प्रवास

राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाबाट १६ लाख सहयोग

- नारायण खड्का, अस्ट्रेलिया

श्रावण २५, २०७४-महावीर पुनको पहलमा  स्थापना गरिन लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाका नेपालीहरुबाट अहिलेसम्म करिब २० हजार डलर (१६ लाख रुपैयाँ) सहयोग संकलन गरिएको छ । 

महावीर पुन उक्त केन्द्रका बारेमा यहाँका नेपालीहरुलाई बुझाउन र सहयोग जुटाउनका लागि अस्ट्रेलियामा छन् । अहिलेसम्म पुनले सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा र एडिलेडमा रहेका नेपालीहरुसँग यही विषयमा अन्तर्क्रिया र छलफल कार्यक्रम गरिसकेका छन् । अन्तर्क्रिया कार्यक्रमअन्तर्गत नै उनको केन्द्रलाई सहयोग पुर्‍याउन रकम संकलन गरिएको हो । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दीपक शर्माका अनुसार रकम संकलन कार्य जारी रहेकाले ब्रिसबनमा कार्यक्रम सम्पन्न भइसकेपछि संकलित सबै सहयोग रकम पुनलाई एकमुष्ट हस्तान्तरण गरिनेछ । 

पुनको आविष्कार केन्द्रका लागि सिड्नीमा आयोजित कार्यक्रममा सबैभन्दा धेरै करिब १५ हजार डलर (करिब ११ लाख रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले प्रतिबद्धता गरिएको रकम संकलन गरेर पुनलाई हस्तान्तरण गरिने जानकारी दिए । उनले देश विकासका लागि पुनले चालेको कदमलाई सहयोगका लागि एनआरएनले समन्वय गरेको जानकारी दिए । 

पुनलाई मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा चितवन समाज भिक्टोरियाले १ लाख ५५ हजार सहयोग गरेको छ भने एनआरएन भिक्टोरियाले करिब १ हजार ६ सय डलर संकलन गरेको छ । 

यसै गरी पश्चिम अस्ट्रेलियामा आयोजना गरिएको कार्यक्रमबाट समेत करिब २ हजार डलर संकलन गरिएको छ । पुनले देश विकासका लागि आविष्कार केन्द्रजस्ता अन्वेषण र अनुसन्धान केन्द्रहरु अपरिहार्य भएको बताउँदै आएका छन् । उनले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई धनका साथै समय र आफ्नो सीपको सहयोग गरिदिन आग्रह गर्दै आएका छन् । 

प्रकाशित: श्रावण २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार