको आधिक्यले यस्तो भएको थियो । अत: कडकेर भने, ‘यो देशको आर्थिक अवस्थामा यत्रो सुधार भइसकेको छ । तर तपाई भने एक महिनाको भाडा दिन पनि कचकच गर्नुहुन्छ । के हो यो भैया ?’

‘तलब बेलैमै आएन । के गर्ने दाइ ? केही समय त दिनैपर्‍यो ।’ मैले अरू नम्र भएर भनँें, ‘बुझाइ हाल्छु 
नि दाइ ।’

‘तपाई जस्ताले गर्दा नेपालको विकास तीव्र हुन नसकेको हो । नत्र ता हामी धेरै अगाडि बढिसक्ने थियौं । हामीसँग साधनस्रोतको के कमी छ ?’ उनले मेरो आँखामा हेरेर भने, ‘तपाई भने एक महिनाको भाडा पनि तिर्न सक्नुहुन्न । यसरी त प्रगति हुँदैन भैया ।’

घरधनीको कुरा सुनेर म सोच्न थालेँ– के यो देशको विकासमा मेरो कुनै हात छैन ? हो, मेरो परिश्रम र प्रयत्नविना नै देश अघि बढिरहेको छ । अब म के गर्न सक्छु ? मैले काँतर स्वरमा गुनासो गरे, ‘दाइ, महंँगी बढेको बढ्यै छ ।’

‘तर हाम्रो आर्थिक वृद्धिदर पनि त राम्रो छ, भैया ।’ उनले भने ।
‘छोराछोरीहरूलाई पढाउन गाह्रो भइसक्यो ।’
‘हामीकहाँ विदेशी सहयोग प्रशस्त आइरहेको छ ।’
‘दुई छाक जसो गरे पनि खानैपर्‍यो, दाइ ।’
‘प्रत्येक परिवारको समृद्धिको स्तर पनि त माथि गएको छ, भैया ।’
‘म चाँडै भाडा तिरिहाल्छु, दाइ ।’ म मूल विषयमा आएँ ।
‘यसरी कसरी हुन्छ, भैया । जाबो पन्ध्र सय रुपियाँ महिनाको दिन सक्नुहुन्न । तपाईले कोठा खाली गरे हुन्छ ।’ उनी एक्कासी पड्किए, ‘तपाई जस्ताको भरोसामा यो देश विलकुलै सम्पन्न हुनसक्दैन । बुझ्नुभयो त भैया ?’ उनी आफ्नो चस्मा भित्रको तिखो आँखाले मलाई हेर्न थाले । म भयले लत्र्याकलुत्रुक भएँ । (अथवा लाजले हो कि ) ।

‘यसरी चल्दैन भैया ।’ उनी क्रुद्ध भए ।
‘एक हप्ताको समय त दिनैपर्‍यो, दाइ ।’ मैले आफ्नो तमाम विनम्रताका साथ विन्ती गरेंँ । अहिले यही एकमात्र उपाय थियो, जसको कुशलतापूर्वक प्रयोग गरेर म जोगिन सक्थेंँ ।

‘तपाईंले कि त मेरो घर छाड्नोस् कि भोलि नै पैसा तिर्नाेस् । एक महिनाको भाडा दिन पनि यति ढिलो † त्यसैले नेपालको उन्नतिमा ह्रास आएको हो । तर कुनै चिन्ताको कुरा छैन ।’ उनले गम्भीर भएर भने, ‘यहाँ हामी पनि त छौं । यो देश आर्थिक रूपले सुदृढ भइसकेको छ । किनभने नेपाल भाडा दिनेहरूका मात्र होइन, भाडा लिनेहरूका पनि देश हो । यो अघि बढ्छ, बढ्छ । कसले रोक्न सक्छ ?’

एकाएक मलाई लाग्यो, साक्षात अर्थमन्त्री रामशरण महत म अघि उभिएका छन् । यद्यपि रामशरण महत अहिलेका अर्थमन्त्री होइनन् । तर यसले के फरक पर्छ ! वास्तवमा रामशरण महत पश्चातका सबै अर्थमन्त्रीहरू एक प्रकारले रामशरण महत नै त हुन् । होइन र ? मेरो घरधनी पनि त अर्थ मन्त्रालयकै हुन् । त्यसकारण केही पर्सेन्ट रामशरण महत हुन् नै । अलिकति अन्तर दाह्रीको मात्र हो । मेरो घरधनी क्लिनसेभ्ड हुन् । 

हेर्नाेस्, हामीजस्ता घर नहुनेहरूका लागि एउटै रामशरण महत पर्याप्त थियो । तर यहाँ त मेरो घरधनीको रूपमा एउटा अर्काे रामशरण महतको दृश्यमा सशरीर उपस्थित थियो । जो मलाई अर्थात् एक किरायादारलाई पुरै हप्काएर देशको सबल अर्थतन्त्रबारे जानकारी दिइरहेका थिए ।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार