जीवनशैली

बुढीआमाको डिजिटल फड्को

  • लक्ष्मी भुसालले एकैखाले ढाँचामा रेडियोमा बोलेको ५१ वर्ष बितेको छ, जुन रेडियो कार्यक्रममा कीर्तिमान हो।
- -सुरज कुँवर

श्रावण १४, २०७४-झिसमिसे साँझपख टुप्लुक्क आँगनमा आइपुग्ने जेटीएलाई भुटेको मकै–भटमास खुवाउँदै करेसाबारी, पशुपालन आदिबारे गन्थन गर्ने बुढीआमालाई सुनेर नहुर्किने सायदै होलान्। यिनै बुढीआमा र जेटीएको संवादमार्फत परम्परागत कृषिलाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न सिंहदरबारको पुतली बगैंचामा स्थापित ‘कृषि सूचना शाखा’ले ५२ वर्ष पुरा गरेको छ। हाल कृषि सूचना तथा सञ्चार केन्द्र भनिने यो संस्थाले असार अन्तिम साता (दुई वर्ष ढिलो) स्वर्ण जयन्ती मनायो। 

अधिकांश नेपाली किसानले यो रेडियो कार्यक्रम स्थापना गर्ने सरकारी निकायलाई भन्दा कृषि कार्यक्रमकी बुढीआमालाई चिन्छन्। बुढीआमा अर्थात् लक्ष्मी भुसालले स्वर दिन थालेकै ५१ वर्ष बितिसकेको छ। उनको स्वरले पनि स्वर्ण युग पुरा गरेर कीर्तिमान कायम गरेको छ। नेपालमा यति लामो समयसम्म चलेको यो नै पहिलो रेडियो कार्यक्रम हो। केन्द्रका प्रसारक अधिकृत श्रीराम पुडासैनी ‘यति लामो समय एउटै पात्रले एकैखाले ढाँचामा रेडियो कार्यक्रम चलाएको यो नेपालमा मात्र नभई विश्वमै पहिलो’ भएको दाबी गर्छन्। 

हुन पनि नाटकीय ढाँचामा २०२३ मंसिरदेखि सञ्चालित ‘जेटीए र बुढीआमा’ आजसम्म निरन्तर र लोकप्रिय छ। ‘राजा महेन्द्रको जुग थियो। पछि वीरेन्द्र आए। अहिले राष्ट्रपतिको जुग चलेको छ। कति कृषिमन्त्री फेरिए/फेरिए,’ बुढीआमाले भनिन्, ‘मेरै कार्यक्रम चलाउने कार्यालयमा म अठारौं हाकिमसँग काम गरिरहेकी छु।’ ४४ रुपैयाँ मासिक तलबमा सहायक तहबाट छिरेकी बुढीआमाले उमेर हदका कारण उपसचिवबाट अवकाश लिइसकेकी छन्। हाल उनलाई आवाज विशेषज्ञका रूपमा केन्द्रले करारमा राखेको छ। उपसचिव हुँदा २५ हजार हाराहारी तलब स्केलबाट अवकाश पाएकी बुढीआमा अहिले मासिक ९ हजार रुपैयाँ पारिश्रमिक लिई बुढीआमाको भूमिका निर्वाह गर्दै आएकी छन्। 

बाजे–बराजु अर्घाखाँचीबाट आएको सुनेकी यी बुढीआमाको जन्मथलो काठमाडौंको डिल्लीबजार हो। तर अहिले उनी जोरपाटी नयाँबस्तीकी बासिन्दा हुन्। १४ वर्षको उमेरमा रेडियोमा छिरेकी भुसालले दरबार हाइस्कुलबाट टेस्ट पास गरिन्। रेडियोमा जागिर खानुअघि डिल्लीबजार आसपासमा अर्काको खेतमा रोपाइँ गरेका सम्झनाहरू उनको स्मृतिमा धुमिल छन्।

 

किसानमाझ मात्र नभई अन्य श्रोतामा पनि बुढीआमाको ‘फ्यानडम क्रेज’ अत्यधिक छ। साँझ ७ बजेको मुख्य समाचारअघि १५ मिनेटमात्रै सुनिएर, अर्काे शुक्रबारसम्म अलप हुने वाचा गर्दै बिट मार्ने बेला भन्ने ‘हरिशरणम्’ थेगो यिनलाई चिनाउने अर्को पर्यायवाची नाम जो छँदैछ। रेडियोमा जोडिएपछि उनले १ वर्ष जर्मनमा ग्रामीण ब्रोडकास्टिङको तालिम लिने मौका पाइन्। सरकारी खर्चमै मलेसिया पुगेर पनि एक महिने तालिम लिइन्। बाटामा हिँड्दा अहिले पनि कतिपयले प्वाक्क सोधिदिन्छन्, ‘बुढीआमा अहिले कुन बाली लगाउने बेला हो?’ अहिले उमेरले नै बुढी बनेकी उनी झर्को नमानी उत्तर बताइदिन्छिन्। 

टाइपिस्टको जागिरका लागि अन्तर्वार्ता दिन सिंहदरबार जाँदै गरेकी एक चिनारु महिलासँग ‘साथी बनिदिएर’ २०२३ साल भदौमा सिंहदरबारस्थित कृषि विभाग नपसेको भए सायद भुसालको आज बुढीआमाका रूपमा यस्तो परिचय हुने थिएन। 

त्यही बेला उनको विभागभित्र रहेको ‘कृषि सूचना शाखा’का तत्कालीन हाकिम किरणमणि दीक्षितसँग भेट भयो। ललाटमै लेखेर ल्याएको भन्दा ’नि हुन्छ। रेडियो कार्यक्रमको तयारी गरिरहेका दीक्षितले उनलाई जागिरको अफर गरे। अंग्रेजीमा टाइप गर्न जान्ने सर्तसहितको अफरलाई भुसालले हुन्छ भनिदिइन्। तर खासमा उनलाई टाइप आउँदैनथ्यो रे। त्यसै वर्षको मंसिर २५ गतेदेखि भुसाल बुढीआमाको स्वरमार्फत रेडियोबाट देशभर सुनिन थालिन्। उनीसँगै त्यसबेला सुनिनेमा सूर्यबहादुर श्रेष्ठ र मोहनकुमार श्रेष्ठ पनि थिए। जो रेडियो यात्रामा बीचमै अवकाश प्राप्त भए। २०३४ सालतिर मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ पनि बुढीआमासँगै रेडियो कार्यक्रमसँग जोडिएका थिए। उनीहरू १० वर्षको अन्तरालपछि ‘निस्किएका’ थिए। अहिले उनीसँग जेटीएको स्वरमार्फत नाट्य अभिनयमा साथ दिनेमा उनलाई सुनेर हुर्केका देवराज गौली, श्रीराम पुडासैनी, मदन सुवेदी, विनोद गिरी लगायत छन्। उनको कार्यालयका प्रमुख सहसचिव प्रकाशकुमार सञ्जेल पनि उनलाई सुनेर हुर्केका युवा हुन्। 

ऊ बेला रेडियो नेपालको एकाधिकार र जगजगी थियो। रेडियो सेट हुने किसानहरू बारीका कान्ला, गोठ, आँगन, दलिनमा रेडियो राखेर बुढीआमालाई सुन्दै कृषिकर्म गर्थे। कार्यक्रम चर्चित थियो। त्यसताका यो कार्यक्रम बिहान पनि बज्थ्यो। एक पटकको कुरा हो। मुग्लिन आसपासको फिल्ड यात्रामा थिइन्, बुढीआमा। एक किसान कृषि कार्यक्रम सुन्दै भुइँकटहर रोप्दै रहेछन्। संयोगले भुइँकटहर रोप्ने दृश्यका साक्षी हुनपुगेका कृषि कार्यक्रम निर्माण गर्ने टोलीका कार्यक्रम निर्माताहरूले ती किसानलाई आफूहरूको परिचय नभनी बुढीआमाको भूमिकाबारे प्रश्न सोधेछन्। आलीमा रेडियो राखेर कृषिकर्म गरिरहेका उनले ‘ती बुढीआमालाई भेट्न पाए म पैसाको माला लगाइदिन्थें’ भन्दै पशुपतिनाथसँग भेट जुराइदिन प्रार्थना गर्ने गरेको सुनाएछन्। त्यहीं छेउमा उभिएकी बुढीआमाले आफू नै यो कार्यक्रमको प्रास्तोता रहेको स्वरले प्रमाणित गरेपछि ती किसानले वाचा पूरा गरेछन्। ‘दुई रुपैयाँका १६/१७ नोटको माला बनाई लाइदिए, त्यो माला अहिले छैन, तर ती रुपैयाँ जतनले राखेकी छु,’ हालैको भेटमा भुसालले सुनाइन्। 

रेडियो जीवनको करियर बनाएर निरन्तर यात्रा गरिरहेकी भुसाल अविवाहित हुन्। धेरैलाई उनी ‘फुर्सद नपाएरै बिहे गर्ने उमेर बितेको’ प्रतिक्रिया दिन्छिन्। खासमा व्यक्तिगत र पारिवारिक जीवनबारे उनी सकभर मिडियाले नसोधेकै जाती मान्छिन्। पारिवारिक पृष्ठभूमि र उनको निजी जीवन पछाडिका कथा/व्यथा उनी सार्वजनिक गर्न चाहँदिनन्। उनले आफ्नो जीवन यात्राबारे एउटा पुस्तक लेख्ने सोच बनाएकी छन्। लेखिए त्यो पुस्तकले धेरै प्रश्नको उत्तर देला। हालैको एउटा छोटो भेटमा उनले भनिन्, ‘त्यो जुगमा रेडियोमा छोरी मान्छेले बोल्नु राम्रो मानिँदैनथ्यो।’ उनका अनुसार त्यसबेला छोरी मान्छे कलाकारितामा आउनु बिग्रिनु सरह मानिँदो रहेछ। 

‘भुन्टेकी आमा भात पाक्यो?’ भनी रेडियोमा उनका सहकर्मीले सोधेको प्रश्नमा ‘पाकेको छैन भुन्टेका बा π’ भनेको अभिनय संवादले जीवनलाई आजको एक्लो अवस्थामा ल्याइपुर्‍याएको उनी ठान्छिन्। घरका मान्छेले ‘भुन्टेकी आमा’को स्वर रेडियोबाट सुनेपछि ‘यसले त रेडियोमा बिहे गरिसकेकी रहेछ’ भन्दै त्यसताका आफूमाथि घृणा गरिएको उनले सुनाइन्। उनलाई त्यसपछि घरपरिवारबाट ‘निकाला’ गरिएछ। 

‘त्यसयता मैले २३/२४ ठाउँमा डेरा बसाएँ। अहिले जोरपाटी नयाँबस्तीमा पुगेकी छु,’ हाल भजन–कीर्तनसँग साइनो जोडेकी यी एक्लीले भनिन्, ‘अबको २/४ वर्ष रेडियोकै लागि काम गर्छु। त्यसपछि जे होला, होला।’ 

हरिशरणम् !

प्रकाशित: श्रावण १४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार