प्रवास

देश बिकासमा लगानी गर्न गैर आवासीय नेपालीलाई माधव नेपालको आग्रह

- नारायण खड्का, अष्ट्रेलिया

श्रावण २२, २०७४- पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बिकासका लागि लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।
 
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा एमाले नेता नेपालले अधिकारका कुराहरु धेरै भइसकेको बताउँदै अब देशका लागि कर्तब्य निर्वाह गर्नुपर्ने बेला आएको जिकिर गरे । 

आफ्नो देशको बिकासका लागि कृषि र पर्यटन लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने सुनाउँदै नेपालले यस क्षेत्रहरुमा लगानी बढाउन र सहयोग गर्न एनआरएन लगायतका विदेशमा रहेका संस्थाहरुलाई आग्रह समेत गरेका थिए । 

‘प्रवासमा रहेका तपाईहरुको पनि देश निर्माणमा महत्वपूर्ण भुमिका हुन्छ' नेपालले भने, 'तपाईहरुको लगानी र सीप कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगाउनुस ।’

नेता नेपालले अब देश बिकास एजेण्डामा सबै राजनीतिक दलहरु एकजुट हुनुको बिकल्प नभएको बताए । नेपालले सबै राजनीतिक दलका आफ्नै एजेण्डाहरु भएपनि देश बिकास कार्यक्रमहरुमा प्राथमिकताका आधारमा एकजुट भएर अघि बढ्नुपर्ने आवश्यक्ता औल्याए । नेपालमा सरकार फेरिरहने प्रवृत्तिले समेत देश बिकासमा अपेक्षित काम हुन नसकेको उनले सुनाए ।
 
कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्र निर्माणका लागि अष्ट्रेलिया आइपुगेका महावीर पुनले आविश्कार केन्द्रको निर्माणका लागि आग्रह गरेका थिए । देश अनुसन्धान र अन्वेशनबिना बिकास हुन नसक्ने दाबी गर्दै उनले यस्ता परियोजना सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका थिए । उनले समय, धन र सीप दिएर सहयोग गर्न आग्रह गरे । 

कार्यक्रममा राजदुत लक्की शेर्पा, वाणिज्यदुत दीपक खड्का, एनआरएन अध्यक्ष टोनु घोताने, उपादक्ष्य नन्द गुरुङ लगायतका बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

प्रकाशित: श्रावण २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार