अर्थ / वाणिज्य

जापानीको परिश्रम रहस्य ‘इकिगाई’

- दिनेश यादव, काठमाडौं

श्रावण २५, २०७४-जापानीहरू लामो समयसम्म अनुशासित भई काम गर्न सक्नु र दीर्घजीवी हुनुको रहस्य त्यहाँको मौलिक ‘इकिगाई’ अवधारणाको प्रयोग गर्नु रहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । अनुसन्धानकर्मीहरूका अनुसार त्यहाँका कामदारहरूलाई आफ्नो कामप्रति उत्प्रेरणा जगाउने अति प्राचीन यस्तो अवधारणा फलदायी देखिएको छ । 

‘बीबीसी डट कम’ को ‘क्यापिटल’ स्तम्भमा युकारी मित्सुहासीले ‘इकिगाई’ को यो अवधारणाबारे बेलिविस्तार लगाएका छन् । ठूला सहरहरूमा खटिने जापानी कामदारले राज्यद्वारा परिभाषित ‘सुसी–जुमे’ भनिने एउटा असाधारण कार्य दिवसबाट गुज्रिनुपरेको हुन्छ । ‘सुसी’ अर्थात् चामललाई खाँदेर बनाइएको प्याकजस्तै जापानी कामदारहरू आफ्नो दिनचर्या भीडभाडयुक्त ट्रेनको डब्बामा गर्छन् । भीडमा उभिएर यात्रा गर्नुपर्ने भएकाले कामदारका अघिल्ला दिनका तनावहरू त्यहाँ न्यूनीकरण हुन्न वा गर्न सकिन्न । किनभने जापानको काम संस्कृतिले अधिकांश कामदारलाई कार्यालयमा लामो समयसम्म खटिनुपर्ने निश्चितै छ । त्यहाँको कठोर नियमद्वारा पनि तिनीहरू बाँधिनु नै पर्छ । लामो समयसम्म अनुशासित भई धेरै काम गर्नु असाधारण त हुँदै हो, मध्य रातको अन्तिम रेलमा मानिसले खचाखच भीडमा यात्रा गर्नु झनै कष्टकर हो । यस्तो अवस्थामा कामदारको थकान र तनाव बढ्ने निश्चितै हुन्छ । यसलाई तिनीहरूले कसरी व्यवस्थापन गर्छन् भन्ने कुरो महत्त्वपूर्ण छ । सधैं फ्रेस भई कामदारले लामो समय कसरी काम गरिरहेको सम्बन्धमा अनुसन्धान गर्दा ‘इकिगाई’ को रहस्य खुलेको हो । धेरे कामदारले यसैलाई जीवनमा प्रयोग गरेकाले आफ्नो व्यस्त दिनचर्याको सफल व्यवस्थापन हाँसीखुसी गर्ने गरेको पाइएको छ । 

मित्सुहासी लेख्छन्, ‘वास्तवमै ‘इकिगाई’ को कुनै प्रत्यक्ष अंग्रेजी अनुवाद छैन । तर, यो एउटा यस्तो शब्द हो, जुन अति व्यस्त कामदारलाई जीवित रहनका लागि खुसीको प्रतीक बन्ने गरेको छ । मूलत: ‘इकिगाई’ कै कारण जापानी कामदारहरू हरेक दिन बिहानै उठ्न पनि सकेका हुन् र समयमै काममा जाने गरेका हुन् ।’ ‘इकिगाई’ ले कामदारलाई कम्पनीले ‘उसलाई किन जागिरमा राखेको हो, उसले किन कामलाई मन पराएको हो, उसको लक्ष्य के हो, केका लागि ऊ खटिइरहेको हो, जीवनको लक्ष्य के हो, विश्वको आवश्यकता के हो’ जस्ता विषयहरू आत्मसात् गर्न सहज बनाइदिने गरेको छ । अर्थात् यी कुराहरूले कामदारलाई सधैं उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले तिनीहरू राति अबेरसम्म खटिए पनि बिहानै उठ्ने गर्छन् ।

पश्चिमा मुलुकका मानिसहरू जो ‘इकिगाई’ को अवधारणसँग बढी परिचित छन्, तिनीहरूले यसलाई गणितमा प्रयोग हुने एउटा चित्रसँग जोडिएको विषयवस्तु ठान्छन् । तिनीहरूका अनुसार ‘तपाईंले कसलाई प्रेम गर्नुहुन्छ,, तपाई किन राम्रो हुनुहुन्छ, विश्वको आवश्यकता के हो र तपाईंका लागि भुक्तानी किन गरिँदै छ’ भन्नेसँग जोडिएकाले ‘इकिगाई’ गर्नु अति व्यस्त जीवनका लागि अपरिहार्य विषय हो । तर, जापानीको विचारमा भने यो अलिक फरक छ । तिनीहरूको बुझाइ कसैको ‘इकिगाई’ आम्दानीसँग जोडिएको विषयवस्तु होइन भन्ने छ । जापानीहरू भन्छन्, ‘इकिगाई’ पूर्णत: जीवन आनन्दसँग जोडिएको विषय हो ।’

सन् २०१० मा केन्द्रीय अनुसन्धान सेवाद्वारा दुई हजार जापानी पुरुष र महिलामाथि गरिएको सर्वेक्षणमा मात्र ३१ प्रतिशित सहभागीले आफ्नो   कार्यलाई सफल बनाउन ‘इकिगाई’ जीवनमा आवश्यक रहेको बताएका छन् । यसले के देखाउँछ भने निश्चित रूपमा अपेक्षा गरे जस्तो यो सीमित छैन । सन् २००१ मा ‘इकिगाई’ बारे सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनका सहलेखकसमेत रहेका टोकियो इवा विश्वविद्यालयका प्राध्यापक तथा निदानात्मक मनोचिकित्सक अकिहिरो हासेगावाले जापानी भाषामा हरेक दिनको अंशका रूपमा ‘इकिगाई’ लाई जोड्ने प्रयास गरेका थिए । प्रतिवेदनमा ‘इकिगाई’ दुइटा शब्दहरू ‘इकी’ (जसको अर्थ जीवन) र ‘गाई’ (मूल्य या धन) मिलेर बनेको उल्लेख गरिएको छ । यसरी ‘इकिगाई’ भनेको जीवन नामक धन (जीवनधन) भनेर बुझ्न सकिन्छ । हासेगावाका अनुसार ‘इकिगाई’ शब्दको उत्पत्ति हेइअन समय (७९४ देखि ११८५) सम्मलाई मानिन्छ । ‘गाई’ शब्द काई (जापानीमा सेल) सँग जोडिएको छ । जुन अत्यधिक मूल्यवान् मानिएको थियो । त्यसैबाट एउटा शब्दका रूपमा प्रचलनमा ल्याइएको हो, जसको अर्थ ‘जीवनको मूल्य’ भनेर उनले आफ्नो धारणा स्पष्ट पारेका छन् । ‘इकिगाई’ एउटा व्यापक अवधारणा हो, जसमा जीवनमा यस्तो मूल्यहरूलाई समावेश गरिएको हुन्छ, जसबारे जो कोहीले पनि सोच्न र विचार गर्न सक्छन् । 

जापानमा कयौं किताब ‘इकिगाई’ प्रति समर्पित रहेको पाइन्छ । तर, विशेष रूपमा सन् १९६६ मा प्रकाशित इकिगाई–नी–सुुट (इकिगाईबारे) प्रमुख रहेको छ । पुस्तकका लेखक मनोचिकित्सक मिको कामियाका अनुसार एउटा शब्दका रूपमा इकिगाई खुसी जस्तै हो तर यसको अति सूक्ष्मताभित्रै सूक्ष्म फरकपना रहेको छ । उनले भनेका छन्, ‘दु:खी भएकै अवस्थामा पनि ‘इकिगाई’ ले के मानिसलाई आफ्नो भविष्यका लागि तत्पर रहन अनुमति प्रदान गर्छ ?’

 

हासेगावाले यसलाई जीवनकाल र दैनिकी दुवैसँग सम्बन्धित रहेको अंग्रेजीमा बुझ्न सकिने संकेत गरेका छन् । जीवनका उद्देश्यका रूपमा इकिगाईको अनुवाद धेरै विस्तृत रहेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘तर, जापानमा हामीसँग ‘जिन्सेई’ (जसको अर्थ जीवनकाल) र ‘सेकेत्सु’ (जसको अर्थ दैनिक जीवन) नै हो ।’ अनुसन्धानका क्रममा जापानीहरूले दैनिक जीवनमा थोरै भए पनि खुसीको योग पूरा गर्ने प्रयास गर्नुले तिनीहरू जीवनलाई पूरै सार्थक बनाउनु जस्तै भएको मान्यता राखेको पाइएको छ । 

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार विश्वमा सबैभन्दा लामो समयसम्म बाँच्ने नागरिक जापानमै छन्, महिला ८७ वर्ष र पुरुष ८१ वर्ष । के ‘इकिगाई’ को अवधारणाले मानिसको दीर्घायुमा योगदान गरेको छ त ? यो प्रश्नको उत्तर खोतल्ने प्रयास लेखक ड्या ब्युटेनरले गरेका छन् । उनले ‘ब्लु जोन’ को खोज गर्दै ‘पूरै विश्वमा लामो समयसम्म बाँच्नका लागि इकिगाईले सहयोग गर्ने गरेको निष्कर्ष निकालेका छन् । उनले यसका लागि जापानको अति सुदूर क्षेत्रका मानिसबारे खोजिनिती गरेका थिए । दुर्गम प्रायद्वीप लोकिनावालाई आफ्नो अध्ययनको विषयवस्तु उनले बनाएका थिए । त्यहाँ शब्ताब्दीयौंदेखि स्थानीय बासिन्दाले अनौठो आहार व्यवहारले दीर्घायु रहेको उनले पाएका थिए, त्यसमा ‘इकिगाई’ को अहम् भूमिका रहेको आफूले पाएको ब्युटेनरले बताएका छन् । 

मानव अधिकार परामर्शदाता कम्पनी ‘जिनजई केन्क्युसो’ का प्रमुख कार्यकारी अधिकृत तोसिमित्सु सोवाले भन्छन्, ‘एउटा यस्तो संस्कृति जहाँ व्यक्तिको मूल्य र मान्यता फरक–फरक हुन पुग्छ, जापानी श्रमिक त्यस्ताका लागि उदाहरणीय हुन सक्छन् ।’ ‘प्रोबिटी ग्लोबर सर्च’ सीईओ युको ताकातोका अनुसार इकिगाई अपनाएका धेरै योग्य कामदारमध्ये सबैमा एउटा कुरा समान रहेका छन्, त्यो हो तिनीहरू सबै कुनै न कुनै रूपमा प्रेरित रहेका हुन्छन् र काम गर्नका लागि जोसिला पनि । ‘यदि तपार्इं एउटा कम्पनी सुरु गर्न चाहनुहुन्छ तर तपाईंलाई आफ्नो लगानी डुब्ने खतरा लाग्छ भने पहिले त्यो काम गरेकासँग भेटेर तिनीहरूको अनुभवबाट केही सिक्नैपर्छ,’ ताकातो भन्छन्, ‘यसले तपाईमा आत्मविश्वास ल्याउँछ र तपाईं पनि त्यो काम सजिलै गर्न सक्ने अवस्थामा पुग्नुहुनेछ ।’

अन्त्यमा ‘इकिगाई’ दर्शनका प्रमुख सिद्धान्तहरूलाई लागू गर्न कठिन हुने र लामो समयसम्म काम गर्न नसकिने जस्तो सोच राख्नुहुन्न । झन्डै एक चौथाइ जापानी कर्मचारी एक महिनामा ८० घण्टाभन्दा बढी समय काम गर्छन् । अर्थात् दु:खद परिणामका साथ काम गर्छन् । कारोसीको घटनाले त्यस्तै दु:खद परिणाम जापानमा निम्त्याएको थियो । बीबीसीका अनुसार ओभरटाइम काम गर्दा एक वर्षमै दुई हजारको कारोसीमा मृत्यु भएको थियो । ‘इकिगाई’ ले कामको अतिव्यस्ताको बीच कामदारलाई उसको जीवनमा फरक खालको महसुस गर्न उद्वेलित गर्छ, कामको व्यवस्थापन गर्न पनि यसले सहयोग पुर्‍याउँछ । व्यवस्थापन विषयका प्राध्यापक एडमम ग्रान्टले आफ्नो एउटा अनुसन्धानमा मानिसले जुन काम गरिरहेको छ, त्यो अरूको भलोका लागि भइरहेको ठानेमा त्यसले धेरै फाइदा पुग्ने बताएका छन् । त्यसैले विज्ञहरूले ‘इकिगाई’ मा विविधता ल्याउन कामदार, कर्मचारीलाई सुझाएका छन् । 

(एजेन्सीहरू)

के हो इकिगाई ?

आफ्नो कार्य क्षेत्र र जीवनमा प्रगति गर्नका लागि अपनाइने एउटा जापानी अवधारणा हो ‘इकिगाई’ । जापानीहरूका अनुसार बिहानै उठ्न र जीवनको आनन्द लिनका लागि प्रत्येक व्यक्तिसँग एउटा ‘इकिगाई’ अनिवार्यजस्तै बन्दै गएको छ ।

अंग्रेजीमा यसको ठ्याक्कै अनुवाद गर्न सकिने कुनै शब्द छैन । त्यसैले यसको भावनानुवाद मात्रै गर्न सकिन्छ । ‘इकिगाई’ त्यो यस्तो शब्द हो, जसले मानिसलाई खुसीपूर्ण जीवनयापनका लागि आवश्यक पर्ने विचारलाई उत्प्रेरित गर्न सघाउने गर्छ । अति व्यवस्त जीवनमा खुसी हुने चाहना राख्नेहरूको विचारको प्रतीकका रूपमा समेत यसलाई चित्रण गर्ने गरिएको पनि पाइन्छ । 

पछिल्ला केही वर्षयता दर्जनौं उद्यमीहरू आफ्ना ‘इकिगाई’ खोज्नका लागि समय खर्चिरहेका भेटिने गरेका छन् । जापानमा ‘इकिगाई’ लाई केन्द्रबिन्दुमा राखेर एउटा भेन चित्र प्रचलनमा ल्याइएको छ । त्यसमा व्यस्त कर्मचारी या कामदारले अपनाउनैपर्ने आठ कुरालाई संकेतका रूपमा प्रस्तुत गरिएको छ । तिनीहरूको मन पर्ने विषय, जोस/उत्साह, कामलाई थप सक्रियताका साथ फत्ते गर्ने या राम्रो बनाउने कुरा, व्यावसायिकता, भुक्तानी पाउने रकम, पेसा, अभियान र विश्वको आवश्यकतालाई उक्त चित्रमा उल्लेख गरिएको छ । यी सबैलाई ‘इकिगाई’ परस्पर जोडेको देखाइएको छ ।

यीमध्ये कुनै पनि एउटाको पनि अभाव भए कर्मचारी या कामदार मात्रै हैन, सिंगो मानिसको जीवन सामथ्र्यलाई गौण गर्न सक्छ । यति मात्रै हैन, यसको अभावमा मानिसलाई सुखद जीवन यापन गर्दै दीर्घजीवी हुनबाट समेत वञ्चित गराउने सक्ने बुझाइ जापानीहरूको छ । 

प्रकाशित: श्रावण २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार