समाचार

सिक्किमका पूर्व मुख्यमन्त्री भण्डारी रहेनन्

- कान्तिपुर संवाददाता , दार्जिलिङ

श्रावण २, २०७४-भारतमा नेपाली भाषालाई संवैधानिक अधिकार दिलाउन गरिएको आन्दोलनका अगुवा सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको आइतवार ७८ वर्षको उमेरमा दिल्लीमा निधन भयो । ४३ वर्षदेखि मेरुदण्ड सम्वन्धी रोगवाट पीडित भण्डारीको त्यही रोगकै कारण निधन भएको हो । दिल्लीको प्राइमर सुपर अस्पतालमा उपचाररत थिए । 

पारिवारका अनुसार गत शुक्रवार मेरुदन्डको शल्यक्रिया भएको थियो । ‘शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख नै थियो’, भारतीय गोर्खा परिसंघकी पूर्व अध्यक्ष तथा भण्डारीकी पत्नी दिलकुमारी भण्डारीले भनिन्,‘अचानक भएको निधनले मर्माहत छौ ।’

उनी जन्मिदा सिक्किम सार्वभौम देश थियो । सिक्किम भारतमा विलय हुनु भन्दा करिव ३५ वर्ष अघि सन् १९४० मा पश्चिमम सिक्किमको सोरेङको मालवाँसे वस्तीका सामान्य किसान परिवारमा जन्म लिएका भण्डारीले छिमेकी दार्जिलिङमा स्नातकसम्मको अध्ययन गरेका थिए । सिक्किमका विभिन्न स्कुलहरुमा लामो समय अध्यापन गराएका भण्डारी शिक्षण पेशा चटक्कै छाडेर सन् १९७३ देखि राजनीतिमा प्रवेश गरेका थिए । 

सिक्किमलाई भारतमा विलय गराउने अभियानका विरोधी थिए ।

राजनीतिमा आफ्नो आगमनलाई उनी भन्ने गर्थे,‘सिक्किमे मातृभूमिको रक्षाका खातिर आएको हुँ ।’ सन् १९७४ मा सिक्किम भएको वृहत आन्दोलनमा उनी अग्रमोर्चामा उभिएका थिए । जेलनेल र प्रहरी यानता भोगेका उनी सिक्किमका सर्वमान्य नेता थिए । ‘आन्दोलनताका उहाँले प्रहरीको यातना धेरै व्यहोर्नु भएको थियो’, सिक्किमका अगुवा साहित्यकार केदार गुरुङले भने,‘सिक्किमलाई भारतमा विलय गराउनु हुन्न भन्नेहरुमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।’ त्यसवेला व्यहोरेको प्रहरी यातना नै उनको दिर्घरोग वन्यो । अन्तत: मेरुदण्डको त्यही दीर्घ रोगका कारण उनको निधन भएको हो । 

सन् १९७५ मा सिक्किम भारतको २२ औ राज्यको रुपमा विलय भयो । त्यसको ४ वर्षपछि ‘सिक्किम जनता पार्टी’ स्थापना गरेर राजनीतिमा सक्रिय वनेका भण्डारीले वहुमतको जित हात पार्दै सिक्किम विधानसभा चुनावमा पहिलो पटक सरकार गठन गर्ने सौभाग्य पाएका थिए । 

पहिलो पार्टी सिक्किम जनता पार्टी छाडेर उनले सन् १९८० को दशकतिर सिक्किम संग्राम परिषद नामको नयाँ दल दर्ता गरेर राजनीति गर्न थाले । सन् १९८४ र १९८९ का दुई वटै निर्वाचनमा विजयी वन्दै उनले १५ वर्ष सिक्किमको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । सिक्किम विलय लगत्तै वनेको सरकारको कमान्ड भने लेन्डुप दोर्जेले सम्हालेका थिए । लेन्डुपपछि उनले सिक्किमको नेतृत् वगर्ने अवसर थिए । पाँच पटकसम्म सिक्किम विधानसभामा निर्वाचित उनी एक पटक लोकसभा सांसद पनि वन्ने अवसर पाए । 

सिक्किम डेमोक्रेटिक फ्रन्ट नामको नयाँ पार्टीको उदयपछि भण्डारीको राजनीति ओरालो लाग्न थालेको जानकारहरु बताउँछन् । उनको पार्टी पवन चामलिङको एसडीएफ पार्टीसँग पराजित वन्न पुग्यो । भण्डारीपछि चामलिङ विगत २५ वर्षदेखि सिक्किमको नेतृत्वमा छन् । वारम्वारको पार्टी पराजयवाट निरास भण्डारी विपक्षी नेताको भूमिका लामै समय निर्वाह गरे । 

भण्डारी आफ्नो कार्यकालमा नेपालीभाषी भारतीयको हक र अधिकारमा सक्रिय वनेको पाइन्छ । नेपाली भाषालाई सम्वैधानिक मान्यता दिलाउने अभियानमा उनको अतुलनीय योगदान रहेको दार्जिलिङका वुद्धिजीवी सीके श्रेष्ठ सम्झन्छन् । सिक्किममा अहिले जति विकास भएको छ त्यो भण्डारीकै योजना अनुरुप भएको ठान्नेहरु पनि छन् । सिक्किमका कुना कन्दरामा विजुली, खानेपानी, स्कुल, स्वास्थ्य केन्द्र जस्ता पूर्वाधार पुर्‍याउने जस भण्डारीलाई नै जान्छ । 

भण्डारी नेपालको प्रतिष्ठित जगदम्वाश्री पदक वाट पनि विभुषित भएका थिए । पहिलोपटक जगदम्वाश्री अस्वीकार गरेका उनले भारतमा नेपाली भाषाले सम्वैधानिक मान्इता पाएपछि सन् ९०को दशकमा मात्रै यो पुरस्कार स्वीकारेका थिए । 

भण्डारीको निधनपछि मुख्यमन्त्री पवन चामलिङले सिक्किमले एक जना राजनीतिक सपुत गुमाएको प्रतिक्रिया दिएका छन् । सिक्किमको राजनीतिकका अगुवा भण्डारीको निधनले सिक्किमलाई अपुरणीय क्षति पुगेको चामलिङले बताए । चामलिङले भने,‘उहाँ एक जना सशक्त राजनीतिक अगुवा हुनुहुन्थ्यो ।’ दिल्लीवाट सोमवार वागडुग्रा विमानस्थल हुदै भण्डारीको पार्थिव शरिर सिक्किम पुऱ्याइएको छ । उनको वुधवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने सिक्किम सरकारले जनाएको छ । 

गोर्खाल्याण्डका समर्थक

भण्डारी सधै गोर्खाल्याण्डको पक्षमा रहे । १९९६ मा सुवास घिसिङ नेतृत्वमा चर्किएको आन्दोलनमा उनले खुलेरै समर्थन जनाएका थिए । घिसिङ उनका सहपाठी पनि थिए । हिंसात्मक आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीको उपचारमा उनी सक्रिय वनेका थिए ।

उनले अस्थायी शिविर खडा गरेरै  आन्दोलनकारीलाई खाने वस्ने प्रवन्ध मिलाएका थिए । त्यसपछिका आन्दोलनहरुमा पनि उनको सद्भाव थियो । सत्तामा नहुँदाका वखत पनि उनी गोर्खाल्याण्ड गठनकै पक्षमा थिए । गोर्खाल्याण्ड भारतीय गोर्खाहरुको सम्वैधानिक माग भएको उनी वताउथे । 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार