स्थानीय निर्वाचन २०७४

किन हार्‍यो समाजवादी फोरम ?

- जितेन्द्र साह, विराटनगर
स्थानीय भाषा ओझेलमा पर्ने मान्यताले सतहमा नआए पनि भाषिक मुद्दाले पनि मधेसीको भोट मुख्य दलतिर गयो

असार २७, २०७४- दोस्रो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरमले मधेसी बहुल मोरङ, सुनसरी र झापाकै गाउँ एवं नगरमा अपेक्षित परिणाम ल्याउन सकेन । उसले धेरै स्थानमा वडास्तरकै जितमा सन्तोष गर्नुपर्‍यो । निर्वाचनमा सहभागी हुने/नहुने अन्योलका कारणले पर्याप्त गृहकार्य गर्न नसक्नु, एक्कासि आन्दोलन छाडेर चुनावमा जाँदा जनताले विश्वास नगर्नु, स्थानीय समृद्ध भाषाहरूको साटो हिन्दीलाई महत्त्व दिनु र अति जातिवादी सोच उसको हारको कारण मानिएको छ ।

मोरङकै सीमावर्ती क्षेत्र जहदा गाउँपालिकामा बाहेक कतै पनि उसले प्रमुख र उपप्रमुखमा जितेन । मधेस आन्दोलनका बेला निकै चर्चामा रहेको मोरङको रंगेलीमा प्रमुख र उपप्रमुखको प्रतिस्पर्धामा फोरम चौथो स्थानमा रह्यो । यहाँ माओवादी केन्द्रले प्रमुख र उपप्रमुख जितेको छ । ‘आन्दोलन कुनै टुंगोमा नपुगिकनै फोरम चुनावमा होमियो, राष्ट्रिय जनता पार्टी (राजपा) मौन बस्यो,’ रंगेलीवासी गोपाल मण्डलले भने, ‘कि त दुवै आन्दोलनमा बस्नुपथ्र्यो, कि त मिलेर चुनावमा आउनु पथ्र्यो ।’ एक्लै चुनावमा आएको फोरमलाई जनताले पत्याउन नसक्नु र स्वयं उसले विश्वासको वातावरण सिर्जना गर्न नसक्नु पराजयको कारण भएको उनले बताए ।

मोरङकै दक्षिणपूर्वी रतुवामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले, सुनवर्षी नगरपालिकाको दुवै प्रमुख पदमा कांग्रेस र बुढीगंगा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा फोरम लोकतान्त्रिकले कब्जा गर्‍यो । बुढीगंगा थारू बहुल गाउँ हो । यो गाउँमा पनि निकटतम प्रतिस्पर्धा गर्ने दलमा कांग्रेस र एमाले नै रहे ।

मधेस आन्दोलनको चर्को प्रभाव पर्ने सीमावर्ती धनपालथान गाउँपालिकामा कांग्रेसकै प्रभाव देखियो । यहाँ पनि दोस्रो स्थानमा एमाले रह्यो । थारू र मधेसी बहुल ग्रामथान गाउँपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा फोरम लोकतान्त्रिक विजयी भए ।

विराटनगर सीमासँग जोडिएको कटहरी गाउँपालिकाको बजार क्षेत्रमा मधेस आन्दोलनका बेला संघीय समाजवादी फोरमकै दबदबा थियो । आन्दोलनका बेला यहाँ जनजीवन लगभग ठप्प नै रह्यो । चुनाव भने प्रमुख एवं उपप्रमुखमा कांग्रेसले जित्यो भने एमाले दोस्रो स्थानमा रह्यो । यहाँ पनि फोरम प्रतिस्पर्धामा देखिएन । एक/दुई वडामै सीमित रह्यो । मधेसी, आदिवासी राजवंशी र मुस्लिम समुदायले शान्ति, स्थिरता र विकासका लागि कांग्रेस एवं एमालेलाई रोजेको स्थानीय सरिता सरदारले बताइन् । ‘मधेस आन्दोलन निचोडमा पुगेर टुंगिएला भनेर जनताले महिनौंसम्म पीडा सहे, जनजीवन नै बन्धक बन्यो,’ समाजशास्त्री ईश्वर दाहालले भने, ‘त्यो अनुरूपको उपलब्धि प्राप्त नभएपछि मधेसी जनता चिढिए, मतपत्रमार्फत आक्रोश पोखे ।’ थुप्रै विकल्प हुँदाहुँदै पनि निश्चित जाति र समुदायभन्दा बाहिर निस्केर फोरमले राम्रा उम्मेदवारको खोजी नगर्दा एक/एक भोट पाउनलाई संघर्ष गर्नुपरेको उनले विश्लेषण गरे । दाहालले भने, ‘फराकिलो सोच राखेर फोरमले उम्मेदवार चयन गरेको भए नि:सन्देह परिणाम अहिलेकोभन्दा फरक हुन्थ्यो ।’

लामो मधेस आन्दोलनले फोरमका केही अनुहारलाई पूर्वाञ्चलवासीमाझ चिनाएको थियो । यसमा केही सम्भावना बोकेका ऊर्जाशील महिला पनि थिए । राम्रा उम्मेदवार खडा गरेमा विराटनगर महानगरपालिकाकै प्रमुख एवं उपप्रमुखमा उपेन्द्र यादव नेतृत्वको फोरमको बलियो दाबेदारी मानिएको थियो । स्थानीय मधेसी र पहाडी समुदायले फोरमले अघि सार्ने उम्मेदवारलाई हेरेर मात्र भोट कसलाई हाल्नेबारे सोच बनाउने भनेर बसेका थिए । ‘कुरा मधेसी वा पहाडी कसलाई भोट दिने होइन, राम्रो उम्मेदवार को हो,’ स्थानीय वृद्ध पार्वती भट्टराईले भनिन्, ‘उठेकामध्येबाट असललाई छान्ने हो, ती जुनसुकै जाति वा दलका हुन सक्छन् ।’ फोरमले यो महानगरमा आफ्नै दलभित्र सम्भावित उम्मेदवारको खोजी नगरी उपप्रमुखमा माओवादी केन्द्रसँग तालमेल गर्‍यो । ‘फोरमले कांग्रेस र एमालेको दाँजोमा बलियो उम्मेदवार दिनेतर्फ प्रयत्न गरेको देखिएन, खाली ठाउँ भरेजस्तो गर्‍यो’, एक मधेसी विद्यार्थी नेताले भने, ‘धन्न यहाँ दलको राम्रो संगठनका कारण सम्मानजनक मत आयो ।’ यो स्थितिमा पनि विराटगरको १९ वडामध्ये ६ वटामा फोरमले जितेको छ । यहाँ ७ वटा वडामा कांग्रेस, ३ वटामा एमाले, एकमा माओवादी र दुई वटामा स्वतन्त्र विजयी भएका छन् ।

फोरमका मेयर पदका उम्मेदवार तेस्रो र उसको गठबन्धन माओवादीका उपमेयर पदका उम्मेदवार दोस्रो स्थानमा रहे । ‘धेरै हदसम्म मधेसी समुदायकै भोटले विराटनगरको नेतृत्व कसले गर्ने निर्णय गर्छ ?,’ स्थानीय शिक्षक शिव सुवेदीले भने, ‘फोरमले बल गरेको भए अधिकांश वडा र प्रमुख पद जित्न सक्ने हो तर मधेसीभित्रका सम्भावना बोकेका अनुहारलाई उसले अगाडि ल्याउन सकेन ।’ मधेस आन्दोलनका बेला पूरै अशान्त रहने गरेको सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको प्रमुख एवं उपप्रमुखको पद कांग्रेसले कब्जा गरेको छ । यहाँ पनि दोस्रो स्थानमा एमाले रह्यो । थारू बहुल सुनसरीको दुहबी नगरपालिकाको मेयर र उपमेयरमा भने फोरम लोकतान्त्रिकले जित्यो । यहाँ पनि दोस्रो स्थानमा कांग्रेस रह्यो । 

सुनसरीकै रामधुनी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले आए । प्रतिस्पर्धामा पनि यिनै दुई दल रहे । कोसी गाउँपालिकाको प्रमुख पदमा कांग्रेस विजेता भयो । यहाँ प्रमुखमा निकट प्रतिद्वन्द्वी एमाले र उपप्रमुख पदको निकटतम प्रतिद्वन्द्वीचाहिँ फोरम रह्यो । 
जित्नैपर्ने ठाउँमा पनि फोरमले संघर्ष गरिरहेको देखियो ।

सुनसरीकै गढी, हरिनगरा र देवानगन्ज गाउँपालिकामा कांग्रेसले दुवै पद हात पार्‍यो । यहाँको बर्जु गाउँपालिकाको प्रमुख एवं उपप्रमुख पदमा फोरम लोकतान्त्रिकले जित्यो । भोक्राहा गाउँपालिकामा संघीय समाजवादी फोरमले अध्यक्ष एवं उपाध्यक्ष जित्यो । झापाकै कतिपय नगर र गाउँमा मधेसी समुदायको बाक्लो बसोबास छ । तर यहाँ कतै पनि फोरमको प्रमुख पदमा उपस्थिति देखिएन । मधेसीको नाउँमा जसलाई उठाए पनि जित्ने परम्परागत सोचाइले फोरमलाई पूर्वी मधेसी बहुल भेकमा समेत अस्तित्व जोगाउन हम्मे परेको स्थानीय बुद्धिजीवी बताउँछन् । शिक्षित, चेतनशील एवं अगुवा मधेसी युवासँगको अन्तक्र्रियामा समेत फोरमलाई कांग्रेस, एमाले र माओवादीले उछिने । 

धनपालथानका अजित पासवानले भने, ‘फोरमका नेतामा अत्यधिक आत्मविश्वास वा घमण्ड देखियो, यसले उम्मेदवार छान्दा उनीहरूलाई लापरबाह बनायो, यसबाट अरू दललाई फाइदा पुग्यो ।’ जानकारहरूका अनुसार यो स्थितिमा २ नम्बर प्रदेशमा स्थानीय चुनाव सम्पन्न भएको भए पनि कांग्रेस र एमालेले नै अग्रता लिन्थे । किनकि ती दलले मधेस आन्दोलनमा हताहती भएका परिवारका सदस्यप्रति सम्मान व्यक्त गर्दै त्यहाँ उम्मेदवार छानेका छन् । 

‘आन्दोलनपिच्छै यहाँबाट नयाँ नेता र मन्त्री जन्मिन्छन् तर जनता जहाँको त्यही हुन्छन्,’ सप्तरी राजविराजका युवक श्रवण यादवले भने, ‘मधेसी जनताले नेता र मन्त्री बनाउनलाई ज्यान दिएको हो त ?’ गाउँ र नगरमा संगठन बनाउनेभन्दा पनि मधेसी समुदायकै निश्चित व्यक्ति वा टाउकेहरूलाई मात्र महत्त्व दिने रवैया मधेसी दलमा देखिनु पराजयको अर्को कारण बनिरहेको उनले बताए । चुनाव सम्पन्न भएको प्रदेशको पकड क्षेत्रमा समेत यही संकीर्ण धारणाले फोरमले वडास्तरमै संघर्ष गरेको उनको बुझाइ छ ।

प्रदेश नम्बर १ को धेरै ठाउँमा जित्ने सम्भावना भएको उक्त दलले कुनै वडा र गाउँपालिका जित्दा खुसी मनाउनुपर्ने स्थिति देखियो । एमाले नेता केपी ओली र कांग्रेस नेता शेखर कोइरालाले स्पष्ट रूपमा पटकपटक स्थानीय समृद्ध भाषाको साटो हिन्दीलाई बढावा दिन नसक्नेमा जोड दिइरहे । यसले मधेसी जनतामा यी प्रमुख दलप्रति विश्वास जगाउने काम गर्‍यो । ‘फोरम वा मधेसी दलले हिन्दीलाई तराईवासीको पहिचानसँग जोडदा स्थानीय भाषा, संस्कृत र संस्कार ओझेलमा पर्छ,’ समाजशास्त्री दाहालले भने, ‘हेर्दा सामान्य लाग्ने र उति सारो सतहमा नआएको यो भाषिक मुद्दाले पनि भित्रभित्रै मधेसीको भोट मुख्य दलतिर लग्यो ।’ मधेसी जनता पनि वंशज एवं अंगीकृत दुई खाले राष्ट्रियतामा विभाजित छन् । 

प्रकाशित: असार २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार