कुराकानी

नाटक वार्ता : ‘रंगमञ्चमा लागिरहने पागल हौं’

श्रावण ७, २०७४-अशेष मल्ल ‘अवकाशको मुखैमा पुगेका’ नेपाली विषय प्राध्यापक हुन्। पद्मकन्या क्याम्पसमा नेपाली नाटकको सैद्धान्तिक पाठ पढाउने मल्ल अर्कातिर रंगमञ्चीय कक्षामा नाट्य लेखन/निर्देशनको जिम्मेवारीमा छन् । उनले स्थापना गरेको संस्था ‘सर्वनाम’ काठमाडौंमा व्यस्तमध्येको रंगमञ्च अखडा बनेको छ। 

सर्वनामको आयु कति पुग्यो? यो कसरी बाँचिरहेको छ?

सर्वनामको उमेर ३५ वर्ष पूरा भएको छ। जुनै निकाय वा समाजकै अस्तित्वको कुरा भए पनि म चार पक्षमा एकदमै ध्यान दिने गर्छु। विज्ञान, कला, व्यवस्थापन र अध्यात्म चिन्तनलाई एकैसाथ मान्दै आएको छु। यसमा पनि सर्वनाम जोगाउने/जोगिने कुरामा सबैभन्दा बढी अध्यात्म चिन्तन (स्वान्त सुखाय) लाई मैले मानेको छु। 

हामी केही वर्ष सर्वनाम हराएसरह भयो। कारण थियो— आफ्नै भवन बनाउने अभियान। कोहीसँग सहयोग लिइएन। कसैले भारतीय दूतावाससँग सहयोग माग्न भनेका थिए, त्यो पनि चाहेनौं। नेपाल सरकारको कुरा गर्ने हो भने जुम्ला–हुम्लामा जीवन जल र सिटामोल पुर्‍याउन नसकिरहेको सरकारले नाटकघर बनाउन पैसा कसरी देओस्? भन्ने भयो। यही कारण झन्डै ८ वर्ष तपस्या गर्‍यौं, सडक नाटकहरू गरेर केही पैसा उठायौं। श्रीमतीको गरगहना धितो राखियो, सञ्चयकोषसमेत खर्च भयो। वास्तवमा यो एउटा ‘अध्यात्म चेत’ थियो। अब अहिले कसरी बाँचिरहेको छ भन्नेमा जवाफ दिनुपर्‍यो भने जेनतेन धुकधुकी बँचाइरहेका मात्रै छौं भन्दा हुन्छ।

तपाईंहरू केही व्यक्तिको साधना (अथवा लहड) का भरमा रंगमञ्च टिकिरहेको छ जस्तो लाग्दैन?

हेर्नुस्, सबैतिर देशदुनियाको ट्रेन्ड हो कि रंगमञ्चकै भरमा बाँचेको कलाकार कहीं–कतै भेट्नै मुस्किल हुन्छ। रंगमञ्चकै भरमा बाँच्नेहरूको संख्या औंलामा गन्न सकिन्छ। कमर्सियल थिएटर गर्नेहरूको हकमा केही फल प्राप्ति हुन्छ होला। तर हामीजस्तो सिरियस थिएटर गर्नेहरूलाई चैं निकै मुस्किल छ, अस्तित्व राख्न। भारतमै पनि रंगमञ्चबाट आएका कलाकारहरूमध्ये धेरैजसो बलिउड पुगेपछि मात्रै बाँच्न सकिरहेका देखिन्छन्। अझ, पृथ्वी थिएटर (मुम्बई, सन् १९७८) मा भोकभोकै नाटक गरिरहेका कलाकारबारे पनि मैले सुनेको छु। हो, एक–दुई पागलहरू यो रंगमञ्चमा देखिँदा रहेछन्। जस्तो, सुनील पोखरेल, अनुप बराल, अशेष मल्ल आदि हामी पागल हौं। जो कोही उपलब्धि हात नपरे पनि यो दुनियामा लागिरन्हछन्। तपाईंलाई भनिदिउँ— मैले मेरो जीवनमा सावित्री मल्ल कक्षपतीलाई श्रीमतीको रूपमा नपाएको भए यो हल (सर्वनाम भवन, कालिकास्थान) बन्ने नै थिएन। कोही श्रीमती चाहन्छ, आफ्नो गरगहना बैंकमा राखेर एउटा नाटकघर बनाउन पैसा खन्याउन? यसकारण म श्रीमती सावित्रीप्रति कृतज्ञ छु, आजीवन ऋणी छु। म श्रीमान् पागल, मेरी श्रीमती पनि पागल।

तपाईंका बुझाइमा ‘कमर्सियल आर्ट’ भनेको के हो?

कहिलेकाहीं म विचार गर्छु। हामी नेपालीचैं भाग्यमानी रहेछौं, सौभाग्यशाली। हेर्नुस्, हामीले सिररियस नाटकहरू सुरु गर्दा हरिवंशहरूले कमर्सियल नाटक गर्नुहुन्थ्यो। उहाँहरू स्पोन्सर पाउनुहुन्थ्यो, उहाँहरूको नाटकमा हल भरिभराउ हुँदा हामीकहाँ दर्शक शून्यप्राय: हुन्थ्यो। तर, अहिले ठीक विपरीत छ। दर्शकको अहिलेको पुस्ता भने ‘सिरियस आर्ट’ तिर पनि लोभिएको छ, हाम्रा नाटकहरू पनि पैसा तिरेर आउने दर्शककै भरमा महिना दिनसम्म राम्रैसँग चल्न थालेका छन्। यसले धेरै भरथेग गरिरहेको छ। 

हो, भाग्य त छ। तर, अरू देखिने उपलब्धि के भएको छ र? 

कस्तो भरथेग र? सिरियस आर्टलाई स्थापित गराउने कुरामा त हामी सफल भएका छौं नि। हिजोसम्म नाटक हेर्दा दर्शकले ‘सिट्ठी’ बजाउँथे। तर, आजका दर्शकहरू अरूलाई डिस्टर्ब पो हुन्छ कि भनेर शान्त/धैर्य देखिन थालेका छन्, यस्तो कल्चर बढेको छ। जानीनजानी थिएटर कल्चर नेपालमा निर्माण भइसकेको छ, यो पनि एउटा उपलब्धि हो। 

यी उपलब्धि र कथनहरू निजी तहका थिएटर केन्द्रित छन्। सरकारी तहमा के छ ? एकेडेमीहरू छन्, पर्फमिङ–आर्टका लागि भनेर राष्ट्रिय नाचघर छ। काम के भइरहेको देख्नुहुन्छ?

यो भन्न अप्ठ्यारो छ। २०४६ सालको आन्दोलनपछि हामी नै हौं, सडकमा आएर अब संगीत–नाट्य एकेडेमी स्थापित हुनुपर्छ भनेर नारा लगाउने। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले एउटा आयोग पनि बनाउनुभयो। बल्ल–बल्ल एकेडेमीहरू बने पनि। आर्टका लागि ललितकला र संगीत–नाटकका लागि अर्को एकेडेमी। फेरि नाचघर पनि छँदै छ। यी निकायमा सरकारले लगानी गरेको छैन भनेर म मान्दिनँ। अहिले पनि गच्छेअनुसार करोडौं रुपैयाँ लगानी छ। तर, काम हेर्ने हो भने जिरो छ। अहिले गर्नैपर्ने काम भनेको हामीसँग रहेको गौरवमय लोकपरम्परालाई जोगाउने नै हो। लोकगाथा, लोकनाटक, लोकगीत, लोकसंस्कृति क्रमश: हराउँदै गएको अवस्थामा छ। अब चाँडोभन्दा चाँडो यसलाई डकुमेन्टेसन गर्न सकिएन भने अब १० वर्षपछि हामीले खोजेर पनि पाउँदैनौं। अहिले मलाई के लाग्छ भने बरु संंगीत–नाट्य एकेडेमी (र, ललितकला पनि) बन्द गरेर अब जिल्ला–जिल्ला (संघीय खाकामा) मा त्यो पैसा दिन सके कम्तीमा स्थानीय तहमा कला–सम्पदाको केही कुरा अभिलेखीकरण हुन सक्थ्यो कि? 

एकेडेमीले केही गरेकै छैन भन्न मिल्छ र?    

खोइ, जे गर्नुपर्ने हो त्यो हुन नसकिरहेको (अथवा गर्नै नचाहेको) मात्रै देखिन्छ। एकेडेमीका प्राज्ञहरू दुई/चारवटा नाटक गर्नुहुन्छ। केही गोष्ठी गर्नुहुन्छ। प्राज्ञहरू सडक उद्घाटन, भवन शिलान्यासमा पनि कुदिरहनुभएको देखिन्छ। अनि दिक्क लाग्छ— के एकेडेमीको काम भनेको यही हो? एकेडेमीले त पोलिसी बनाउने हो, भिजन राखेर काम गर्ने हो। संगीत–नाट्य जगत् अथवा कला क्षेत्रमा लागेका संस्था/निकायका लागि प्रोत्साहनको छाता संस्था बन्नुपर्ने हो। तर, प्राज्ञ आफैं जिल्ला गएर गोष्ठी सञ्चालन गर्नु र आतिथ्य लिएर बस्नु भनेको के एकेडेमीको काम हो? यो त जिल्ला/स्थानीय तहको संघ–संस्थालाई जिम्मा दिनुपर्ने काम हो। 

यत्तिका वर्ष बितेका छन्। यो रंगमञ्च क्षेत्रमा टिकेर बसिरहने (स्थायी) सत्पात्र प्रतिशतका आधारमा कति होलान्?

यो भन्न साँच्चिकै मुस्किल छ। नाटक भन्ने चीज समूह आधारित कुरा हो, एउटा व्यक्तिले मात्रै केही गर्न सक्दैन। यसमा उत्पादन–मूल्य (प्रोडक्सन कस्ट) यति बढी हुन्छ कि जतिसुकै नाटक चले पनि बाँच्न सक्ने अवस्था अहिलेसम्म छैन। यसकारण पनि केही प्रतिभावान कलाकारहरू रंगमञ्चबाट फिल्मी दुनियाँमा छिरेका हुन्, यो यथार्थ हो। 

अघि कमर्सियल कुरा गर्नुभो। यहाँ बढीजसो गैरसरकारी संस्था/योजनामा चलेका विकासे कर्महरू पनि उत्तिकै छन्। नाटक/रंगमञ्चमा पनि यसको प्रभाव देखिन्छ नि?   

अब यो विषयलाई कसरी हेर्ने भन्ने मुख्य कुरा हो। तपाईंहरू दिनहुँ छाप्नुहुन्छ— यहाँ एयरपोर्टबाट कति सुन तस्करी भयो भनेर। हामीकहाँ भ्रष्टाचारको, घूसको अनुपात कहाँ पुग्यो भनेर। एउटा कलाकारले नाटक देखाउँछु भनेर कुनै एनजीओ/आईएनजीओबाट केही पैसा लिएको छ र काम पनि गरेको छ भने त्यो के अपराध भयो? कमसेकम ऊ त्यसरी त बाँचिरहेको छ। प्रश्न के हो भने त्यसरी लिएको पैसाबाट उसले आर्टप्रति कति न्याय गरिरहेको छ, त्यो भने हेर्नुपर्छ। हाम्रो सन्दर्भमा हामी (सर्वनाम) ले पनि केही ‘फन्डेड’ काम गर्‍यौं— यो भवन बनाउनका लागि भरथेग थियो त्यो। तर, यो भवन बनेपछि यस्तो काम पूरै छाड्यौं।

तपाईं एकपटक ‘मितव्ययी रंगमञ्च’ को अभियानमा हुनुहुन्थ्यो नि?

हो, हामीले आफ्नो हैसियत र स्तर हेरेर पनि जर्मनी वा नर्वेका रंगमञ्चमा पाइने लाइट/सिस्टम वा प्रविधि खोजेर हुँदैन। थोरैभन्दा थोरै प्रविधिले राम्रोभन्दा राम्रो नाटक कसरी गर्ने हो, त्यसतर्फ सोच्नु जरुरी छ। अस्ति भर्खरै जर्मनी पुगेर एउटा रंंगमञ्चीय कक्षामा मैले भनेको थिएँ, ‘तिमीहरू स्टेजमा केही पनि विशेष (प्रविधि) प्रयोग गर्दैनौं, हामी पनि गर्दैनौं। यसमा पक्कै समानता छ। तर, तिमीहरू प्रयोगका नाममा गर्दैनौं, हामी भने आफूसँग प्रविधि (स्रोतसाधन) नभएरै प्रयोग गर्दैनौं। फेरि प्रविधि गतिलो हुन्छ भन्दैमा नाटक उत्कृष्ट हुन्छ भन्ने केही छैन। जे तिमीहरूको सोख हो, त्यो हाम्रो बाध्यता हो।’ हो पनि, जुन नाटक म काठमाडौंको थिएटरमा देखाउन सक्छु, त्यही नाटक मैले वागलुङ वा जुम्लामा पनि देखाउनुपर्ने हुन्छ। यसकारण म सकेसम्म मितव्ययी हुन्छु, रंगमञ्चीय प्रयोग र उपायमा।

अब नाट्य विषय/खुराकमाथि कुरा गरौं। के हामीकहाँ नाटक लेख्ने, नाटककारको अलिक अभाव उब्जिएको हो? हिजोआज अरू लेखनको बढी ‘एडप्टेसन’ देखिन्छ नि?

हो, हामीकहाँ निकै विदेशी कथावस्तु र विषय आधारित भएर पनि नाटकहरू कथिएको छ, लेखिएको छ। तर, हामीकहाँ रंगमञ्चीय खुराक कति छ कति, यो खोज नभएको मात्रै हो। एउटा यथार्थ के हो भने विश्व साहित्यमै सबैभन्दा कम लेखिने विधा भनेको नाटक हो। बाहिरी नाम लिनुपर्दा सेक्सपियरपछि इब्सेन जन्मन कति वर्ष लाग्यो होला? हामीकहाँ बालकृष्ण सम र विजय मल्लको नाम मात्रै आउँछ, यो विधामा। अरू साहित्य सरल र सहज विधा होइन रहेछ। किनभने यसको सीधा सम्बन्ध रंगमञ्चसँग छ, रंगमञ्चको प्रविधिसँग हुन्छ। तर, कथावस्तुका कुरा गर्दा म आफैंले बीपी कोइरालाको ‘एक रात’ कथामा नाटक गरेको छु, यसमा टेलिफिल्म पनि नबनेको छ। सुनील पोखरेल र अनुप बरालले पनि गरिरहनुभएको छ। मैले अहिले ध्रुवचन्द्र गौतमको एउटा कथा ‘नीलडाम’ मा काम गरिरहेको छु, कवि नवराज पराजुलीको छाउपडीबारेको कवितामा पनि रंगमञ्चमा नाटकीकरण गर्दै छु। 

अहिलेसम्म सर्वनामको इतिहासमा उल्लेख्य नाटक भनेर (नाम–कामकै आधारमा) कुनलाई सम्झनुहुन्छ?

अहिले भर्खरै प्रदर्शनमा आएको ‘बुख्याँचा मन’ (लेखन/निर्देशन राज शाह) लाई उत्कृष्ट नाटक मानिएको छ। झन्डै डेढ महिनासम्म सर्वनाम रंगमञ्चमा उत्तिकै दर्शकको चाप लिएर यो नाटक चल्यो। यस्तै, मेरै लेखन/निर्देशनमा चलेका ‘शकुनि पासा’, ‘सडकदेखि सडकसम्म’, ‘भिक्षाम देही’, ‘रक्तबीज’, ‘बाँकी पृष्ठ’ पनि उत्तिकै चलेका नाटक हुन्। 

तपाईंहरू यत्तिका नाट्यकर्म गर्नुहुन्छ। नेपाली समाज, राजनीतिको विकृतिबारे रंगमञ्चमा अभिनय गर्नुहुन्छ। तर, देख्नुपर्ने र सुन्नुपर्ने राजनीतिक/प्रशासनिक तहमा रहेका व्यक्तिहरू सही अर्थमा यो विधालाई कत्तिको बुझ्नुहुन्छ?

हो, यो जिज्ञासाको जवाफ दिने बेलामा विरलै उदाहरण मात्रै मसँग छ। २०४६ सालमा प्रजातन्त्र आएपछिको सरकारमा रहेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले एक दिन मलाई सिंहदरबार बोलाएर भन्नुभयो, ‘हेर बाबु, देशमा अब फ्रिडम आयो, प्रजातन्त्र आयो। तर समाज र प्रजातन्त्रबीचको ‘खाडल’ एकदमै गहिरो छ। समाज र राजनीतिलाई एउटै विन्दुमा हिंडाउन गाउँ–गाउँमा चेतनाका नाटक लिएर जानुपर्‍यो, सडक नाटक लैजानुपर्‍यो।’ किसुनजीजस्तो नेताले यति भनिदिनु आफैंमा ठूलो कुरा थियो, त्यो ‘भिजन’ निकै ठूलो थियो। अनेक प्रशासनिक र अन्य कारणले यो ‘भिजन’ कार्यान्वयन हुन पाएन। तैपनि त्यो घटना मेरा लागि अविस्मरणीय छ। 

यसैगरी, मुख्यसचिव लीलामणि पौड्याल आफैं टिकट काटेर सर्वनाममा नाटक ‘भिक्षाम देही’ हेर्न आएको याद छ। उहाँले पनि भ्रष्टाचारविरुद्धको यो नाटक देशभर लैजानुपर्‍यो भनेर खुसीको खबर सुनाउनुभयो। सोहीअनुसार मातहतका सचिवहरूलाई ‘तत्काल आवश्यक प्रबन्ध मिलाउन’ निर्देश पनि गर्नुभयो। तर, यसको कहींकतै केही पनि सुनुवाइ भएन, नाटक बाहिर लैजान कुनै प्रक्रिया अघि बढेन। यतिसम्म कि कांग्रेस नेता बीपी कोइरालाको कथा आधारित नाटक ‘एक रात’ हेर्न कुनै कांग्रेसी नेता पनि सर्वनामको हलसम्म आएनन्। यसकारण रंगमञ्चमा भइरहेका धेरै काम–कुराहरू स्वान्त सुखाय छन्। 

प्रकाशित: श्रावण ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार