देश

बालबालिकाको बिचल्ली

- कान्तिपुर संवाददाता , बाँके

श्रावण २, २०७४- श्रीमतीको हत्या गरी प्रहरीसामु आत्मसमर्पण गरेका कोहलपुर नगरपालिका–४ बेलनपुरका मोहम्मद अपताफ बेडुवाका ६ छोराछोरीको बिचल्ली भएको छ । उनका ११ वर्षीय सुनील खान, ८ वर्षीय सुशील खान, ७ वर्षीय तसलिम खान र छोरीहरू ४ वर्षीया बौरी खान, ३ वर्षीया सुष्मा खान र ३ महिनाकी गौरी अलपत्र परेका हुन् । स्थानीयका अनुसार श्रीमतीको हत्या र बुबा प्रहरीमा पुगेपछि बालबालिकाको बिजोग भएको छ । त्यस्तै कान्छी श्रीमती सालमा नाउ गर्भवती छिन् । उनकी ४ वर्षीया छोरी सोनी खान छिन् । घरको विवादले आवेशमा आएका २९ वर्षीय मोहम्मदले असार २८ गते राति जेठी श्रीमतीको हत्या गरेका थिए ।

ग्यास सिलिन्डर विस्फोट
धादिङ (कास)– धुनिबेंसी नगरपालिकाको रमाइलोचौरस्थित पुरुषोत्तम कँडेलको टहरामा आगलागी भएको छ । ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आइतबार अपराह्न ३ बजे आगलागी हुँदा अन्न, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन् । झन्डै १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको खानीखोला स्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन निरौलाले बताए । स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीयले प्रहरीलाई फोन गरेर घटनाको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

द्वन्द्वपीडितलाई राहत
नुवाकोट (कास)– स्थानीय शान्ति समितिको सिफारिसमा जिल्लाका साढे आठ सय द्वन्द्वपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले १२ करोड ३३ लाख ८० हजार रुपैयाँ वितरण गरेको हो । ८ सय ५५ पीडितलाई राहत वितरण गरिएको प्रजिअ जगदीशराज बरालले बताए । राज्य र विद्रोही पक्षबाट मारिएकाका १ सय ८७ परिवारलाई ५० हजारका दरले रकम उपलब्ध गराइयो । त्यस्तै मारिएका २१ सुरक्षाकर्मीका परिवारलाई डेढ लाख रुपैयाँका दरले उपलब्ध गराइएको छ ।

बन्दीपुरमा पूर्वाधार निर्माण हुँदै
तनहुँ (कास)– आन्तरिक तथा बाहिरी पर्यटक बढाउनका लागि बन्दीपुरमा पदमार्गलगायतका पूर्वाधार निर्माण थालिएको छ । पर्यटन विकास समिति बन्दीपुरले सरकारको वातावरणमैत्री स्थानीय शासन कार्यक्रममार्फत टुँडिखेल व्यवस्थापन कार्यक्रमसहितका अभियान सञ्चालन गरेको हो । ‘एकपटक आएका पर्यटकलाई पटकपटक आउने बनाउन केही कार्यक्रम थालेका छौं,’ समिति अध्यक्ष बयस गुरुङले भने, ‘पर्यटकले चाहेका र मन पराउने प्याकेज भएमा मात्र दोहोरिएर आउने बढ्छन् ।’ गर्मी छल्नका लागि आउने पर्यटकलाई धेरै दिन बस्ने बनाउन दीर्घकालीन योजना बनाइएको उनले बताए ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार