समाचार

शुक्रबारदेखि राजधानीमा रोजगार मेला

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २६, २०७४-तीन वर्षीय डिप्लोमादेखि स्नातकोत्तर पढेका विद्यार्थीलाई रोजगारी दिन शुक्रबारदेखि राजधानीमा रोजगार मेला लाग्ने भएको छ ।

आसाम डाउनटाउन युनिभर्सिटीको संयोजनमा हुने पहिलो अन्तर्राष्ट्रिय रोजगार र करिअर फेयरमा नेपाल र भारतका विभिन्न प्रख्यात कम्पनीले सिधै रोजगारीका अवसर दिने आयोजकले जनाएको छ । मुलुकमा ब्याप्त बेरोजगार न्यूनिकरण गर्न रोजगारीको खोजीमा रहेका शिक्षित युवालाई लक्षित गरेर मेला गर्न लागिएको लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका सिइओ एवं कार्यक्रम संयोजक शंकर भट्टराइले बताए । शनिबारसम्म चल्ने मेला भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा हुनेछ ।

 

भारतका प्रतिष्ठित कम्पनी रिलाइन्स जिओ र र्‍याडिसन होटल मेलामा सहभागी हुने आयोजकले जनाएको छ । मोबाइल कम्पनी रिलायन्सले एक सय ५० जना इलेक्ट्रोनिक्स इन्जिनियरलाई रोजगारीको अवसर दिने भट्टराईले बताए । भारतको चेन होटल सञ्चालन गरेको र्‍याडिसनले आफूलाई आवश्यक पर्ने जनशक्ति मेलामै छनौट गर्ने उनले बताए । त्यस्तै मेलामा सहभागी नेपालका कर्पोरेट हाउसहरुले पनि आफूलाई आवश्यक पर्ने जनशक्ति मेलाबाटै छनौट गर्न सक्ने उनले बताए । नेपालका सिप्रदी, टोयटा, सद्धा, क्लाकि टेक, बिरला टायर, सुबिसु, डिसहोम, यामाहालगायत १८ वटा स्वदेशी कम्पनीहरु सहभागी हुनेछन् । ‘मेलामा आउने विद्यार्थीले आफ्नो बायोडाटा भने अनिवार्य ल्याउनु पर्ने हुन्छ,’ भट्टराईले भने, ‘विद्यार्थीको योग्यता के छ ? रोजगारदाता कम्पनीले कस्ता कामदार माग गरेका छन् ? दुवैलाई भेटाउन मेला आयोजना गरिएको हो ।’ क्याम्पस टु कर्पोरेटको अवधारणा अनुसार मेला आयोजना गर्न लागिएको उनले बताए । 

प्रकाशित: श्रावण २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार