मनोरञ्जन

‘मिस यूके नेपाल’ को तयारी

- कान्तिपुर संवाददाता , लन्डन

श्रावण २, २०७४- बेलायतका नेपाली युवतीबीच गरिने एउटा सौन्दर्य प्रतियोगिताको छैटौं संस्करण सुरु भएको छ । ‘मिस यूके नेपाल २०१७’ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए । 
अडिसनमा बर्मिङहमकी २२ वर्षीया सोफिया केसी, एन्डोभर निवासी १९ वर्षीया लिसा सुनार, प्लमस्टिड लन्डनकी २३ वर्षीया प्रकृति श्रेष्ठ, १७ वर्षीया करुणा भुसाल, उलविचकी १८ वर्षीया सृष्टि केसी र नर्थहोल्ट लन्डनकी २३ वर्षीया सृजना गुरुङ सहभागी भएको आयोजक इभेन्ट्स एन्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले जनाइन् । 
पहिलो अडिसनका निर्णायकहरूमा लोकप्रिय गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष तथा ‘मिस यूके नेपाल २०१६’ टेनिसा राना र रनरअप विभिया श्रेष्ठ थिए । आयोजकका अनुसार फाइनल अडिसन २२ जुलाईमा हुनेछ । 
मिस यूके नेपाल २०१७ को फाइनल आगामी सेप्टेम्बर १० मा एम्पायर हलमा हुने तय भएको छ । प्रतियोगिताको ग्रान्ड फिनालेमा मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफरका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । गत वर्ष यो भूमिकामा नायिका प्रियंका कार्की थिइन् । 
बर्सेनि गरिने यो प्रतियोगितालाई सधैं प्रतियोगी अभाव हुने गर्छन् । सुन्दरी अभाव भएपछि आयोजकले बीचमा एक पटक प्रतियोगिता नै रद्द गरेका थिए ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार