समाचार

सांसद संख्या थप्ने कुरा अस्वीकार्य : एमाले

  • ‘समयमै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नगर्ने नियत’
  • पहिलो स्थान ल्याएकोमा बैठकमै केक काटेर खुसियाली
- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १, २०७४-प्रमुख प्रतिपक्षी एमालेले संविधानविपरीत प्रतिनिधिसभाको सदस्य संख्या बढाउने कुरा आफूलाई अस्वीकार्य हुने बताएको छ । गत साता प्रधानमन्त्री निवासमा भएको प्रमुख दलको बैठकमा सत्तारूढ दलका नेताहरूबाट निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुभन्दा २ सय ४० निर्वाचन क्षेत्रलाई नै निरन्तरता दिनु उचित हुने मनसाय व्यक्त भएको थियो । एमाले स्थायी समितिको आइतबारको बैठकमा उक्त विषयमाथि समीक्षा भएको हो । बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने धारणा तय गरेको छ । समयमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नगर्ने नियतबाट यस्तो विषय आइरहेको ठहर एमालेको छ ।

‘समयमै निर्वाचन नगर्ने नियतबाट आएको यस प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर गर्दै हाम्रो पार्टी उक्त कुरा पूर्ण रूपमा अस्वीकार गर्दछ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न संविधानले व्यवस्था गरेअनुरूप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हाम्रो माग हो ।’ 

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नहुँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारी गर्न नसकिएको भन्दै निर्वाचन आयोगले समेत सरकारको ध्यानाकर्षण गराइरहेको छ । साउन १५ भित्र क्षेत्र निर्धारणको प्रतिवेदन दिइए मात्र संविधानले तोकेअनुसार माघ ७ भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सहज रूपमा सम्पन्न गर्न सकिने जानकारी आयोगले सरकारलाई गराइसकेको छ । संसद्ले पनि क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी ऐन गत चैतमै बनाइसकेको छ । तर सरकारले आयोग गठन गरेको छैन । 

निर्वाचन नतिजाको समीक्षालगायत विषयमा छलफल गर्न बसेको स्थायी समिति बैठकले आइतबारबाट सुरु गरिएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी कमिटीहरूलाई निर्देशनसमेत दिएको छ । सबै नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन एमालेले निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ । असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा पनि पहिलो स्थान ल्याउन एकताबद्ध भएर परिचालित हुन पनि बैठकले पार्टी कमिटीलाई निर्देश गरेको छ । चुनावमा पार्टीका तर्फबाट निर्वाचितहरूलाई एमालेले साउनभित्रै अभिमुखीकरण तथा प्रशिक्षण दिने निर्णय गर्दै बैठकले त्यसका लागि मिति, स्थान र व्यवस्थापन गर्न प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ । 

एमालेले यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशन प्रदेश २ बाहेक अन्य स्थानमा खुला गरेको छ । अध्यक्ष केपी ओली निवासमा भएको बैठकमा स्थानीय चुनावमा पहिलो स्थान हासिल गरेको भन्दै केक काटेर नेताहरूले शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार