अर्थ / वाणिज्य

अन्नपूर्ण फेदीमा केबलकार योजना

- दीपक परियार, मादी गाउँपालिका (कास्की)

असार २९, २०७४-मनाङ र लमजुङसँग सीमा जोडिएको कास्कीको मादी गाउँपालिकाले अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबलकार पुर्‍याउने योजना सार्वजनिक गरेको छ । प्रथम बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले पर्यटकीय गाउँ सिक्लेसदेखि कोरीको लेकसम्म केबलकार पुर्‍याउने योजना सुनाए । 

गाउँपालिकाको केन्द्र याङ्जाकोटमा बुधबार भएको गाउँसभामा पर्यटन गुरुयोजना बनाएर बहुवर्षीय नीतिअनुरूप केबलकार निर्माणलाई अगाडि बढाउने गुरुङले बताए । पहिलो बजेटमा केबलकारको सम्भाव्यता अध्ययन गर्न ६ लाख रुपैयाँ छुटयाइएको छ । ‘निजी क्षेत्रको सहभागितामा केबलकारको निर्माण हुनेछ,’ उनले भने, ‘त्यसमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिनेछ ।’ उनले केबलकार निर्माणपछि पोखरा पुग्ने पर्यटकको ठूलो हिस्सा मादी गाउँपालिकामा आकर्षित गर्न सकिने बताए । ५ हजार फिटको उचाइमा रहेको सिक्लेसको भुलकचादेखि १५ हजार फिटमा रहेको कोरीसम्म केबलकार पुर्‍याउने गाउँपालिकाको योजना छ ।

क्लेसबाट कोरी पुग्न एक दिन पैदल हिँड्नुपर्छ । कोरी पुगेपछि आँखै अगाडि लस्करै अन्नपूर्ण प्रथम, दोस्रो, माछापुच्छ्ेर, लमजुङ हिमाल देख्न सकिन्छ । कोरीमा ठुल्ठूला खर्क छन् । ८ महिनासम्म हिउँ जम्ने उक्त ठाउँमा बर्खामा यार्सागुम्बु पनि पाइन्छ । मादीको १ नम्बर वडा सिक्लेसका वडाध्यक्ष सुरज गुरुङले ८ महिना हिउँ जम्ने ठूलो ठाउँ भएकाले स्केटिङको प्रबल सम्भावना भएको बताउँछन् । ‘भेडा, चौंरीको लागि कोरी उपयुक्त छ,’ उनले भने, ‘केबलकार बनेपछि पर्यटन व्यवसायसँगै पशुपालन पनि फस्टाउँछ ।’

गुरुङका अनुसार कोरीबाट एक दिन पैदल हिँडेर दूधपोखरी र २ दिन हिँडेर मनाङको नमुन पास पुग्न सकिन्छ । गाउँपालिका प्रमुखले कुल ३७ करोड ९१ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जसमध्ये चालुतर्फ २१ करोड ५३ लाख २७ हजार र पुँजीगततर्फ १६ करोड ३७ लाख ७६ हजार रुपैयाँ छ । त्यसमध्ये केन्द्रीय अनुदान ३२ करोड, सामाजिक सुरक्षा भत्ता ५ करोड, अघिल्लो आर्थिक वर्षको ४२ लाख २० हजार रहेको छ । गाउँपालिकाको वार्षिक आय २६ लाख रुपैयाँ रहेको कार्यकारी प्रमुख नारायणप्रसाद अधिकारीले जनाए । बजेटको मुख्य हिस्सा भौतिक पूर्वाधार विकासमा खर्चने योजना गाउँपालिकाको छ । 

भौतिक पूर्वाधार विकासमा मात्रै १० करोड ९४ लाख रुपैयाँ छुटयाइएको छ । गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले कास्कीको सबैभन्दा विकट र फैलिएको भूगोल भएकाले प्रमुख प्राथमिकता सडक यातायातलाई दिएको बताए । उनले आयस्रोत हुने ठाउँमा यो वर्ष जिल्ला समन्वय समितिले रकम उठाएको र त्यसबाहेक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बाट पनि कुनै परिपत्र नआएकाले हाल केन्द्रीय अनुदानमा भर पर्नुपरेको उल्लेख गरे । गाउँसभाले आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास र सेवा प्रवाह र वित्तीय व्यवस्थापन र सुशासनका लागि बजेट विनियोजन गरेको छ ।

कास्कीका १ महानगर र ४ गाउँपालिकामध्ये क्षेत्रफलका हिसाबले मादी गाउँपालिका सबैभन्दा ठूलो छ । ५ सय ६३ वर्गकिलोमिटर भूगोलमा फैलिएको गाउँपालिकाको जनघनत्व भने निकै कम छ । ०६८ को जनगणना अनुसार मादीको जनसंख्या १८ हजार १ सय ५३ छ । गाउँपालिकाको अधिकांश भूभाग एक्याप क्षेत्रभित्र पर्छ । गाउँसभामा संसदीय विकास समिति सभापति रवीन्द्र अधिकारीले ठूलो भूगोल हुँदैमा चिन्ता गर्नुपर्ने विषय नरहेको बताए । उनले पर्यटकीय सम्भावना बोकेको र साधनस्रोत सम्पन्न भएकाले भविष्यमा नमुना गाउँपालिका बन्नेमा निश्चिन्त रहन आग्रह गरे ।

 

प्रकाशित: असार २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार