खेलकुद

टेनिसलाई दुई पुस्ता

- विनोद पाण्डे
पछिल्लो साता हेम्स टेनिस एकेडेमीमा एकाएक हरियाली छायो । छोरा सुजय अमेरिकाबाट छोटो समयलाई नेपाल आएका थिए । सुजय पनि हेमका छोरा मात्र नभई अर्का च्याम्पियन उत्पादन हुन् ।

श्रावण २, २०७४- तपाईं युट्युबमा हेर्नुस्, पहिला धरहरा र टुँडिखेल त्यसपछि हेम्स टेनिस एकेडेमी देखाउँछ,’ हेमबहादुर लामा राजधानीको बालुवाटारमा अवस्थित आफ्नो एकेडेमीको परिचय दिँदै थिए । दुई वर्षअगाडिको भूकम्पले धरहराको अस्तित्वलाई निमिट्यान्न पारेको छ । टुँडिखेल खुम्चिएर साँघुरो बन्दै छ । हेम्स टेनिस एकेडेमी पनि जीवन्त बन्न अहिले यस्तै संघर्ष गरिरहेको छ । 

एउटा खुला क्ले कोर्ट छ । अर्को जस्ताले मात्र छोपिएको छ र इन्डोर बनाउन खोजिएको जस्तो देखिन्छ । हेम यसलाई मिनी कोर्ट पनि भन्छन् । कोर्टको कुनामा बिटल्स कार सदाका लागि थन्किएको छ । हेमले आफ्नो २५ वर्ष रंगीन जीवन यही कार चढेर बिताए । ५ महिनापछि हेम आफ्नो ९० औं जन्मदिन मनाउँदै छन् । उनमा भने त्यो बुढ्यौली खासै देखिँदैन । र्‍याकेट लिएर कोर्टमा यता उता गरेर चक्कर लगाइरहेका हुन्छन् । 

‘टेनिसले गर्दा नै यति सक्रिय हुन सकेको छु,’ खेलकुदमा लागेपछि सबै ‘प्यासनट’ हुन्छन् । उनी भने आफूलाई टेनिसको ‘क्रेजी’ भन्छन् । औसतमा पनि अहिले वर्षायाममा ४० जना जति प्रशिक्षण लिन आउँछन् एकेडेमीमा । सिजनमा यहाँ प्रशिक्षण लिने आउने १ सयभन्दा बढी हुन्छन् । साढे दुई दशकअगाडि बनाएका थिए उनले यो एकेडेमी । त्यसभन्दा अघि पनि उनको अर्को टेनिस एकेडेमी थियो हिट्स सेन्टरको नाममा । तीनकुने क्षेत्रको यो एकेडेमी उनले १९७० को दशकमा खोलेका थिए । नेपालको यो पहिलो क्ले कोर्ट थियो । चार कोर्ट भएकाले त्यो एकेडेमीको रौनक नै भिन्न रहेको उनी बताउँछन् । शुभरत्न शाही, राज लामा, सुजय लामा, पूनम लामा यही खेलेर च्याम्पियन बने । राज र सुजय उनको छोरा र पूनम छोरी हुन् । राज नम्बर एक थिए उनको शरद लामासँगको प्रतिस्पर्धा र प्रतिद्वन्द्विता त्यस समयको चर्चित थियो । 

हेमका अर्का छोरा विजय लामा भने टेनिसमा खासै आकर्षित भएनन् । हेमले आफ्नो जवानीमा नगरेको केही छैन । उनले विभिन्न पुस्तक नै लेखेका छन् । सोखिनका हिसाबले गल्फ खेल्थे । एक समय उनले वर्षको १२ मध्येको ८ मन्थ्ली मेडल गल्फ प्रतियोगिता जितेका थिए । नेपाली फिल्म उद्योगको सुरुआती कालको ‘आदर्श नारी’ उनले नै बनाएको चलचित्र हो । हेम त्यसको निर्देशक, निर्माता मात्र नभएर दुई गीतको संगीत कम्पोजर पनि थिए । विजय लामा यही चलचित्रबाट ‘हिरो’ हुन सुरु गरे । विजयको भूमिका चलचित्रमा पाइलट थियो । उनलाई विमानचालक बनाउन त्यही चलचित्रले प्रमुख भूमिका खेल्यो । चलचित्रको सुटिङलगत्तै पाइलट कोर्सका लागि अमेरिकाको टेक्सास लागे । नायिका थिइन् सुषमा शाही । सुषमा शाही नाम गरेकी अर्की नायिका पनि थिइन् । त्यसैले हेमले आफ्नो फिल्मको नायिकाको नाम परिवर्तन गरेर अंशुमाला शाही राखिदिए । 

नेपाल लन टेनिस संघको संस्थापकमध्येका एक हुन् हेम । सागर राणा, महेशकुमार सिंह, सुवर्ण क्षत्री र हेम मिलेर १९६८–६९ तिर टेनिस संघ खोलेका थिए । महेश अध्यक्ष थिए, १५ वर्ष हेम त्यसको कोषाध्यक्ष रहे । संघको खासै पैसा थिएन, तर सबैलाई थाहा होस् भनेर उनले नेपाल बैंकमा रहेको संघको खाता नम्बर १२३४५ बनाएका थिए । उनी १९९३ मा २ वर्ष संघको अध्यक्ष पनि भए । एक कार्यक्रममा उनी अमेरिका गएका थिए, संघका लागि फन्ड उठाएर फर्किंदा उनको अध्यक्ष पद खुस्किसकेको थियो । 

त्यसपछि पनि टेनिसमा उनको सक्रियता उस्तै थियो । उनको काम गर्ने आफ्नै तौरतरिका छ । अनुशासनमा कुनै सम्झौता नगर्ने उनको स्वभाव अहिले पनि छ । टोपी उल्टो फर्काएर लगाएर एकेडेमीमा आउनेलाई उनी अहिले पनि ढोकाभित्र छिर्न नदिई ‘गेट आउट’ भनिदिन्छन् । उनी बिम्बल्डन टेनिस प्रतियोगिताको चर्चा गर्दै थिए । जर्मन खेलाडी डस्टिन ब्राउनको लामो लट्टे कपाल देखेर उनलाई टेनिस नै हेर्न छाडौंजस्तो लागेछ । अर्थात् उनको स्वभाव सबै आर्मीजस्तो सफाचट भएर मैदानमा उत्रिनुपर्छ भन्ने हो । 

त्यसैले उनको धेरै आलोचना पनि भयो । ‘देशद्रोही’ उपनाम पनि यही सेरोफेरोमा कमाए । उनी व्यवस्थापक भएर नेपाली टोली लाँदै थिए । नेपाली टोलीको खेलाडी सूचीमा एन्जल भट्टराईको पनि नाम थियो । हेमले रमेश कार्कीलाई लिएर हिँडे । हेमको भाषामा रमेश नम्बर एक थिए, तर केहीले बदमासी गरी एन्जलको नाम हालेका थिए । हेमले भित्र–भित्र भइरहेको यो चलखेल बुझेपछि एन्जललाई एयरपोर्टबाट फर्काएर ‘नम्बर एक’ रमेशलाई लिएर उडेका थिए । त्यसैमा उनले ‘देशद्रोही’ को ठूलो आरोप सहनुपरेको थियो । जबाफमा उनलाई ‘जेल हाल्ने’ र ‘फाँसी दिने’ भनेर तर्साउँथे । हेम पनि उनीहरूलाई उस्तै जबाफ फर्काउँथे, ‘फाँसी दिने भए टुँडिखेलमा दिनु, ताकी मलाई फाँसी दिइँदै छ भन्ने सबैले थाहा पाऊन् ।’

प्रीति रिजाल, उत्सव रिजाल, दावा शेर्पा, अरुणा क्षत्री हेमका उत्पादन हुन् । त्यसैले उनी भन्छन्, ‘च्याम्पियनलाई उत्पादन गर्न पाउँदा गर्व लाग्छ ।’ पछिल्लो साता हेम्स टेनिस एकेडेमीमा एकाएक हरियाली छायो । छोरा सुजय अमेरिकाबाट छोटो समयलाई नेपाल आएका थिए । सुजय पनि हेमका छोरा मात्र नभई अर्का च्याम्पियन उत्पादन हुन् । तीन दशकअघि सुजय अमेरिका लागेका थिए । २–३ वर्षमा नेपाल आउँछन् । यसपटक १ वर्षमै आएका हुन् । नेपालमा आएको समय सुजय बुवाको एकेडेमी र सातदोबाटो टेनिस मैदानमा सिकाउन लागिहाल्छन् । 

सुजय ३ पटक राष्ट्रिय च्याम्पियन भएका थिए, कुनै खेल हारेका थिएनन् । सन् १९८६–८७ मा उनी यू–१८ को विश्व वरीयतामा ५० औं स्थानमा थिए । त्यसैका कारण उनी प्रमुख ग्रान्डस्लाम मानिएको बिम्बल्डनको मेन ‘ड्र’ मा परेका थिए । दाइ राज जर्मनीमै प्रशिक्षणमा जमेका थिए । इंग्ल्यान्डमा बिम्बल्डन खेल्न जानुअघि सुजय एक साता प्रशिक्षणको क्रममा जर्मनी पुगे । सुजयको घुँडा पहिलादेखि नै दुखेको थियो । हर्सफ्लाई (डाँस) ले टोकेपछि उनको घुँडा एकाएक सुन्निएर आयो । 

लन्डन जान उनको टिकट बनिसकेको थियो । राज उनको प्रशिक्षक भएर जानेवाला थिए । जानु ३ दिनअघि अप्रत्यासित घटना हुन पुग्यो । बिम्बल्डन नखेलेकाले उनीमाथि कारबाहीस्वरूप वरीयता घटाइयो, एक वर्ष खेल्न नपाउने बनाइयो । सुजयको स्थान भारतका हरि आयरले लिए । उनलाई बिम्बल्डनमा उत्रिन नपाएकोमा अहिले पनि ठूलो पछुतो छ । अझ दु:ख नेपाली खेलाडीले अझै बिम्बल्डनमा टेक्न नपाएकोमा छ । 

टेनिस कोर्स पढ्नै पूर्ण छात्रवृत्ति पाएपछि अमेरिका हान्निएका उनको कर्मथलो उतै हो । ४ वर्ष उनले लुथर कलेजबाट खेले । ‘अल अमेरिकन’ को पगरी उनले दुईपटक पाए । अल अमेरिकन भनेको टाइटल हो । जोसँग यो जोडिएको हुन्छ, त्यो इलिट खेलाडी हुन्छ । १९९२ मा साउथ क्यारिलोनाको हिल्टन हेड आयल्यान्डमा भान डेर मिएर टेनिस एकेडेमीमा ३ वर्ष प्रशिक्षक भए । त्यसपछि डब्लूटीएमा रहेर प्रशिक्षण गरे । 

उनको प्रशिक्षणमा दक्षिण अफ्रिकाकी अमान्दा कोएट्जरले १२ ग्रान्ड स्लाममा प्रतिस्पर्धा गरिन् । १२ औं वरीयताकी कोएट्जरलाई उनले पाँचौं स्थानमा ल्याएका थिए । १९९३ मा कोएट्जरको जोडी डबल्समा यूएस ओपनको फाइनलमा पुग्यो । अरान्चा साँन्चेज भिकोरियोको जोडीसँग उपाधि भिडन्तमा पराजित भयो । सेन्टर कोर्टमा उत्रिएर सुजयले कोएट्जरलाई प्रशिक्षण गराएका थिए । केही हदसम्म ग्रान्डस्लाममा उत्रिने उनको सपना पूरा भएको थियो । उनी भन्छन्, ‘एउटा नेपालीलाई यो निकै ठूलो अवसर थियो ।’ सुजयको प्रशिक्षणमा जापानकी नाआको सावामात्सु, अर्जेन्टिनाकी मर्सिडिज पास, दक्षिण अफ्रिकाकी मारिएन डी’ सुवार्डट, ग्रिसकी क्रिस्टियना पापाडाकी उत्रिसकेका छन् । 

विजयले पाइलट कोर्स गएदेखि नै टेक्सास लामा परिवारको आत्मीय सहर बनेको थियो । सुजय अहिले त्यहीं छन् । पछिल्लो २२ वर्ष उनी कलेजको प्रशिक्षक छन् । अमेरिकामा कलेज प्रतिस्पर्धा ठूलो छ । लिग पनि ठूलो हुन्छ । टिम ट्राभलमा ६५ हजार, खेल सामग्रीमा ३० हजार र भ्रमणका लागि २० हजार डलर छुट्याइएको हुने सुजय बताउँछन् । छात्रवृत्ति पाएर पढिरहेका ८ टेनिस खेलाडीका लागि १२ कोर्ट छन् । त्यसैले राम्रो खेल्न र एक्सपोजर पाउन बाहिर जानुपर्ने नेपाली खेलाडीको बाध्यता देख्छन् । उनको नजरमा नेपालका नम्बर एक संरक्षक भूषण बज्राचार्य परेका छन् । संरक्षकलाई विश्व टेनिसको माथिल्लो स्तरमा पुर्‍याउने प्रयासमा उनी छन् । कुनै न कुनै रूपमा सुजय नेपाललाई सहयोग गर्न लागिपरेका छन् । सपोर्ट प्रोजेक्ट नेपाल नामक गैरसरकारी संस्था त्यसैको उपज हो । मातृभूमिलाई सहयोग गर्न पैसा, पब्लिसिटी नभई आत्मसन्तुष्टिलाई गर्ने गरेको बताउँछन् । 

आफ्नो टेनिस जीवनलाई पछाडि फर्केर हेर्दा सुजय भाग्य र मिहिनेत दुवै देख्छन् । टेनिसमा उनी गहिरिएर लागेका छन् । ‘अरूभन्दा अब्बल भएका कारण म अमेरिकामा सफल भएँ,’ यसको श्रेय उनी दूरदृष्टि भएका बुवालाई नै दिन्छन् । बुवा हेमले सुजयमा खासै खोट देखेनन् । सायद सुजयले बुवाका अगाडि कहिल्यै टोपी उल्टो घुमाएर खेलेनन् । 
 

 

 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार