समाचार

नेपाल र अष्ट्रलियाबीच सचिवस्तरिय संयन्त्र बन्ने

- नारायण खड्का, अष्ट्रेलिया

असार ३०, २०७४- नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिव स्तरीय संयत्र गठन भएको छ । परराष्ट्र सचिव शंकरदास बैरागी र अष्ट्रेलियाका कार्यवाहक  परराष्ट्र सचिव ग्यारी क्युनलानबीच शुक्रबार उक्त संयन्त्र गठन सम्बन्धी सम्झौता भएको हो । 

विदेश बिभागको कार्यलयमा भएको सम्झौतामा नेपालका तर्फबाट सचिवका साथै राजदुत लक्की शेर्पा र अधिकारीहरुको सहभागीता थियो भने अष्ट्रेलियाको तर्फबाट क्युनलान, दक्षिण एसियाली निर्देशक क्याथी ग्लजम्यान लगायतको उपस्थिति थियो । हस्ताक्षर कार्यक्रममा नेपालको तर्फबाट भिषा प्रक्रिया नेपालबाटै पुन: स्थापना र उच्चस्तरीय औपचारिक कुटनीतिक भेटघाटको लागि वातावरण बनाउनसमेत आग्रह गरिएको थियो । 

नेपाल र अष्ट्रेलियाको ६ दशकभन्दा लामो कुटनीतिक सम्बन्ध कायम भइसकेपनि अहिलेसम्म कुनै उल्लेख्य कुटनीतिक सम्बन्ध कायम नभएको अवस्थामा यसले सम्बन्ध विस्तारमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास नेपाली पक्षको छ । संयन्त्र निर्माण भएपछि प्रत्येक दुई बर्षमा बैठक गर्ने र आपसी कुटनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक बिषयहरुमा सम्बन्ध बिस्तारका लागि पहल गरिने क्यानबेरास्थित दुतावासद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 

हस्ताक्षर कार्यक्रममा सहभागि अष्ट्रेलियाली परराष्ट्र कार्यवाहक सचिव क्युनलानले नेपालसँगको यो अर्को तहको सम्बन्धले द्विदेशीय सम्बन्ध अझ मजबुत हुने बताएका थिए । उनले नेपालमा लगानी अभिबृद्धीका लागि अष्ट्रेलिया सरकार सदैव सकारात्मक रहेको जानकारी दिंदै नेपालबाटै भिषा प्रक्रिया शुरु गर्ने बिषयमा समेत अष्ट्रेलिया सरकार रचनात्मक उपायहरु अबलम्बन गर्न सकारात्मक रहेको जानकारी दिएका थिए । 

अष्ट्रेलियाका लागि नेपाली राजदुत शेर्पाले संयन्त्र निर्माण भइसकेपछि यसले अष्ट्रेलियाको लगानी नेपाल भित्रयाउन मद्दत पुर्याउने विश्वास ब्यक्त गरिन् । शेर्पाले अहिलेसम्म अष्ट्रेलियाबाट कुनैपनि फाइदा लिन नसकेको बताउँदै यो सम्झौताको माध्यमबाट नेपालले अष्ट्रेलियाबाट धेरै फाईदा लिनको लागि पहल गर्न सजिलो हुने बताइन ।  

प्रकाशित: असार ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार