सूचना प्रविधि

दरबारमार्गमा ‘रोबोट परी’

- अतुल मिश्र, काठमाडौं

असार २८, २०७४-दरबारमार्गस्थित एसबीआई बैंक जानुभयो भने तपाईंको स्वागत एउटा रोबोटले गर्नेछ । ‘परी’ नाम गरेको यो रोबोटले तपाईंलाई बैंकिङ प्रक्रियामा समेत सघाउनेछ । 

‘मुलुकमै व्यावसायिक रूपमा उपयोग गरिएको यो पहिलो रोबोट हो,’ पाइला टेक्नोलजीका संस्थापक इन्जिनियर सागर श्रेष्ठले दाबी गरे ।  

भारतीय राजदूत मन्जीभ सिंह, एसबीआईका सीईओ अरुन्धती ब्रज्राचार्य र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गत शुक्रबार संयुक्त रूपमा उक्त रोबोटको उद्घाटन गरेका हुन् । 

परीले बैंकमा आउने व्यक्तिलाई स्वागत गरेपछि त्यहाँ भएका चार वटा डिजिटल मेसिन कसरी चलाउनेबारे जानकारी दिने गरेको पाइलाका अर्का सदस्य दीपकमल भुसालले बताए । ‘वेलकम टु एसबीआई इन टच,’ रोबोटले बैंकमा प्रवेश गर्नेहरूलाई भन्छ । रोबोटले आफूनजिक कोही आउँदा त्यसको पहिचान गरेर ‘हेलो आई एम परी, हवाट डु यु वान्ट टु डु ?’ भनी नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने गरेको छ । 

यसपछि रोबोटको छातीमा भएको स्क्रिनमा बैंकमा भएका ४ वटा मेसिनका बारेमा संकेत आउँछ । ग्राहकले नेपाली वा अंग्रेजी भाषा एवं आफूले खोजेको मेसिनका लागि जानकारी थिचेपछि रोबोटले ती मेसिनमा बैंकिङ सेवा कसरी लिने भन्नेबारे व्याख्या गर्दै स्क्रिनमा भिडिओ समेत देखाउँछ ।

‘यो रोबोट हिँडडुल नगरे पनि एक ठाउँमा रहेर ग्राहकको जिज्ञासा शान्त गर्छ,’ भुसाल भन्छन्, ‘अब दोस्रो चरणमा आफैं हिँडडुल गर्ने र नेपाली भाषा बुझ्ने रोबोट बनाउँदै छौं ।’ करिब आठ महिनामा नेपाली ग्राहकले बोलेको कुरा बुझेर त्यसैअनुसार उत्तर दिने रोबोट निर्माण हुने उनले बताए । ‘बडी बनाउनेदेखि सबै सामान हामीले नेपालकै उपयोग गरेका छौं,’ उनले दाबी गरे । 

पाइला टेक्नोलजीका इन्जिनियरको समूहले यो रोबोट बनाएको हो । पाइलाका संस्थापक सदस्यमा सागर श्रेष्ठ, नीरज बस्नेत, रविन गिरी, वसिम अकरम खान, दीपकमल भुसाल र विनय राउत गरी ६ जना इन्जिनियर छन् । यस्तै अनिष श्रेष्ठ, रवि बस्नेत आयुष कसजूसमेत पाइलाका सदस्य छन् । नीरज बस्नेत, सागर श्रेष्ठ र रविन गिरी पुल्चोक इन्जिनियरिङ क्याम्पसस्थित रोबोटिक क्लबका सदस्य समेत रहिसकेका हुन् । 

प्रकाशित: असार २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार