विचार/विश्‍लेषण

छाउपडी र प्रश्नहरुको ठेली

- डा. अरुणा उप्रेती, काठमाडौं

श्रावण २, २०७४- सुदूरपश्चिममा छाउपडीेमा एक युवतीको भर्खरै मृत्यु भयो । केही महिनाअघि छाउगोठमा एक महिला र किशोरीको पनि मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहालले त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर चासो पनि दर्शाएका थिए । त्यतिबेला केही ठाउँमा छाउपडी भत्काइयो । तर केही समयपछि पुन: ‘मुसीको भव’ जस्तै छाउपडी गोठ फेरि बनाइयो । 

गाउँका धार्मिक गुरु, राजनीतिक दलका नेता, अगुवा सबैलाई ‘मस्टो’को डरले यति सताएको छ, उनीहरू छाउपडी प्रथालाई हटाउनै चाहँदैनथे । के नेताहरूलाई डर छ, छाउपडी भत्काए उनीहरूको भोट बैंक पनि भत्किन्छ ? ४ चोटी प्रधानमन्त्री भइसकेका सुदूरपश्चिमका शेरबहादुर देउवाले कहिले पनि छाउपडी प्रथाको विरोध गरेका छैनन् । नत पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, न पूर्व गृहमन्त्री भीम रावलले विरोध गरेका छन् । उनीहरूले किन बुझ्दैनन् कि यो प्रथा हटाउन राजनीतिक दलकै दबाबले मात्र सकिन्छ । तर उनीहरूको कानमा यो कुरा कसले पुर्‍याइदिने ?

माओवादीको सशस्त्र द्वन्द्वका बेला उनीहरूका कार्यकर्ताले ‘छाउपडी’ हटाउन केही गरिटोपलेका थिए । कार्यकर्ताले डर देखाएर केही महिलालाई छाउपडीमा बस्न रोकेका थिए । तर जसै द्वन्द्व सिद्धियो, माओवादीमा लागेका महिलासमेत पुन: छाउपडीमा बस्नपुगे । 

माओवादीको ‘प्रगतिशीलता’ त्यही छाउपडीभित्र हराउन पुग्यो । म आछामको रामारोशन पुग्दाचाहिँ छाउपडीको अस्तित्व नदेख्दा खुसी लागेको थियो । दलित बस्तीमा यसको कारणचाहिँ धर्म परिवर्तन रहेछ । त्यहाँका दलित क्रिस्चियन भइसकेका रहेछन् । ‘प्रभुलाई प्राथना गर्न थालेपछि हामी छाउपडी जान छाड्यौं,’ त्यहाँका महिलाले भनेका थिए । कमसेकम धर्म परिवर्तनको सकारात्मक पाटो थियो त्यो ।

छाउपडीमा आगोले जलेकी महिलाको कथा र महिलाको मृत्यु भएको घटना सुन्नमा आइरह्यो । छाउमा बस्दा बलात्कारका घटना पनि सुनिए । तर घटनाहरूले कसैलाई छोएन, किनभने ती त दलित महिलामाथि भएका थिए । त्यो बेला मलाई लागेको थियो, हिन्दु धर्मका गुरुहरूले चाहिँ ‘छाउपडी हटाऊँ’ भनेर किन क्रिस्चियन धर्मगुरुले जस्तै आन्दोलन नचलाएका होलान् ? कि हिन्दु धर्मगुरु पनि सुदूर पच्छिमका ‘मस्टो’सँग डराउँछन् ? उनीहरू भनिरहन्छन्, ‘महिलाहरू छाउपडीमा बसे मस्टो खुसी भइरहन्छन् ।’ 

छाउपडीमा महिला बसेर मस्टो खुसी हुने हुने भए त नेपालभरिका सबै हिन्दु धर्म मान्ने महिला पनि प्रत्येकचोटी महिनावारी हुँदा छाउपडीमै बसे हुन्छ नि ! यो विषयमा त धर्मगुरु र धामी–झाँक्रीले एउटा ठूलो राष्ट्रिय सम्मेलन गर्ने कि ? के छाउपडी प्रथा हटाउन सुदूरपश्चिमका सबै समुदाय क्रिस्चियन बन्नुपर्ने हो भन्ने प्रश्नले मलाई झकझक्याइरहन्छ । छाउपडी प्रथाविरुद्ध त्यहाँका प्रगतिशील, लोकतान्त्रिक शक्तिहरू केही पनि नबोल्ने भनेर कसलाई सोधुँ ? प्रगतिशीलता सहरमा मात्र चाहिने हो ? छाउपडी प्रथा हटाउन वर्षमा सयजना महिला मर्नुपर्ने हो ? के आफ्नो दानापानी हरिन्छ भनेर छाउपडी प्रथा हटाउन धार्मिक गुरुहरू डराएका हुन् ?

छाउपडी हटाउने कोही संवेदनशील देखिँदैनन् । ठूला राजनीतिक दलका नेताहरू आफ्नो परिवारका सदस्यहरू छाउपडीमा बस्नु नपरेकाले पो गम्भीर नभएका हुन् कि । छाउपडीमा महिलाको मृत्यु हँुदा सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा लेखिन्छन्, ‘महिला अधिकारका बारेमा बोल्नेहरूले जति बोले पनि छाउपडी प्रथा हटेन ।’ हो, हटेको छैन । तर के यस्तो विषयमा महिला अधिकारकर्मीले मात्र बोल्नुपर्ने हो ? अरूको पनि चासो हुनुपर्ने होइन र ? के छाउपडीमा महिला मरेको र बलात्कृत भएको कुराले सुन्दर सुदूर पश्चिमलाई ‘कुरूप’ बनाउँदैन र ? २ वर्षअघि एक वामपन्थी नेताले मलाई भनेका थिए, ‘तिमी सुदूरपश्चिमको बारेमा नराम्रा कुरामात्रै लेख्छ्यौ ।

 छाउपडी प्रथा पहिले–पहिले थियो । अहिले त हटिसकेको छ । तर तिम्रो लेखमा त सुदूर पश्चिमको बेइज्जत हुन्छ । राम्रा–राम्रा कुरा पनि लेख्ने गर न ।’ मैले उनलाई भनेकी थिएँ, ‘म कसरी सुदूरपश्चिमको बारेमा सुन्दर कुरा लेखुँ, जहाँ पत्थरकी शैलेश्वरी देवीलाई पुजेर जीवित महिलालाई बाम्बार मर्न र जल्न विवश गराइन्छ । छाउपडी प्रथा हटिसकेको भन्ने तपाईको विचारमा छ भने हिँड्नुस् आजै, डोटी र अछाम जाऊँ र हेरुँ, त्यहाँको छाउपडीमा बसेका महिला । त्यहाँ मस्टोले आग र बाघ लगाइदिन्छ भन्ने धारणा छ अझै छ ।’ 

‘सती’ प्रथा हटाउन चन्द्रशमशेरलाई भारतमा राज्य गरेका फिरंगीहरूले प्रेरणा दिएका थिए । के नेपालमा पनि छाउपडी प्रथा हटाउन क्रिस्चियन धर्मगुरुहरूले प्रेरणा दिनुपर्ने हो ? के छाउपडीबाट मुक्ति पाउन र आफ्नो जीवन जोगाउन, सर्प र बाघबाट ज्यान जोगाउन र वासनाले उन्मुक्त पुरुषबाट बलात्कृत नहुन महिलाहरूले शिव र कृष्णलाई पूजा गर्न छोडेर यिशुलाई प्रार्थना गर्नुपर्ने हो ? 

नेपाललाई हिन्दु राष्ट्र बनाउन लागेका दलहरूको सनातन धर्मले के महिलालाई मस्टोको आदर गरेर बस र छाउपडीमा नै मरिरहु भन्छ ? यी सबै प्रश्नको उत्तर नआउन्जेल हरेक वर्ष महिलाको जीवन कुहिएको फर्सीजस्तै फ्याँकिनेछ ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार