कुराकानी

‘विश्व च्याम्पियनसिप गर्न तयार छौं’

- कान्तिपुर संवाददाता

श्रावण १४, २०७४-

३२ देशका २ सय ४१ खेलाडीले शुक्रबार सम्पन्न एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप २०१७ मा प्रतिस्पर्धा गरेका थिए। एसियाली भारोत्तोलन महासंघ (एडब्लूएफ) को वार्षिक साधारणसभा पनि काठमाडौंमा भयो। योसहित ३७ देशका करिब ५ सय पाहुना नेपाल भित्रिएका थिए। भारोत्तोलनको तेस्रो एसियाली जुनियर च्याम्पियनसिप सन् १९८४ काठमाडौंमा भएको थियो। त्यसयताकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा यसपालि युवा तथा जुनियर च्याम्पियनसिप नेपालले आयोजना गर्‍यो। महादेशीय च्याम्पियनसिपको युवातर्फ १९ औं, जुनियर महिलातर्फ २४ औं र जुनियर पुरुषमा ३१ औं संस्करण लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सञ्चालन गरिएको थियो। ३३ वर्षअघि श्याम हमालले कांस्य पदक जितेका थिए। यसपल्ट भने नेपाल घरेलु भूमिमा पदकविहीन रह्यो तर सहभागी सबै नेपाली खेलाडीले व्यक्तिगततर्फ उत्कृष्ट प्रदर्शन गरे। आयोजनाका हिसाबले च्याम्पियनसिप सफल भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन बताउँछन्। यसै सन्दर्भमा उनीसँग कान्तिपुरका राजु घिसिङले गरेको कुराकानी :

 

.....................

एसियाली युवा तथा जुनियर च्याम्पियनसिपको आयोजना कस्तो रह्यो?

अत्यन्तै राम्रो भयो। खेलाडी र देशको सहभागिताका हिसाबले ऐतिहासिक प्रतियोगिता बन्यो। यसअघि एसियाली भारोत्तोलनका कुनै पनि प्रतियोगितामा यति धेरै देश (३२) र खेलाडी (२४१) सहभागी भएका थिएनन्। आयोजना राम्रो भएको भन्दै धेरैले बधाई दिइरहेका छन्।

 

एसियाकै बृहत् प्रतियोगिता कसरी सम्भव भयो?

च्याम्पियनसिपलाई बृहत् बनाउन संघका महासचिव पार्थ सारथी सेन गुप्त र अन्तर्राष्ट्रिय भारोत्तोलन संघ (आईडब्लूएफ र एडब्लूएफका महासचिव मोहमद हसन जलुदको विशेष योगदान रह्यो। उहाँहरूले व्यक्तिगत रूपमै सम्पर्क गरेर सबै देशलाई सहभागी हुन आग्रह गरेका थियौं। त्यसैले पनि सहभागिता बढेको हो। बृहत् बनेको हो। सहभागी खेलाडी, प्रशिक्षक, अफिसियललाई र्‍याडिसन होटलमा राख्ने बन्दोबस्त गरेका थियौं। तर सहभागी बढेपछि याक एन्ड यति र मरियट होटलमा पनि राख्नुपर्‍यो।

 

नेपालले एसियाली युवा तथा जुनियर च्याम्पियनसिप आयोजना गर्ने अवसर कसरी पायो?

हामी सन् २०१५ को सिनियर एसियाली च्याम्पियनसिप आयोजनाको अन्तिम तयारीमा पुगेका थियौं तर महाभूकम्पले ठूलो क्षति पुर्‍याएपछि अन्तै सार्नुपर्‍यो। त्यही प्रतियोगिताका लागि एक करोड रुपैयाँ बढीको खेल सामग्री पनि आएको थियो। त्यसैले कुनै न कुनै प्रतियोगिता गर्नुपर्छ भनेर लाग्यो र नोभेम्बर, २०१६ मा युवा तथा जुनियर च्याम्पियनसिप नेपालमा गर्ने एडब्लूएफले निर्णय गरिदियो।

 

अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका अध्यक्ष तामस अजन पनि आएका थिए। उनले यस च्याम्पियनसिप सफल भएमा नेपालमा विश्व च्याम्पियनसिप आयोजना गर्ने आश्वासन दिएका थिए नि?

हो। हाम्रो व्यवस्थापन देखेर सन्तुष्ट हुनुभयो। सन् २०१९ सम्मको विश्व च्याम्पियनसिप आयोजना गर्ने देशको निर्णय भइसकेको छ। २०२० मा गृष्मकालीन ओलम्पिक हुने भएकाले विश्व च्याम्पियनसिप आयोजना हुँदैन। त्यसैले जुनियरकै भए पनि २०१९ मा विश्व च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने दिने भनेका छन्। त्यसका लागि हामी तयार छौं।

 

विश्व च्याम्पियनसिप सञ्चालन गर्नका लागि भौतिक पूर्वाधार पर्याप्त छ त?

महाभूकम्पको कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल (त्रिपुरेश्वर) मा खेल सञ्चालन गर्ने अवस्था छैन। त्यसैले नेपाली सेनाको हल (लगनखेल) मा आयोजना गर्‍यौं। यसमा विश्व च्याम्पियनसिप ढुक्कसँग आयोजना गर्न सकिन्छ। हामीले भएका पूर्वाधारको नै उपयोग गर्ने हो। समस्या १ हजार बढीलाई व्यवस्थापन गर्नुपर्ने हो र त्यसका लागि होटल छन्।

 

महादेशीय च्याम्पियनसिपको आयोजनाले नेपाललाई के फाइदा भयो?

धेरै भयो। करिब ५ सय विदेशी आएपछि यहाँको बिजनेस बढ्यो। हामीसँग खेल सामग्री अभाव थियो। च्याम्पियनसिपकै लागि ३ करोड रुपैयाँ बढीको खेल सामग्री भित्रियो। यसलाई हामी अब उपयोग गर्न सक्छौं। सबैभन्दा महत्त्वपूर्ण त नेपालले पनि ठूला प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने देखायौं। यसले अरु प्रतियोगिता ल्याउने बाटो खोलेको छ।

 

खर्च कति भयो?

हाम्रो अनुमानित बजेट १ करोड ७५ लाख रुपैयाँ हो। यसमा ५–१० लाख तल–माथि होला तर हाम्रो उद्देश्य नाफा कमाउने होइन। यस्ता च्याम्पियनसिप राज्यले गर्नुपर्ने हो तर सामन्य प्रतियोगितालाई दसौं लाख दिने राष्ट्रिय खेलकुद परिषद्ले यस च्याम्पियनसिपमा २० लाखमात्र दिने भन्यो। अहिलेसम्म ५ लाखमात्रै दिएको छ।

 

आयोजना सफल रहे पनि नेपाली खेलाडीले भने पदक जित्न सकेनन् नि?

युवा/जुनियर ४० खेलाडी छनोट गरी हामीले क्याम्प राखेका थियौं। त्यसैबाट उत्कृष्ट १३ खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्। उनीहरू सबैले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरे तर भारोत्तोलनमा विश्वकै पावरहाउस हो एसिया। त्यसैले उत्कृष्ट खेलाडीहरू आएका थिए र हामीले उनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। त्यसैले पदक जित्न नसकेका हौं। सिनियरकै राष्ट्रिय कीर्तिमान बनाएका कमला श्रेष्ठ र सञ्जु चौधरीलाई आईडब्लूएफले प्रशिक्षणका लागि सबै व्यवस्था गरिदिने भनेको छ।

प्रकाशित: श्रावण १४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार