देश

प्राथमिकता पुल र बन्दरगाह

- कान्तिपुर संवाददाता , महेन्द्रनगर

श्रावण २, २०७४-दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विजयी भएका कञ्चनपुरका जनप्रतिनिधि यतिबेला वार्षिक बजेटसँगै नीति तथा कार्यक्रम तर्जुमाको गृहकार्यमा व्यस्त छन् । कार्यभार सम्हाले लगत्तै भइरहेका बैठकमार्फत उनीहरू चुनावी अभियानमा घोषणा गरेका प्रतिबद्धतालाई सम्बोधन गर्न थालेका हुन् ।

‘सबैभन्दा ठूलो कुरा विभिन्न विकास निर्माण र पूर्वाधार विकासका माध्यमबाट आर्थिक समृद्धि नै हो,’ प्रदेश नं. ७ को जेठो भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले भने, ‘हामीले सुरु गर्ने कामबाट नगरपालिका मात्र नभई समग्र प्रदेशको आर्थिक विकास सम्भव हुने विश्वास गरेका छौं ।’

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले देखेको समृद्धिको खाका र महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारको मिल्दोजुल्दो नै छ । भीमदत्तका नगरप्रमुख विष्ट भन्छन्, ‘महाकालीमा ४ लेनको पुल, दोधारमा सुख्खा बन्दरगाह बनेपछि कञ्चनपुर मुलुककै मुख्य सीमानाकामा विकसित हुनेछ ।’ उनका अनुसार सीमावर्ती उत्तराखण्ड राज्यको टनकपुर नजिक लाग्ने पूर्णागिरिको वार्षिक मेलामा नेपाल भित्रिने भारतीय तीर्थालुको आगमन सहज भएमा महेन्द्रनगर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुनेछ । 

नगरप्रमुख विष्टले सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षाका अवसर विस्तार गरी व्यवस्थित पठनपाठनको व्यवस्था मिलाउन सके ‘कञ्चनपुर भविष्यमा नेपालकै प्रमुख शैक्षिक हबमा रूपान्तरण हुन सक्ने विश्वास व्यक्त गरे । ‘धार्मिक पर्यटन मात्र होइन शुक्लाफाँटा निकुञ्ज, झिलमिला ताल र यहाँका सांस्कृतिक रहनसहन पनि पर्यटन विकासका आधार हुन सक्छन्’, उनले भने, ‘पञ्चेश्वर परियोजना सुरु भएमा रोजगारीका अवसर सिर्जना हुन्छन् ।’

कञ्चनपुरका निर्वाचित जनप्रतिनिधिहरू आर्थिक समृद्धिका लागि दोधारा–चाँदनी जोडन महाकालीमा निर्माण हुने ४ लेनको पुल नै प्रमुख आधार हुने बताउँछन् । ‘पुल बने दोधारामा सुक्खा बन्दरगाहको योजना अघि बढ्छ’, महाकाली नगरपालिका प्रमुख वीरबहादुर सुनारले भने, ‘नेपालको आयात निर्यात यहाँको नाकाबाट हुन्छ । ७ नं. प्रदेशमा उद्योग कलकारखाना खुल्न थाल्छन्, रोजगारी खोज्दै भारत र अन्य ठाउँमा पस्नुपर्ने बाध्यता अन्त्य हुन्छ ।’

बेतकोट नगरपालिकाको आइतबारको पहिलो बैठकले नगरको मास्टर प्लान बनाउने कार्यलाई प्राथमिकता दिएको छ । ‘दैजी छेलाको औद्योगिक क्षेत्रमा रोकिएका काम काम तत्काल अघि बढाउने निर्णय पारित गरेका छौं,’ नगरप्रमुख अशोक चन्दले भने, ‘आर्थिक समृद्धिका लागि उद्योग, कलकारखानासँगै व्यावसायिक कृषि र धार्मिक पर्यटनलाई पनि हामीले प्रमुखतामा राखेका छांै ।’ चन्दले वर्षौंदेखि घरबास बनाई बसेका नगरक्षेत्रका जग्गाधनी प्रमाणपुर्जाविहीन बासिन्दालाई ‘जनताको जग्गा, जनताकै नाममा’ भन्ने कार्यक्रमअन्तर्गत दर्ता प्रक्रिया अघि बढाउने पहल गर्ने निर्णय भएको जानकारी दिए । प्रमुख विष्टले उत्तर भारतका प्रमुख सहरहरू भीमदत्त नगरपालिकाको सीमावर्ती क्षेत्रमा रहेकाले ७ नं. प्रदेशको आर्थिक विकासका लागि यो नगरले महत्त्वपूर्ण रोल निभाउन सक्ने बताए । ‘उत्तराखण्ड राज्यले गरेको आर्थिक विकासकै मोडेलमा हामी अगाडि बढ्न सक्छौं’, उनले भने । 

कञ्चनपुरमा ९ स्थानीय तहमध्ये ७ नगरपालिका र २ गाउँपालिका रहेका छन् । तीमध्ये भीमदत्त, महाकाली भारतको उत्तराखण्ड र उत्तरप्रदेश राज्यसँग जोडिएका छन् । दक्षिणी भेगका बेलौरी र पुनर्वास नगरपालिका भारतको उत्तर प्रदेशसँग जोडिएका छन् । उद्योग, कलकारखाना अत्यन्त न्यून रहेको कञ्चनपुरमा अधिकांश बासिन्दा कृषि पेसामा निर्भर छन् ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार