कुराकानी

'दूतावासका टेलिफोनलाई आदेश मानेर शिरोधार्य गर्न केपी ओली सक्दैन'

श्रावण १५, २०७४-

स्थानीय तहका पहिलो र दोस्रोपछि तेस्रो चरण चुनावको तयारीमा दलहरु छन्। राष्ट्रिय जनता पार्टी भने संविधान संशोधन नभई सहभागी नहुने अडानमा छ, उसलाई मनाउन सत्तारुढ घटकहरुले संशोधन गराउने जमर्को गर्दै आएका छन्। महिनौंदेखि त्यसलाई प्रमुख प्रतिपक्षी एमालेले छेक्दै आएको छ। कारणबारे अध्यक्ष केपी शर्मा ओली भन्छन्, ‘पहाड र मधेस छुट्याउने संशोधन घातक छ।’ प्रस्तुत छ– एक साता कैलाश मानसरोवरको तीर्थाटनसँगै तिब्बतको राजनीतिक यात्रा पूरा गरी शुक्रबार फर्केका ओलीसँग समसामयिक विषयवस्तुमा अखण्ड भण्डारी र बालकृष्ण बस्नेतले गरेको कुराकानी– 

.......

भर्खरै तिब्बतबाट फर्किनुभएको छ, भ्रमण खास केका लागि थियो? 

हिन्दु र बुद्धमार्गीका लागि उत्तिकै पवित्र मानिएको कैलाश पर्वत–मानसरोवर पुग्न मानिसहरू बडो कष्ट उठाउँछन्। मानसरोवर धेरै सभ्यताको उद्गमस्थल पनि हो। ब्रह्मपुत्र तिब्बत हुँदै जान्छ र बंगालको खाडीमा मिसिन्छ। सिन्धु नदी त्यहींबाट निस्कन्छ। हाम्रो कर्णाली त्यसकै वल्लो डिलबाट सुरु हुन्छ। त्यसैले मानसरोवरमा त्यस्तो ऐतिहासिकता र आकर्षण के छ भनेर पहिल्यैदेखि खुलदुली थियो। र, एकपल्ट जाउँजस्तो लागेको थियो। कुरैकुरामा अचानक कार्यक्रम बन्यो, गइयो। 

अलि राजनीतिकजस्तो पनि देखियो नि?

मानसरोवर यात्रामा जाँदा हाम्रो परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासलाई जानकारी दिनुपथ्र्यो। दिइयो। त्यसले स्वाभाविक रूपमा राजनीतिक भेटघाट र कुराकानीमा पनि बदल्ने भयो। भयो पनि त्यस्तै। अनि, कैलाश र मानसरोवर यात्रा तिब्बत यात्राजस्तो बन्न गयो।

राजनीतिक भेटघाटचाहिँ कुन तहको भयो? 

सर्वोच्च तहमै भयो। तिब्बत जनसरकारका प्रमुख, जनकांग्रेसका प्रमुख र पार्टीका उपप्रमुख (प्रमुख 

बाहिर भएकाले) सँग भेटवार्ता भयो। सबैतिर भव्य स्वागत–सत्कार गरियो। 

भेटवार्ताका विषयवस्तु के–के थिए? 

हाम्रो उत्तरतिर पूर्वदेखि पश्चिमसम्म चीनसँग जोडिएको १४ सय किलोमिटर भूभाग तिब्बत क्षेत्रमा पर्छ। त्यसैले भेटवार्ता द्विपक्षीय हित र सरोकार केन्द्रित थियो। उहाँहरूको यसमा धेरै सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया पाएँ। उदाहरणका लागि किमाथांका, ओलङचुङगोला, तातोपानी हुँदै केरुङ नाकासम्म तिब्बतको सिगात्से प्रिफेक्सनभित्र पर्छन्। यी नाका व्यवस्थित ढंगले सञ्चालन गर्ने र आवश्यक पूर्वाधार निर्माणबारे उहाँहरूको राम्रो रुचि पाइयो। सम्बन्ध विकास र सहयोग गर्न उहाँहरूको खुला दिलको तत्परता छ। 

तातोपानी नाका पुन: सञ्चालनबारे कुनै प्रसंग उठ्यो?

भव्यतासाथ कुरा उठ्यो। मैले तातोपानीको बाटो नेपाल र चीनबीचको ऐतिहासिक, पहिलो र अति जरुरी हो, यसलाई जसरी पनि सुचारु गर्नुपर्छ भनें। उहाँहरूले भूकम्पले चर्काएका पहाडहरूको भौगोलिक र भूगर्भीय सर्वेक्षण गर्दै छौं, सकेसम्म छिट्टै सक्छौं र सम्भव भएसम्म चाँडै सुचारु गर्छौं भन्नुभएको छ। तर, ३–४ वर्षभित्रै उताको रेल केरुङको सिमाना छेउसम्म आउने भएकाले हामीलाई त्यो मात्र बढ्ता अनुकूल हुने उहाँहरूको सुझाव छ। त्यसका लागि केरुङबाट काठमाडौंसम्म सडक विस्तार र सुरुङमार्ग निर्माणमा परिचर्चा भयो। 

अर्थात्, तपाईंको नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयनसँग यो भ्रमणलाई जोड्दा हुन्छ? 

त्यस्तै अलिकति हुन गयो अहिले। मैले त्यतिबेलाका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउनुपर्छ भनें। उहाँहरूको त्यो कार्यान्वयनमा उत्साह देखिन्छ। बढी लाभ हामीलाई हुन्छ। उहाँहरूले पैसा तिरेर, बाटो बनाइदिएर उहाँहरूलाई के–के न हुने होइन। हामीलाई ठूलो कुरो हुन्छ। हाम्रामा रेल स्थापना गरिदिएर उहाँहरूलाई ठूलो लाभ त भइहाल्ने होइन, त्यसभन्दा बढी हामीलाई लाभ हुन्छ। हामी विकासमा फड्को मार्छौं। उहाँहरू यसमा निकै उत्सुक र सहयोग गर्न तत्पर देखिनुहुन्छ। 

त्यसपछि बनेको सरकारले उक्त सम्झौतालाई कत्तिको अघि बढाएको उहाँहरूको मूल्यांकन पाउनुभयो? 

त्यसबारे मैले उहाँहरूसँग सोध्न पनि मिलेन। मैले आफूले कुनै टिप्पणी गर्न पनि मिलेन। औपचारिक सीमाभित्र बसेर कुरा गर्नुपर्‍यो। तैपनि उहाँहरूको छिटो गर्ने जुन मनसाय र तदारुकता झल्कन्थ्यो, सोचेजस्तो नभइरहेको अनुभूति गरेको हो कि जस्तो अनुमान गर्न सकिन्थ्यो।

बेला न कुबेला तपाईं किन ‘उत्तर’ तिर जानुभयो भन्ने प्रश्न पनि सुनियो, किन होला? 

केही अघि म पेटको अपरेसन गराउन बैंकक गएँ। यहाँ केही घटिया तत्त्वहरूले ‘र’ को मान्छेलाई भेट्न गएको पनि भने। कम्तीमा यति त थाहा पाउनुपर्ने हो– एउटा देशको एउटा संस्थाको कोही मान्छेलाई भेट्न विदेश–विदेशसम्म केपी ओली कुद्दैन। चाकडी बजाउन दूतावास–दूतावास धाउने वा दूतावासको कर्मचारीका टेलिफोनलाई आदेश मानेर शिरोधार्य गर्ने वा कुनै निकायका व्यक्तिसँग भेट्न लुकेर विदेश जाने– त्यस्ता सोच र क्रियाकलापभित्र केपी ओली हुँदैन भन्ने सबै नेपालीलाई थाहा छ। त्यस्तो हल्ला चलाउने स्रोत र त्यसका बाहकलाई पनि त्यो थाहा नभएको होइन। यस्तो हल्ला परिकल्पना र षड्यन्त्र मात्र हो। यसपल्ट पनि मैले कुनै ‘गोप्य’ गर्नुपर्ने कुरै थिएन र छैन। 

नेपाल–चीन–भारत त्रिदेशीय सम्बन्धबारे कुनै प्रसंग उठ्यो? 

त्रिदेशीय सम्बन्धबारे मैले कुरा गरिनँ। चीन–भारत सीमा क्षेत्रमा तनाव–तनाव छ। कसको जायज, कसको नाजायज हो, बलियाहरूको कुरामा हामीलाई प्रवेश गरिहाल्नुपर्ने जरुरी छैन। त्यसैले अरू कुरा चल्नु/चलाउनु आवश्यक पनि ठानिनँ। 

अब स्वदेशतिरै आऔं। राजपा संविधान संशोधन नभई चुनावमा जाँदैनौं भनिरहेको छ, प्रदेश २ चुनाव प्रभावित हँ‘दैन?

प्रदेश नम्बर २ को चुनाव असोज २ गते हुन्छ। अर्को कुनै बाटो छैन।

माघ ७ भित्र केन्द्र र प्रदेशको चुनाव गराउन सम्भव छ कि छैन?

गर्नैपर्छ। कुनै पनि हिसाबले प्रतिनिधिसभाको निर्वाचन माघ ७ भित्र भएन भने माघ ८ गतेउप्रान्त अहिलेको रूपान्तरित व्यवस्थापिका संसद् रहँदैन। त्यो नरहेपछि सरकार पनि रहँदैन। संसद् सदस्य नरहेपछि प्रधानमन्त्री पनि पदमा रहन सक्दैनन्। प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा गएको अवस्था भए प्रधानमन्त्री कामचलाउ हुन्थ्यो। त्यस्तो पनि हुँ‘दैन। तसर्थ निर्वाचनको कुनै विकल्प छैन। 

संविधान संशोधन म्याद थप्ने चर्चा पनि सुनिन्छ नि?

दुनियाँमा कहीं पनि आफ्नो तोकिएको कार्यकालभन्दा बढी आफैंले म्याद थप्ने कुरा संवैधानिक, कानुनी, नैतिक, राजनीतिक कुनै पनि हिसाबले गर्न मिल्दैन। मिल्ने भए त मान्छे बाँचुन्जेल सांसद भइहाल्छ। यो बाध्यकारी र अपरिहार्य व्यवस्था हो। 

समय थोरै छ, दुवै चुनाव समयमै सक्ने उपाय के–के हुन सक्छन्?

प्रतिनिधिसभा र प्रदेशका दुवै चुनाव एकैचोटि गर्दा हुन्छ। प्रदेशको चुनाव पछाडि सार्न‘ राम्रो होइन। तर, प्रतिनिधिसभा नहँ‘दा जुन संवैधानिक संकट तत्काल आइलाग्छ, सरकारविहीनताको अवस्था हुन्छ। समयमा चुनाव नहुँदा राजनीतिक संकट ल्याउनेछ। त्यसपछि संविधानले काम गर्न सकेन भन्ने अथ्र्याइन्छ। नेपालमा केहीले पनि काम गर्न सकेन भन्ने पार्न खोजिन्छ। जस्तो पहिलो संविधानसभालाई असफल पारियो। असफल पारेकै हो। दोस्रो संविधानसभालाई असफल पार्न खोजियो। त्यसका निम्ति हुनसम्मका जोडजुलुम भए। एउटा बिन्दुमा पुगेर तयार भइसक्दा पनि संविधान बन्न नदिने प्रयास खुलेआम जारी रहे। संविधान हामीले ल्यायौं। त्यसलाई कार्यान्वयन हुन नदिने अर्को प्रयास सुरु भएको छ। 

भन्नाले? 

यदि निर्वाचन नगराउने हो भने संविधानले व्यवस्था गरेका संरचनाले प्रक्रियामार्फत् पूर्णता पाउँदैनन्। अनि, त्यहाँ रिक्तता हुन्छ। त्यो रिक्तता अरू कसैले भर्न खोज्छ। त्यो स्वाभाविक हो। अर्को एउटा पक्ष– केही मान्छे स्वच्छ छैनन्। तिनका समर्थकले बचाउ गर्न ‘सबै उस्तै हुन्’ भनिदिन्छन्। कसैले तिम्रो नेता यस्तो भनिदियो भने तिम्रो पनि उस्तै हो भनिदिनुपर्‍यो। त्यसैले फच्चे गराउने तरिकाले पनि कुरा उछाल्छन्। 

समाधानका उपाय के त? 

यसमा कसैले पनि हल्काफुल्का ढंगले नलिनु वाञ्छनीय हुन्छ। लोकतान्त्रिक प्रणालीको प्राप्तिका निम्ति नेपाली जनताले लामो, बलिदानपूर्ण र कष्टपूर्ण संघर्ष गरेका छन्। यसमा हाम्रा अग्रजले संघर्ष गरेका छन्। हामी आफैंले पनि आधा शताब्दीको सेरोफेरो संघर्ष गरेका छौं। अहिलेको अवस्थाको सुरक्षा र त्यसलाई पूर्णता दिने कुरामा आफूलाई समर्पित गर्नुपर्छ। सार्वजनिक खपतका लागि प्रयोग गरिने धूर्त शब्दावलीले यो काम लाग्दैन। पार लगाउन इमानदार प्रयास हुनुपर्छ। संक्रमणकाल टुंग्याउनुपर्छ। त्यो टुंग्याउन निर्वाचनका माध्यमबाट संविधानले व्यवस्था गरेका संरचना गठन गरिनुपर्छ। त्यसो भएन भने हाम्रो पुस्ता अयोग्य भयो भनेर थाहा पाउनुपर्छ। 

के संविधानको सर्वस्वीकार्यता हुन नसकेको हो? 

कतिपय राजनीतिक नेताहरू कहिले संविधानको सर्वस्वीकार्यता भन्छन्, कहिले सर्वग्राह्यताका कुरा गर्छन् तर अरू कसैका इच्छा बोल्छन्। कसैका उद्देश्य बोक्छन्। यो किन गर्छन् त? दुइटा कुरा छन्– अर्थ प्राप्त गर्नुपर्‍यो र शुभलाभ गर्नुपर्‍यो। संविधान विफल पार्न चाहनेहरूले ‘रातारात’ र ‘अचानक’ आएको भन्छन्। २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। २०७२ असोज ३ गते संविधान जारी भयो। करिब ९ वर्ष लाग्यो। यत्रो समय लगाएर बनाएको संविधान कसरी ‘रातारात’ र ‘अचानक’ हुन्छ? कसैले रेडिमेड संविधान फुत्त निकालेको हो र? के एक रातमा बनेको संविधान हो यो? संविधानलाई होच्याउने, अपमान गर्ने, निर्माण प्रक्रियालाई अपमान गर्ने– सबै प्रयास भए। भइरहेका छन्। 

प्रतिगमनकारी सल्बलाएजस्तो लाग्दैन?

कसैले दुई–चारवटा चटके कुरा गरेर आफूलाई ‘महान् सक्षम’ भनी हाउभाउ गर्न खोज्छन्। कतिपय लोकतान्त्रिक प्रणालीविरुद्ध सोझै बोल्न सक्दैनन्। जनताले विस्थापित/अस्वीकार गरिसकेका र पन्छाइसकेका हिजोका असान्दर्भिक संस्था वा प्रणाली फेरि फर्काउने मनसाय हुन्छ तिनीहरूको। त्यो भन्न नसकेपछि अहिलेका नेता वा प्रणालीको आलोचना गरेर त्यसका निम्ति वातावरण अनुकूल बनाउन सकिन्छ कि भनी ठान्छन्।

नेताहरूमा पदलोलुपता बढेको स्विकार्नुहुन्छ? 

मानसिकता कस्तो छ भने– केही मान्छेलाई कति भए पनि पदले नपुग्ने। जति समय भए पनि पदले नपुग्ने। पदमा बसिरहूँ, पदमा बसिरहूँ, पदमा बसिरहूँ– यो सामन्तवादको एउटा प्रवृत्ति हो। ५ वर्ष भए पनि पुग्दैन, १० वर्ष भए पनि पुग्दैन, १५ वर्ष भए पनि पुग्दैन, जति वर्ष भए पनि पुग्दैन। हामी जन्मसिद्ध पाखण्डी प्रणाली राजतन्त्रमा पनि छैनौं, हामी त लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं। तर, मान्छेलाई ५ पल्ट भएर पनि प्रधानमन्त्रीले पुग्दैन। कति बस्नुपर्ने हो?

राजपालाई कांग्रेसले उपयोग गर्‍यो भन्दै आउनुभएको छ, आधार के छन्? 

गंगा बुझ्नलाई गया मात्र बुझेर हँ‘दैन। गंगोत्रीदेखि बंगालको खाडीसम्म नियाल्नुपर्छ। यतिबेला यस्तो गलत ढंगले राजपालाई प्रयोग गरिएको छ र, उहाँहरू फस्दै–फस्दै–फस्दै जानुभएको छ। कांग्रेसले दोस्रो चरणको निर्वाचनसम्म राजपालाई चुनावबाट बाहिर राख्यो। अब तेस्रो चरणमा पनि राख्न चाहन्छ। कांग्रेसले उहाँहरूलाई बाहिर राख्नसके त्यो भोट आफूतिर आउँथ्यो कि भन्ने आस पनि होला। एमालेविरुद्ध त तराई–मधेसमा व्यापक भ्रम फिँजाउन कोसिस गरेकै छ। राजपा चुनावमा आयो भने उसले भोट लान्छ, आएन भने जितिन्छ भन्ने आस होला। त्यसैले सकेसम्म नआओस् भन्ने कांग्रेसको विश्लेषण हुन सक्छ। यो कुरा मैले होइन, राजपाकै नेताहरूले भनिसक्नुभएको छ। 

तर राजपा आफैं चुनावमा नआउने कुरा गरिरहेको छ त?

उहाँहरूले आफ्नो निर्णय आफैं गर्न थाल्दा राम्रो हुन्थ्यो। कांग्रेसले पटक–पटक उहाँहरूसँग सम्झौता गर्‍यो। हामीले गरेको होइन। कांग्रेसले कुनै पनि सम्झौता पालना गरेन। बरु उल्लंघन गर्‍यो। हामीले केही गरेको छैन। हामीले जे गर्‍यौं, त्यही कुरा कांग्रेसले फेरि गर्छ‘ भन्छ पछि। उहाँहरू पछि लाग्नुहुन्छ। जस्तो, तराईमा त्यति धेरै मान्छे मारिए। घाइते भए। मेरो नेतृत्वको सरकार थिएन। मेरो नेतृत्वमा सरकार बनेपछि मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइयो। घाइतेहरूको उपचारका लागि बन्दोबस्त गर्‍यौं। म हटेपछि उहाँहरूलाई सन्तोष भयो, किनकि मविरुद्ध भोट हाल्न पनि आउनुभएको थियो। संविधान बनाउन नमानेर बाहिर जानुभयो। त्यही संविधानअन्तर्गत प्रधानमन्त्री चुन्न भने दौडेर आउनुभयो। मलाई हटाउन पनि उहाँहरू दौडेरै आउनुभयो, भोट हाल्न। यसले उहाँहरूको गतिविधिको राजनीतिक अर्थ तथ्यपरक देखिँदैन। अरूका स्वार्थ बोकेर, अरूको उद्देश्य बोकेर भन्दा आफ्नो साझा स्वार्थ के हो, त्यता केन्द्रित हुन सकेको भए राम्रो हुन्थ्यो भन्ने शुभेच्छा मात्र हो।

कांग्रेसप्रति किन यति धेरै नकारात्मक हुनुभएको? 

कांग्रेसको विगत राम्रो छैन। २००७ सालको परिवर्तनपछि मिल्नुपर्ने शक्तिसँग, सामन्तवादीविरोधी शक्तिहरूसँग, प्रगतिशील शक्तिहरूसँग, देशलाई अघि बढाऔँ भन्ने शक्तिहरूसँग कांग्रेस मिल्न चाहँदैन। बरु वैरभाव राख्ने, त्यसलाई आफ्नो महान् राजनीति ठान्ने गलत नीतिको सिकार हँ‘दै आएको छ। त्यही मौका २०१७ सालमा राजा महेन्द्रलाई प्राप्त भयो र उनले जनप्रतिनिधिको सरकारलाई हटाए। त्यतिबेला २ तिहाइ सिट ल्याएको कांग्रेस, त्यसबाट बनेको सुदृढ सरकारलाई अपदस्थ गरेर टुँडिखेलबाट सुन्दरीजलमा थुन्न लाँदा एउटा मान्छे सडकमा निस्केर विरोध गरेन। कांग्रेसका नेताहरू आफैं भन्छन् त्यसबेला त जनताले दीपावली गरे भनेर। तर टाउकामा हालिन्छ कम्युनिस्टलाई। त्यतिबेला कम्युनिस्ट कति थिए र? कुन कुन कम्युनिस्ट नेताले दीपावली गरे? नाच्न जान्दैन आँगन टेडो भनेको यही हो। त्यस्तै, पञ्चायतविरुद्ध मिलेर जाऔं भनेर पुष्पलालले प्रस्ताव गर्दा कांग्रेसले राजाको लात खान तयार हुन्छौं, कम्युनिस्टसँग मिल्दैनौं भन्यो। र, ३० वर्ष राजाको लात खाएरै बस्यो। २०४६ को आन्दोलनमा वामपन्थीहरूको प्रस्तावलाई गणेशमानजीको जोडमा बल्ल मिलेर लड्न तयार भयो र हामी पञ्चायत ढाल्न सफल भयौं। त्यसपछिको चुनावमा कांग्रेसले बहुमत ल्यायो। अत्यन्त उन्माद देखियो। २०४६ सालको आन्दोलनमा सँगै लडेको एमालेका ३० हजार कार्यकर्तालाई साढे ३ वर्षको अवधिमा साना–ठूला मुद्दा लगाइयो। कुनै जिल्ला छैन, जहाँ एमालेका कार्यकर्ताविरुद्ध मुद्दा नचलाइएको होस्। हिंसा कहीँ भएको होइन, शान्तिपूर्ण आन्दोलन पनि कांग्रेसले देखिसहेन। 

कांग्रेसलाई संविधानसभाको दोस्रो चुनावपछि संविधान बनाउन हामीले सरकारको नेतृत्वमा पुर्‍याउन समर्थन गर्‍यौं। उससँग बहुमत थिएन। कांग्रेसले हामीलाई संविधान बनेपछि समर्थन गर्छौं भन्यो। यो उसको आफ्नै प्रस्ताव थियो। तर, संविधान भरसक नबनाउन खोज्यो। हामीले संविधान बनाउन दबाब दियौं। बाध्य पार्‍यौं। त्यसपछि संविधान जारी भयो। तर, उसले इमान छाड्यो। र, अर्को सिद्धान्त प्रतिपादन गर्‍यो– अब प्रमुख पार्टीहरू मिल्नु हुँदैन भन्न थाल्यो। अनि उसले एमालेबाहेकका शक्तिलाई लिएर एमालेविरुद्ध मोर्चाबन्दी गर्ने नीति लियो। किष्किन्धाका बाँदरहरूसँग मित्रता गरेर रावणसँग लड्न सकिएला, रामसँग सकिँदैन। यो कुरा कांग्रेसले बुझे हुने हो। 

एमालेसँग सम्बन्ध नराख्दैमा कुनै पार्टी ‘खराब’ भइहाल्छ र?

देशलाई ‘असोज १८’ मा कसले पुर्‍यायो? ‘माघ १९’ कसले ल्यायो? जनयुद्धका नाममा माओवादी हिंसाको वातावरण कुन सरकारले बनायो? देशका उद्योगधन्दाहरू कमिसनका भरमा निजीकरणका नाममा कौडीको मोलमा बेचेर देशको अर्थतन्त्र उसले कहाँ पुर्‍यायो? यसले देशलाई कति फाइदा भन्ने तथ्यांक कांग्रेसका अर्थशास्त्रीहरूले देखाउनुपर्‍यो। निजी क्षेत्रलाई प्रोत्साहन गरियो कि भ्रष्ट बनाइयो? कांग्रेसले यस्तैखालका काम गर्दै आएको छ।

अर्को प्रसंग, संविधान संशोधन गर्नै नदिने एमाले ढिपीको कारण के हो? 

संविधानमा कतिपय कमजोरी होलान्। दुनियाँका सबै संविधान संशोधन हुन्छन्। तर, अहिले कार्यान्वयन गर्न‘ कता हो कता, ५ नम्बर प्रदेशको तराई र पहाड छुट्याउने रे। त्यतातिर मोडेर संविधान कार्यान्वयन रोक्नु कुनै हालतमा राम्रो होइन। पुष्पकमल दाहालजीले जतिसुकै भने पनि उहाँले जनयुद्धका नाममा गरेका कामले नेपालमा भौगोलिक विद्वेष बढाउने, क्षेत्रीय साम्प्रदायिकतायुक्त, जातीय, धार्मिक सद्भाव भड्काउने, हाम्रो सभ्यता, संस्कृतिमाथि हमला गर्नेजस्ता कार्यले प्रोत्साहन पाएका छन्। त्यहींबाट नेपाली राष्ट्रिय एकता, गौरव, विविधता, संस्कृति र स्वाभिमानमाथि हमला सुरु गरियो। अहिले चहर्‍याइरहेको हाम्रो घाउ त्यही हो। 

स्थानीय तहको चुनावमा सोचेजस्तो परिणाम नआएको एमालेले समीक्षा गरेको पाइयो, हो? 

अवश्य नै। हामीले सोचेजस्तो आएको होइन। कमीकमजोरी देखिएका छन्। कांग्रेस के हो, त्यो पनि हामीले प्रस्ट्याउन सकेनौं। आफू के हो, त्यो पनि भन्न सकेनौं। आन्तरिक व्यवस्थापनमा पनि कमजोरी भए। अन्तर्घातका कुरा पनि आए। हामी समीक्षा गरिरहेका छौं। 

तपाईंले कांग्रेसलाई ‘अझै भोट दिइरहेका छन्’ भन्ने टिप्पणी गर्नुभएको थियो, त्यसो भन्न पाइन्छ? 

मैले कुनै फरक ढंगले भनेजस्तो गरेर मान्छेहरूले बुझे। तर, मैले ठीक भनेको हँ‘। एकादेशको कहानी, दन्त्यकथाजस्तो पार्टी भएको छ कांग्रेस। यसको न कुनै विचार, नीति, उद्देश्य वा आदर्श छ, न देशवासी र देशका समस्याप्रति चिन्ता नै। उहिले नै लटरम्म फलेको आँपको बूढो रूख थियो होला। उहिले ग्रीष्म ऋतुहरूमा स्वादिष्ट फल दिएको हँ‘दो हो। मैले उहिले फलेको सम्बन्धमा केही भनेको छैन। फलेको हँ‘दो हो। म आजको वृद्ध वृक्षको कुरा गरिरहेको छु। अहिले त कांग्रेसले सामथ्र्य मात्र होइन, औचित्य पनि गुमाएको छ।

प्रदेश २ को चुनावमा एमालेको अपेक्षा के छ?

एमाले बढार्छौं भनिरहेका छन्, खुरुक्क चुनाव गराएर बढारे भइगो नि। बढार्नलाई असोज २ सम्म किन विलम्ब गरेको? असारमै बढारिदिएको भए नि हुन्थ्यो। बढार्नेहरू हामीले हेरिरहेका छौं। त्यही भएर मैले भनेको छु, कसको हातमा कुचो हुँदोरहेछ। 

अबको चुनावी समीकरण कस्तो हुन्छ?

समीकरणको बैसाखीमा हामी विश्वास गर्दैनौं। सकेसम्म आफ्ना मसल र स्टामिनामा विश्वास गर्छौं। कतिपय ठाउँमा समीकरण मनोवैज्ञानिक कुरा पनि हो। काठमाडौंमा त्यही थियो। हामी उदार पनि छौं। अरूसँग मिल्न सक्ने फराकिलो पनि छौं भन्ने सन्देश हो। हामी आफ्ना लाभका लागि मात्र कुद्दैनौं भन्ने पनि हो। 

राप्रपा कहिले तपाईंहरूतिर, कहिले अर्कातिर देखिन्छ। कहिले संविधान संशोधनका पक्षमा उभिन्छ, कहिले विपक्षमा। तपाईंहरूको मूल्यांकन के छ? 

सेती र काली मिसिएपछि त्यस्तै हुन्छ। कहिले काली–काली देखिने, कहिले सेती–सेती देखिने। कहिले कालीतिरबाट बाढी आउँछ, कालीजस्तो देखिन्छ। कहिले सेतीतिरबाट बाढी आउँछ, सेती हो कि जस्तो लाग्छ। भएको त्यही हो। 

माओवादी केन्द्रसँग एमालेको सम्बन्ध अहिले कस्तो छ?

राम्रै छ। चिनजानका मान्छेहरू भेट हँ‘दा बोलिन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी ‘विघटन गर्न सकिने’ भनी दिएको

अभिव्यक्तिलाई तपार्इंले कसरी लिनुभएको छ? 

माओवादीलाई मैले ‘नावाकाद’ (नामको वामपन्थी कामको दक्षिणपन्थी) पार्टीका रूपमा हेरेको छु। उसको नीतिगत स्पष्टता, स्थिरता, लक्ष्य, उद्देश्य, कर्तव्यको निर्दिष्टता केही पनि छैन। कसको भोजमा जाने भन्दा जता बढी खान पाइन्छ, त्यता जानेजस्तो देखिन्छ। त्यसैले विघटनको कुरा आएको हुन सक्छ। 

पार्टीहरूले एमालेलाई मधेसविरोधी किन भनिरहेका छन्?

त्यो उनीहरूको राजनीति हो। एमाले जे हो, त्यो भनेर त उनीहरू राजनीतिमा टिक्नै सक्दैनन्। एमाले राष्ट्रियताको पहरेदार हो। लोकतन्त्रको योद्धा हो। राष्ट्रिय एकताको खम्बा हो। सामाजिक एकताको हिमायती र संवाहक हो। विकासको नायक हो। यो सत्य कुरा बोल्यो भने त उनीहरूको पार्टी नै बन्द हुन्छ। 

मधेसका सन्दर्भमा एमालेको अवधारणा के हो?

हिमाल, पहाड, तराई–मधेस, सबै जातिलाई एमालेले समान रूपमा लिएको छ। एमाले कुनै एक जाति, क्षेत्रको मात्र पार्टी होइन। भूगोल विशेषको मात्र संगठन पनि होइन। तराईका शिक्षा, सिंचाइ विकासका कुरा, सामाजिक आर्थिक विकासका कुरामा एमाले निरन्तर लागिरहेको छ। मेरो नेतृत्वको सरकारले ल्याएको बजेट हेरे हुन्छ, हामीले तराई मधेसलाई कहाँ अन्याय गरेका छौं? एमाले सरकारमा हँ‘दा जति तराई मधेसमा विकास अरूले गर्नै सकेका छैनन्। विकासका अवधारणा ल्याउन पनि सकेका छैनन्। हामीलाई आरोप त उनीहरूले आफ्नो अस्तित्व जीवित राख्न, पार्टीको साइनबोर्ड झुन्ड्याइरहन लगाएका हुन्। आफ्नो सटर बन्द हुने डरले चलाइएको हल्ला मात्र हो यो। नत्र यिनको त खेलोमेलो नै डुब्छ। विचारको मुकाबिला गर्न नसकेर यतातिर लाग्नेहरू धेरै टिक्दैनन्। 

भरतपुर महानगरपालिकाको चुनावी परिणाम अन्योलमै छ, मुद्दा न्यायालयमा छ। यो विवादलाई तपार्इंले कसरी लिनुभएको छ? 

भरतपुर प्रकरणमा जेजति हतकण्डा गरियो, त्यो दु:खद् हो। राज्यका अंगहरू कार्यकारीद्वारा निर्देशित, दमित र निरीह कसरी बनाइँदै जान्छन् भन्ने लक्षण पनि हो। मैले नेपाली कांग्रेसका प्रमुख नेतालाई तपार्इं कमसेकम भरतपुरमा मतपत्र च्यात्ने काम बेठीक हो, यस कुराको चाहिं विरोध गर्छु त भन्नुस् भनें। उहाँले ‘मलाई थाहा छैन, कसरी विरोध गर्ने’ भन्नुभयो। भरतपुरको मतपत्र च्यातिएको थाहा छैन। त्यसबारे बोल्नुहुन्न भने उहाँलाई के चाहिं थाहा छ त? मतपत्र च्यातेर हारेकालाई जितमा परिणत गराउन पाइन्छ भने, गर। हारेका ठाउँमा फेरि मतदान गराउने, कांग्रेस माओवादी मिलेपछि हार्न नहुने जित्नैपर्ने हो र? 

एमाले फेरि सत्तामा जान हतारिएको त छैन नि? 

एमाले जस्केलाबाट सरकारमा जाँदैन। 

झ्यालबाट पनि जानु पर्दैन। चुनावी बाटोबाट मूल ढोकाबाट मात्र जानेछ। अहिले चुनाव अपरिहार्य छ। सरकारले त्यता प्राथमिकता दिनुपर्‍यो। संविधानले निर्दिष्ट गरेको समयसीमालाई ध्यानमा राख्नुपर्छ। संवैधानिक संकट आउन दिनु हँ‘दैन। निर्वाचन आज अचानक आएको होइन। यो संविधान बनाउँदाका बखत हामी सबैले मिलेर तोकेको समय हो। संविधानको कार्यान्वयन एउटा दलको स्वार्थ, निर्णयका आधारमा तलमाथि हुन सक्दैन। त्यसैले चुनाव माघ ७ भित्रै हुनुपर्छ। उहाँहरू चुनाव गराउन सक्नुहुन्न भने समय छँदै छोडेर सक्नेहरूको सरकार बनोस् भनी छाडे हुन्छ। त्यतिबेला हामी छलफल गर्नेछौं। 

प्रकाशित: श्रावण १५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार