विचार/विश्‍लेषण

सीमापारिका ‘गोरखाली’

- श्रीकृष्ण अनिरुद्ध गौतम, काठमाडौं
भारत स्वतन्त्र भएयताका ७० वर्ष गोरखालीको समस्त ऊर्जा आफ्नो अस्तित्व रक्षामै खर्च भइरहेको छ ।

श्रावण २७, २०७४- टिस्टादेखि सतलजसम्म फैलिएको गोरखा राज्य सन् १८१६ को सुगौली सन्धिमा पूर्व मेची र पश्चिम महाकालीबीच संकुचित भएपछि गोरखालीहरूको साम्राज्य विस्तारको महत्त्वाकांक्षामा अपमानजनक विराम लाग्यो । त्यो विराम अद्यापि कायम छ । त्यसपश्चात् गोरखा जातिले आफ्नालागि कुनै युद्ध लडेको छैन । एकातिर बितेका दुई सय वर्षमा यसको सौर्य ब्रिटिस साम्राज्यको विस्तारमा अनुवाद र ऊर्जा त्यसैको रक्षामा खर्च भएको छ । अर्कातिर सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्रतापछि भारतको सरहद रक्षाका लागिसमेत असंख्य गोरखालीले बलिदान दिएका छन् । 

यहाँ गोरखा अथवा गोरखाली शब्दावली पहाडी मूलका नेपाली र तिनका रक्तसन्ततिलाई चिनाउन प्रयोग गरिएको तथा यसलाई पहाडीको सांस्कृतिक पहिचानका रूपमा हेरिएको छ । नेपाली र गोरखाली पर्यायका रूपमा प्रयोगमा थिए र छन् अझै । यद्यपि पछिल्लो समय नेपालमा भएका उथल–पुथलका कारण नेपाली पहिचान पहाडी समुदायमा सीमित रहन गएको छैन, यो नेपालका नागरिकलाई चिनाउने औपचारिक परिचय पनि बन्न गएको छ । निश्चय नै भारत र अन्यत्र भने पहाडी मूलका नेपालीलाई नै नेपालीका रूपमा चिनिन्छ, गोरखालीलाई त्यसैको पर्यायकै रूपमा लिइन्छ । नेपाल बाहिर पहाडी बाहेक अरुलाई विरलै नेपाली भनेको पाइन्छ । तर नेपालमा पनि ठिक त्यसरी नै बुझ्दा नेपालका गैरपहाडी समुदायमाथि अन्याय हुन जान्छ भन्ने मान्यता विकसित भइरहेको छ । त्यसैले गोरखाली म तिनलाई भनिरहेको छु, जो उत्पत्तिले पहाडी हुन् र यसमा पर्छन् मूलत:, पहाडी आर्य, किरात र अन्य पर्वतीय जातिहरू । (यसका बाबजुद यहाँ प्रस्ट पार्न चाहन्छु, यस आलेखमा मैले बुझ्न सजिलोका लागि कतिपय प्रसंगमा नेपाली, गोरखा/गोरखालीलाई पर्यायकै रूपमा प्रयोग गरेको छु) । 

यिनै गोरखाली जो भारतको सरहदमा परे अथवा पर्न गए, उनीहरू यता आएर गोरखाका रूपमा चिनिन रुचाउँछन् । विशेषगरी दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी लगायतका तराई र डुवर्सका नेपालीले आफूलाई गोरखा (गोर्खा) का रूपमा चिनाउन थालेका छन् । यही पहिचान त्यहा छुट्टै प्रदेशका लागि भइरहेका पछिल्ला आन्दोलनहरूबाट स्थापित पनि हुने क्रममा छ । जबकि सिक्किममा भने उनीहरू आफूलाई नेपाली नै भन्छन्, त्यहाँ विरलै मात्र आफूलाई गोरखा भनेर चिनाएको पाइन्छ । त्यसैगरी पूर्वोत्तर भारतका असम लगायतका प्रदेशमा उनीहरूलाई सामान्यतया नेपाली नै भनिन्छ । तर औपचारिक प्रस्तुतिमा भने उनीहरूले पनि गोरखा नै भन्न थालेका छन् । 

नेपालमा गोरखाली पहाडीहरूको एउटा उपपहिचान हो । भारतमा भने यो त्यहाँ बसोबास गरिरहेका सबै नेपालीभाषीको सामूहिक पहिचान हो । नेपालमा नेवारहरूले आफूलाई गोरखाली भन्दैनन्, तर भारत भने उनीहरू सगर्व गोरखा पहिचानमा आबद्ध छन् । त्यहाँ आर्य, किरात र तिब्बती मूलका जातजातिहरू एउटै गोरखा पहिचानमा आबद्ध हुनपुगेका छन् । तर माथि भनिएझैं नेपालको सरहदभित्र भने हिमाल, पहाड र तराई मूलका मानिस नेपाली पहिचानमा एकत्र भएका कारण यो अब गोरखालीको सर्वाधिकारका रूपमा सीमित रहन गएको छैन । 

माथि भनिएझैं अचेल भारतका नेपाली, आफूलाई नेपाली भन्नपर्दा सतर्क हुन्छन् । उनीहरू आफूलाई गोरखाका रूपमा चिनाउन विशेष बल गर्छन् । यसलाई एक प्रकारले उनीहरूको पहिचानको अलमल (आइडेन्टिटी कन्फ्युजन) भन्न सकिन्छ, किनभने पञ्जाबीहरू भारत र पाकिस्तान दुबैतर्फ छन् मात्र होइन, दुबै देशमा पञ्जाब नामका आआफ्ना प्रदेश छन् । दुबै तर्फका आफूलाई नि:शंक पञ्जाबीका रूपमै चिनाउँछन् । त्यस्तै बंगलादेश र पश्चिम बंगाल दुबैतर्फ बंगाली छन् । उनीहरू आफूलाई निर्धक्क बंगालीका रूपमा चिनाउँछन् । तर भारतको सरहदभित्र परेका पहाडी मूलका नेपाली आफूलाई नेपालका भन्देलान् भन्ने आशंकाका कारण गोरखा पहिचान स्थापित गर्नतर्फ बल गरिरहेका र एक हदसम्म सफल पनि भएका छन् । यद्यपि बोलीचालीमा पहाडी मूलका नेपालीका हकमा गोरखा र नेपालीलाई पर्यायकै रूपमा लिइन्छ, नेपाल, भारत र अन्यत्र पनि ।

किन भारतका पहाडी मूलका नेपालीहरू अचेल आफूलाई नेपालीका ठाउँमा गोरखाका रूपमा सम्बोधन गर्छन् र अरुले पनि त्यसै गरेको रुचाउँछन् ? उनीहरू आफूलाई नेपाली भनेर चिनाउँदा आफू अरु हेपिने ठान्छन् । किनभने नेपाल राष्ट्रमाथि भारतीय शासनको बलमिच्याइँ एवं पहाडी नेपाली जातजाति भारतमा हदै हेपिएको अनुभव हामीले मात्र होइन, भारतवासी नेपालीले पनि बरोबर गरेका छन् । भारतमा किन हेपिए नेपाली ? सटिक शब्दमा उत्तर दिन बडो कठिन छ । त्यहाँ किन हेरिन्छ, नेपालीलाई हेय दृष्टिले, यसका अनेक कारण छन् र ती कारणमा प्रमुख नेपालको आन्तरिक दुर्दशा नै हो । यही आन्तरिक दुर्दशाको प्रतिच्छाया नेपालबाहिर, विशेष गरेर भारतमा बसोबास गर्ने नेपालीमाथि पनि पर्नगएको छ । 

नेपालको भारतप्रति अत्यधिक निर्भरताका साथै नेपाली शासकहरूको नयाँदिल्लीका सामु ‘त्वं शरणम् मनोवृत्ति’का कारण नेपालीहरू सर्वत्र र सामूहिक रूपमा हतमनोबल छन् । त्यस्तै नेपालको भौगोलिक अवस्थितिका कारण भारतीय शासक, प्रशासकहरूको नेपाललाई कज्याएर आफ्ना कुरा मान्न बाध्य पार्ने व्यवहार पनि यसैमा सम्मिलित छ । अर्थात् नेपाली पहिचान हर दृष्टिले हेपिएको प्रतीतिका कारण यसैबाट बच्न उनीहरूले नाममा पनि आफ्नो एउटा पृथक पहिचान स्थापित गर्न खोजेका हुन्, जबकि गोरखा/गोरखाली पहाडी मूलका नेपालीको एउटा साझा पहिचान हो, चाहे त्यो नेपालभित्र होस् अथवा बाहिर । यो यथार्थ हामीलाई जस्तै उनीहरूलाई पनि राम्ररी थाहा छ । 

नेपाल आफैंमा स्वतन्त्र र सार्वभौम राष्ट्र भए पनि नेपालीले परम आत्मीय भनिएको भारत नेपाल र नेपालीप्रति कस्तो व्यवहार गरिरहेको छ, यसको दृष्टान्तका लागि अब सुदूर अतीतका पानाहरू पल्टाइरहनु पर्दैन । कुनै लिखतको जरुरत पनि छैन । किनभने २०७२ सालमा नेपालले भोगेको पाँच महिना लामो भारतीय नाकाबन्दी केवल स्मृति भएर रहेको छैन, नेपालीको अन्तरमनमा पीडादायी अनुभवका रूपमा जीवन्त छ । त्यसैले जब कुनै भारतीय अथवा नेपाली नेता अथवा प्रशासक नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको प्रवचन दिन्छ, त्यो सुन्दै हास्यास्पद लाग्छ । अर्थात् आफ्ना कुरा मनाउन जसले नाकाबन्दी जस्तो मानवघाती अस्त्र प्रयोग गर्न सक्छ, उसको साथ र सहयोगको कुनै पनि वचनबद्धता खोक्रो र अर्थहीन लाग्नु वास्तवमै अस्वाभाविक होइन । 

त्यो घटनाको असर नेपालमा सीमित रहेन, सरहद पार बस्ने नेपाली रक्तसन्ततिमाथि पनि त्यसको गहिरो प्रभाव पर्‍यो । त्यहाँ बस्ने नेपालीमाथि मनोवैज्ञानिक यातना थपियो, उनीहरू अरु हेपिए । नेपाली भएकैले भारतभर अनेक प्रकारले हेपिएका, प्रताडित भएका, तर नेपाल आफैं भने भारतका सामु दयनीय भावले प्रस्तुत भइरहेका घटना–परिघटनाका पक्षहरू भने अझसम्म विरलै खोतलिएका छन् । एकातिर भारतीय स्वतन्त्रता र सरहद रक्षामा नेपाली/गोरखाहरूको विशिष्ट योगदानबारे धाराप्रवाह प्रवचन तर व्यवहार त्यसको ठिक उल्टो, फेरि त्यसमाथि आफ्नो परिचय र रक्त गाँसिएका देशको निरन्तरको निरीह प्रस्तुति देख्दा–देख्दा भारतमा बस्ने नेपाली मनमनै पिल्सिएका हुन् । लामो समयदेखि मानसिक द्वन्द्वमा छन्, पहिचानको मात्र होइन, अस्तित्वकै संकट झेलिरहेका छन् । 

अझ थप भनौं, फौजमा भर्ती भएर अंग्रेजको नुनको सोझो गर्ने गोरखालीहरू जो आफ्नो भूमिसमेतै भारतमा परे एवं ती गोरखाली जो भारतीय स्वतन्त्रता संग्राममा ज्यानको आहुति दिन तत्पर भएका थिए (विशेषगरी बंगाल र त्यसभन्दा पूर्व बस्ने गोरखाली) भारत स्वतन्त्र भएपछि झनै विषम अस्तित्वको संकटमा परे । त्यसैले भारत स्वतन्त्र भए यताका ७० वर्ष गोरखालीको समस्त ऊर्जा आफ्नो अस्तित्व रक्षामै खर्च भइरहेको छ । उनीहरूमाथि वास्तवमा दोहोरो संकट छ । एक, भारतीय शासनको उनीहरूप्रतिको व्यवहार सन् १९५० को नेपाल–भारत सन्धिबाट निर्देशित छ र दुई, विशेष गरेर दार्जिलिङ, कालिम्पोङ, तराई र डुवर्समा बस्ने गोरखालीको वास्तविक अवस्था भने पश्चिम बंगालको उपनिवेशमा बसेजस्तो छ ।

यहाँनेर के पनि स्मरणीय छ भने भारतको पूर्वोत्तर भेगमा गोरखालीको बसोबास नभएको ठाउँ नै छैन, तर हरेक प्रदेशमा जातीयताको बोलवाला छ, नेपाली दशकौंदेखि पाखाका पाखै परिरहेका छन् । सन् १९८० मा मणिपुरका कतिपय नेपालीको बस्तीमा आगो लगाइयो, आज पनि त्यहाँ आज हो कि भोलि कहिले खेदिनुपर्ने हो भन्ने अवस्था छ । 

सन् ’८० कै दशकमा मेघालयबाट हजारौं नेपालीभाषी खेदिए, शिलाङ सहरमै रहेका उनीहरूका घरमा आगो लगाइयो । असममा लाखौंको संख्यामा नेपाली छन्, तर उनीहरू पनि निरन्तर मानसिक सन्त्रासमै बाँचिरहेका छन् । नागाल्यान्ड र मिजोरमको कुरै छाडौं, किनभने त्यहाँ नेपाली पुस्तौं बसोबास गरे पनि उनीहरू त्यहाँका रैथाने हुँदैनन् । छोड, भनेका दिन उनीहरूले त्यो भूमि छोड्नुपर्ने हुन्छ । तर छोड्न त छोड्ने, छोडेर कहाँ जाने ? यसको उत्तर नयाँदिल्लीले दिँदैन । बोल्नुपर्छ त्यतिखेर नेपाल, तर नेपाल के कहिल्यै बोलेको छ ? 

सुगौली सन्धिद्वारा गोरखा राज्य अर्थात् नेपालको एक तिहाइभन्दा बढी भूभाग तत्कालीन इस्ट इन्डिया कम्पनीले आफ्नो अधीनमा लियो । भूमि ब्रिटिस शासित भारतमा पर्‍यो, तर सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यही भूमिका वासिन्दा आफ्नै भूमिमा आगन्तुक बने, विदेशी भए । स्वतन्त्र भारतमा गरिएको राज्य पुनर्गठनका बेला नेपालभन्दा पश्चिमका पहाडीहरूलाई तत्कालीन उत्तर प्रदेश र पञ्जाबमा पारियो, पूर्वतर्फकालाई पश्चिम बंगालमा । पश्चिमतर्फका पहाडीहरूले पञ्जाबबाट छुट्टिएर हिमाचल प्रदेश र त्यस्तै धेरैपछि उत्तर प्रदेशबाट अलग उत्तराखण्ड पाए । तर पूर्वतर्फ पश्चिम बंगालमा पारिएका गोरखाली भने बंगालीहरूको जातीय अहंकार र उनीहरूको आफूलाई विशिष्ट ठान्ने अन्ध बंगालभक्तिका कारण निरन्तर प्रताडित भइरहे । त्यसैले अन्यथा नबुझौं, बरु यहाँ यसरी बुझौं, नेपालको पूर्वी सरहद पार दशकौंदेखि चलिरहेको आन्दोलनमा भारतमा बसोबास गर्ने नेपाली रक्तसन्तति गोरखा/गोरखालीको अस्तित्व रक्षाको प्रश्न र बंगालमा निरन्तर प्रताडनाका कथ्य, अकथ्य पीडा सम्मिलित छन् । 

प्रकाशित: श्रावण २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार