स्थानीय निर्वाचन २०७४

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा

  • कांग्रेसबाहेकका दलसँग तालमेल हुन सक्ने
  • तराई पुगेर फर्केका नेताले गरे पहिलो स्थान नै आउने ब्रिफिङ
- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २३, २०७४- प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताहरूले केन्द्रलाई रिपोर्टिङ गरेका छन् ।

‘राजपाले चुनावमा आउने/नआउने अझै स्पष्ट गरिसकेको छैन तर उसलाई चुनावमा ल्याउनुपर्छ भनेर हामी पनि लागिरहेका छौं,’ प्रदेश २ को चुनावी माहोल बुझेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘चुनावमा आउने भयो भने स्थानीय आवश्यकताअनुसार राजपासँग पनि तालमेल गरेर जान सकिन्छ ।’ प्रमुख प्रतिस्पर्धी दल भएकाले कांग्रेससँगको तालमेलको सम्भवना नरहेको तर अन्य जुनसुकै दलसँंग मिल्ने सक्ने एमालेको धारणा छ । राजपासंँगको सम्बन्ध सुधारका लागि एमाले नेताहरूले उनीहरूसँग औपचारिक छलफल जारी राखेका छन् ।

राजपा चुनावमा नजाँदा तराईमा लोकतान्त्रिक शक्ति नै कमजोर हुने भन्दै बहिष्कारको बाटोमा नजान एमाले नेताहरूले सुझाव दिइरहेका छन् । राजपाले उठाएको संविधान संशोधनलगायत विषयलाई चुनावपछि सम्बोधन गर्न सकिने उनीहरूले आश्वासन दिइरहेका छन् । विशेष गरी कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राजपालाई चुनावमा सहभागी हुन नदिने षड्यन्त्र गरिरहेको भन्दै एमाले नेताहरूले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन् । अध्यक्ष केपी ओलीले गत साता एक सार्वजनिक कार्यक्रमबाटै राजपा नेतालाई चुनावमा सहभागी हुन नदिन कांग्रेसले नै 
षड्यन्त्र गरिरहेको र यो बुझेर चुनावमा आउन राजपा नेताहरूलाई ध्यानाकर्षण गराएका थिए ।

एमालेको प्रदेश २ को प्रारम्भिक चुनावी रिपोर्टिङअनुसार यसअघिका दुई चुनावजस्तै बहुमत स्थानमा जित्ने दाबी नेताहरूले गरेका छन् । महासचिव ईश्वर पोखरेललगायत केन्द्रीय पदाधिकारीलाई जिल्ला नै तोकेर प्रारम्भिक चुनावी तयारी र स्थानीय स्थितिबारे अध्ययन गर्ने जिम्मा दिइएको थियो । उनीहरूले त्यहाँ पुगेर भेला र बैठकहरू गरेका थिए । पार्टीको अवस्था अधिकांश स्थानमा पहिलेको भन्दा सुध्रिएको र बहुमत स्थान जित्ने आधार तयार भइसकेको आकलन उनीहरूले गरेका छन् । 

उम्मेदवारी चयनमा ख्याल गर्नुपर्ने र आवश्यकताअनुसार उचित तालमेल गर्न सक्दा अझै बढी सिटमा विजयी हुन सक्ने एमाले नेताहरूले आकलन गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा प्रदेश २ पुगेर फर्केका नेताहरूले ब्रिफिङ गरिसकेका छन् । त्यही आधारमा थप रणनीति बनाइने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘महासचिव नेतृत्वको टोलीले दिएको रिपोर्टका आधारमा अब थप कार्यक्रम लिएर एमाले तराई क्षेत्रको चुनावमा अझै सक्रिय रूपमा लाग्नेछ,’ श्रेष्ठले भने ।

प्रदेश २ को चुनावमा सन्देश दिन स्थानीय कार्यक्रमहरूमा एमालेले अन्य दलका नेता–कार्यकर्तालाई आफ्नोमा प्रवेश गराइरहेको छ । राजपा, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय नेतालाई नै एमालेले प्रवेश गराउने तयारी गरेको छ । कुन दलका कुन नेता प्रवेश गराउने भन्ने उनीहरूले स्पष्ट बाहिर ल्याएका छैनन् । तर, यसै साता मधेसकेन्द्रित दलका उच्चस्तरका नेतालाई भित्र्याउने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

यसअघि एमालेले स्थानीय तहको दोस्रो चुनावअघि राजपाकै कोषाध्यक्ष रहेकी अनिता यादवलाई भित्र्याएको थियो । प्रदेश २ को चुनावलाई सन्देश दिने उद्देश्यले नै मधेसी नेताहरूलाई ल्याउने प्रयास गरिएको हो । माओवादी, नयाँ शक्तिमा गएका मधेसका पूर्वएमाले नेताहरूलाई पनि फर्काउने पहल भइरहेको पार्टी स्रोतको भनाइ छ ।

प्रकाशित: श्रावण २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार