विचार/विश्‍लेषण

जलवायु परिवर्तनको असर

- सुशीलकुमार शर्मा

असार २९, २०७४-जलवायु परिवर्तनले विशेषगरी हिमनदी, जलसम्पदा, कृषि, वन तथा जैविक विविधता, मानव बस्ती, भौतिक संरचना र जनस्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पारिराखेको छ । जलवायु परिवर्तनका हिसाबले नेपाल विश्वकै चौथो जोखिमपूर्ण मुलुकमा पर्छ । नेपालमा वर्षेनि करिब ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो वृद्धिदर अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी हो । जलवायु परिवर्तनले राष्ट्रिय विकासमा असर पारेको छ । विविध भौगोलिक बनोट, कमजोर भौगोलिक संरचना र प्रतिकूल प्राकृतिक वातावरणका कारण नेपाल जलवायु परिवर्तनको असरप्रति अति संवेदनशील छ, हुनुपर्छ । 

जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका क्षेत्र र समुदायमा कार्यक्रम सञ्चालन गर्नु, कार्यक्रमलाई जनस्तरमा आन्तरिकीकरण गर्नु र यस विषयमा अन्तर्राष्ट्रिय मञ्चमा यसबाट जोखिममा परेका देशहरूको साझा आवाज स्थापित गर्नु आजका चुनौती हुन् । यस वर्ष केन्द्रीय तथ्याङ्क विभागले पहिलोपटक जलवायु परिवर्तन प्रभाव सर्वेक्षण, २०७३ सम्पन्न गरेको छ । पहिलो चरणमा पाँचवटा जिल्ला– सप्तरी, काठमाडौं, मुस्ताङ, दैलेख र कैलालीमा गरिएको पाइलट सर्वेक्षणको नतिजाका आधारमा प्रश्नावली तथा सर्वेक्षण विधि परिमार्जन गरी राष्ट्रिय स्तरको यो सर्वेक्षण सञ्चालन गरिएको थियो । यसबाट प्राप्त तथ्याङ्कले नेपालमा दिगो विकास लक्ष्यका मुख्य सूचकमा जलवायु परिवर्तन र वातावरण सम्बन्धित सवाललाई सम्बोधन गर्न मद्दत पुग्नेछ ।

 दिगो विकासका तीनवटा खम्बा– सामाजिक, आर्थिक र वातावरणीय विकास रहेका छन् । यो सर्वेक्षणको मुख्य उद्देश्य जलवायु परिवर्तनले आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा पारेका असर तथा घरपरिवारले अनुभव गरेका प्रभाव र अनुकूलनबारे जानकारी लिनु हो । यो सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले जलवायु परिवर्तन अनुकूलन सम्बन्धी रणनीति तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

२६ जिल्लामा गरिएको यो सर्वेक्षणबाट जलवायु परिवर्तन सम्बन्धी मुख्य तीन किसिमका विवरण लिइएको छ । पहिलो, सम्बन्धित घरपरिवारलाई जलवायु परिवर्तनको जानकारी छ कि छैन ? दोस्रो, उक्त घरपरिवारलाई जलवायु परिवर्तनले दैनिक जीवनयापन लगायत आर्थिक तथा अन्य क्षेत्रमा पारेको असर तथा प्रभावबारे विवरण लिइएको छ । तेस्रो, जलवायु परिवर्तनले पारेको असर तथा प्रभावको सामना गर्न अपनाएका अनुकूलनको विषयमा जानकारी लिइएको छ । 

मुख्य रूपमा जलवायु परिवर्तन भन्नाले तापक्रम तथा वर्षामा भएको परिवर्तन भन्ने बुझिन्छ । यस्तो परिवर्तन हेर्न करिब २५ देखि ३० वर्षको सम्बन्धित ठाउँको तापक्रम तथा वर्षाको उतार–चढाव हेर्नुपर्ने हुँदा यो सर्वेक्षणमा घरपरिवार छनोट गर्दा दुइटा दायरा राखिएको थियो– उत्तरदाता ४५ वर्ष वा त्योभन्दा माथिको हुनुपर्ने र उत्तरदाता उक्त क्षेत्रमा २५ वर्षदेखि बसोबास गरेको हुनुपर्ने ।

सर्वेक्षणअनुसार करिब ४९ प्रतिशत घरपरिवारले जलवायु परिवर्तनबारे सुनेको पाइयो । तीमध्ये ४३ प्रतिशत घरपरिवारले रेडियो र २८ प्रतिशत घरपरिवारले टेलिभिजनबाट उक्त जानकारी पाएको बताए । यस सर्वेक्षणमा धेरैजसो उत्तरदाताले वन विनाश, प्राकृतिक प्रकोप तथा मानवीय हस्तक्षेपलाई जलवायु परिवर्तनका मुख्य कारणका रूपमा लिएको पाइएको छ भने धेरैले विगत २५ वर्षमा सुख्खा खडेरी तथा रोग किराको प्रकोपमा वृद्धि भएको भन्ने जवाफ दिए । 

उत्तरदाताले तापक्रममा परिवर्तन तथा हिउँद र वर्षायाममा वर्षाको मात्रा तथा समयसमेत परिवर्तन भएको अनुभव गरेका छन् । ८५ प्रतिशत उत्तरदाताले वर्षायामको समय करिब एकदेखि चार हप्ता समय ढिलो भएको अनुभव गरेका छन् भने ५७ प्रतिशत उत्तरदाताले हिउँदे र वर्षाको समय करिब १ देखि ४ हप्ता ढिलो हुने गरेको अनुभव गरेका छन् ।

उच्च हिमाली क्षेत्रका शतप्रतिशत घरपरिवारले विगत २५ वर्षको तुलनामा खडेरी, पहिरो, हिमपहिरो र रोग/किराको प्रकोप बढेको अनुभव गरेका छन् भने समशितोष्ण क्षेत्रका ६४ प्रतिशत घरपरिवारले आगलागीको घटनामा वृद्धि भएको उल्लेख गरेका छन् । मानव स्वास्थ्यमा समेत जलवायु परिवर्तनको असर देखिएको छ । १९ प्रतिशतथ घरपरिवारले तापक्रम वृद्धिका कारण लाग्ने रोग र २१ प्रतिशत घरपरिवारले पानीका कारणले लाग्ने रोगमा वृद्धि भएको बताएका छन् । विशेषगरी रुघाखोकी, ज्वरो, झाडापखाला तथा श्वास–प्रश्वास सम्बन्धी रोग बढेको छ ।

यस सर्वेक्षणले सतहको पानीको मात्रामा ह्रास आइरहेको तथा पानीको मुहानसमेत परिवर्तन भएको देखाएको छ । यसरी पानीका स्रोतहरूमा कमी आउनुमा अपर्याप्त वर्षा, वन विनाश तथा जनसंख्या वृद्धिलाई लिन सकिन्छ । सर्वेक्षणले विगत २५ वर्षमा मिचाहा झारको वृद्धि भएको देखाएको छ । ९२ प्रतिशत घरपरिवारले आफ्नो कृषि जमिनमा मिचाहा झारको प्रकोप बढेको बताए । यसकारण उत्पादनमा कमी भई आम्दानीमा समेत असर गरेको बताए । 

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न स्थानीयले विविध तरिका अवलम्बन गरिरहेको पाइयो । पहिचान गरिएका जम्मा २२ वटा कृषिसंँग सम्बन्धित र ७ वटा गैरकृषिसँग सम्बन्धित त्यस्ता तरिकामध्ये कृषिसँग सम्बन्धित धेरैजसो घरपरिवारले अप्राङ्गारिक मलको प्रयोग, मिश्रित बाली प्रणालीमा वृद्धि तथा सुधारिएको बीउ–बिजनको प्रयोगमा वृद्धिजस्ता तरिका मुख्य रूपमा अवलम्बन गरेको पाइयो भने गैरकृषि क्षेत्रसँग सम्बन्धित जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका तरिकामध्ये आफ्नो खाद्य उपभोग प्रवृत्तिमा परिवर्तन गरेको, विस्तारै कृषि व्यवसायबाट गैरकृषि व्यवसायतर्फ आकर्षित भएको, पूर्वाधारको विकाससँग सम्बन्धित कार्यमा संलग्न भएको तथा आफूहरू समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन कार्यमा सहभागी भई जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा भूमिका खेलेको बताए ।

यो सर्वेक्षणबाट प्राप्त तथ्यांकले जलवायु परिवर्तनको मापनलाई नीति, रणनीति तथा योजना प्रक्रियामा समायोजन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसबारे जनचेतना अभिवृद्धि गर्न, मानवीय तथा संस्थागत क्षमता अभिवृद्धि गर्न तथा यसले निम्त्याउने प्रकोपबाट अनुकूलित हुनसमेत महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

शर्मा केन्द्रीय तथ्यांक विभागका निर्देशक हुन् ।

प्रकाशित: असार २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार