विचार/विश्‍लेषण

स्वाइन फ्लुबाट जोगिन सावधानी

- सम्पादकीय

श्रावण २२, २०७४-स्वाइन फ्लु (एच१एन१) को संक्रमणका कारण मृत्यु भएकाहरूको संख्या थपिँदै जाँदा सन्त्रास पनि फैलँदै गएको छ । पछिल्लो समय सघन बसोबास रहेको राजधानीसँगै पोखरा, पाल्पा, स्याङ्जा र झापामा स्वाइन फ्लुबाट संक्रमित बिरामी पहिचान गरिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्याङ्जाको वालिङमा यो संक्रमण प्रकोपकै रूपमा रहेको जनाएको छ । संक्रमणको त्रासका कारण त्यहाकाँ विद्यालय नै एक साताका लागि बन्द गरिएका छन् । एक प्रकारको मौसमी रुघाखोकी स्वाइन फ्लुले हेलचेक्रयाइँ गर्दा ज्यानै जाने र प्रकोपका रूपमा फैलन सक्ने जोखिमसमेत रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने खाँचो देखिएको छ । 

केही चिकित्सकका अनुसार यसपालि स्वाइन फ्लु पहिलेभन्दा कडा रूपमा देखिएको छ र तीव्र रूपमा फैलिइरहेको छ । संक्रमितहरू छोटो समयमै बढी सिकिस्त हुने गरेका छन् । केही संक्रमितमा त दुई–तीन दिनमै फोक्सो बिग्रन थालेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष (सन् २०१७) मा बिहीबारसम्म एच१एन१ भाइरसका कारण छ जनाको मृत्यु भइसकेको छ । शनिबार मात्रै पनि राजधानीमा उपचाररत पाल्पाका एक जनाको मृत्यु भएको छ । स्वाइन फ्लु संक्रमण करिब सय जनामै पहिचान भइसकेको छ भने कतिपयको भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ । आफूलाई सामान्य रुघाखोकी लागेको ठानेर बेलैमा अस्पताल नपुग्दा अधिकांशको ज्यान गएको पाइएको हो । मौसम फेरबदल (जाडोबाट गर्मी, गर्मीबाट जाडो) का बेला रुघाखोकी लाग्नुलाई सामान्य मान्ने गरिएको छ । तर यस्तो रुघाखोकी स्वाइन फ्लुले गर्दा भएको स्थितिमा विभिन्न प्रकारको जटिलता देखिने गरेको छ । जानकारी अभावले संक्रमितलाई औषधि र उपचार सर्वसुलभ नहुनु पनि मृत्युको कारण बनिरहेको हुन सक्छ । 

मौसमी रुघाखोकीअन्तर्गतको स्वाइन फ्लुलाई सर्वसाधारण र सरकारी निकायले सामान्य रूपमा लिनु हुँदैन । यसलाई प्रकोपका रूपमा फैलन नदिन सर्वसाधारणलाई विभिन्न माध्यमबाट सचेत गराउन आवश्यक देखिएको छ । चिकित्सकका अनुसार रुघाखोकीको समस्या भएकाहरूमा सास फेर्न असजिलो हुनु स्वाइन फ्लुको चेतावनीको संकेत हो । सामान्य रुघाखोकीमा झैं नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु, तीव्र ज्वरो देखिनु, पखाला लाग्नु, बान्ता हुनु, अत्यधिक थकाइ लाग्नु स्वाइन फ्लुका सामान्य लक्षण हुन् । सामान्य रुघाखोकी र स्वाइन फ्लु आफैं पहिचान गर्न मुस्किल पर्ने भएकाले यस्ता लक्षण देखिनासाथ चिकित्सकलाई भेट्नुपर्छ । मुटु, मिर्गौला, स्नायुरोगी, दम, मधुमेह, क्यान्सर, क्षयरोग भएका, मद्यपान गर्ने, मोटोपना तथा बूढापाका, पाँच वर्षमुनिका बालबालिका र गर्भवती स्वाइन फ्लु संक्रमणको बढी जोखिममा हुन्छन् । सामान्य रुघाखोकीको अन्य भाइरससँगै एच१एन१ भाइरस हाच्छिउँ गर्दा, रोगीले छुँदा, आमनेसामने कुरा गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने हो । त्यसैले सजगता अपनाइएन भने सघन बसोबास भएको क्षेत्रमा यसले महामारीकै रूप लिन सक्छ । 

स्वाइन फ्लु नियन्त्रणका लागि ‘एन्टिभाइरलु औषधि प्रयोगमा छन् । तर त्यस्ता औषधि सर्वसुलभ छैनन् । एन्टिभाइरल सरकारी निकायमा मात्र चिकित्सकको सिफारिस हेरेर दिने गरिन्छ । स्वाइन फ्लुका बिरामीलाई जतिसक्दो छिटो उपचार गराउनुपर्छ । उपचारमा जति ढिलो भयो, निको हुने सम्भावना उति कम हुँदै जाने भएकाले बरु निश्चित मापदण्ड निर्धारण गरेर एन्टिभाइरल औषधिलाई सरकारले सर्वसुलभ बनाउन जरुरी छ । स्वाइन फ्लु कडा रूपमै देखिन थालेको र मानिसको मृत्यु हुने क्रम जारी रहेकाले सम्बन्धित सरकारी निकायबाट यसको गहन अध्ययन, अनुसन्धान गर्न आवश्यक देखिएको छ । अध्ययन–अनुसन्धानले जोखिम क्षेत्र पहिचान र उपचार पद्धति सुधारमा मद्दत गर्न सक्छ । तत्कालका लागि प्रकोपका रूपमा देखिएको स्याङ्जाको वालिङमा संक्रमण नियन्त्रण, संक्रमित बिरामी पहिचान र उपचारका लागि विशेषज्ञसहितको टोली परिचालन गर्न आवश्यक छ ।

प्रकाशित: श्रावण २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार