समाचार

कहिले टर्ला डुबान समस्या ?

- अवधेशकुमार झा, तिलाठी (सप्तरी)

असार २७, २०७४-भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेको छ । खाडो खोलाको बाढीका कारण यो समस्या भएको हो । डुबानकै समस्याले कयौं परिवार थातथलो छोडेर अन्यत्र गएका छन् ।

तिलाठीमा घर भए पनि अन्यत्रै बसोबास गर्नेको संख्या पनि कम छैन । यस वर्ष पनि तिलाठीमा गत शनिबारको बाढीका कारण ४ सयभन्दा बढी घरमा पानी पसेको छ । बाढी आएको साता बित्दा पनि तिलाठी पूर्वको टोलका घरहरू चारैतिरबाट पानीले घेरिएका छन् । पानीको निकास हुन सकेको छैन ।

तिलाठीको बाढी नियन्त्रणका लागि बर्सेनि करोडौं रकम खर्च हुँदै आएको छ । तर न त तिलाठी डुबानबाट बच्न सकेको छ न त तिलाठीवासी बाढीको त्रासबाट निस्कन सकेका छन् । बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा महल्हनियालगायत गाउँ समस्यामा पर्ने गरेका छन् ।

चुरेबाट निस्केको खाडो नदी नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणका खाडो नदीसित जोडिएका गाउँहरू हरेक वर्ष खाडोको निसानामा पर्छन् । सबैभन्दा बढी प्रभावित गाउँ तिलाठी हो । यो क्षेत्र हरेक वर्ष डुब्नुका २ वटा प्रमुख कारण छन् । एउटा स्थानीय समस्या अनि अर्को भारतको हेपाहा प्रवृत्ति । यी दुई समस्या समाधान गर्न सकिए खाडो नदीको बाढीबाट तिलाठी र आसपास गाउँलाई सुरक्षित बनाउन सकिन्छ ।

खाडो नदी नियन्त्रण योजनाले चुरेदेखि तिलाठीसम्म बाँध निर्माण गर्ने योजनाका साथ उत्तरतिर लौनियासम्म बाँध निर्माण गरिसकेको छ । तर स्थानीय बासिन्दाको अवरोधका कारण तिलाठीभन्दा पूर्व बाँध निर्माण हुन सकेको छैन ।

केही वर्षअघिसम्म सकरपुरा क्षेत्रबाट बग्दै आएको नदी पछिल्लो समय बहाव परिवर्तन गरी १ किलोमिटर पश्चिम आएको छ । पुरानो नदीको भागमा अहिले सकरपुराका केही व्यक्तिले खेती गर्न थालेका छन् ।

बाँध निर्माणमा अवरोध गर्ने तिलाठीवासीहरू पुरानै स्थानबाट नदी बगाउनुपर्ने माग राख्छन् । नदीले एक किलोमिटर पश्चिमतिर बहाव बनाएकाले जुन अव्यावहारिक देखिन्छ । 

स्थानीय देवनारायण यादव भन्छन्, ‘एकातिर विगतमा नदी बग्दै गरेको क्षेत्रमा सरकारी जग्गा उब्जाएर खानेलाई सरकारले केही नगर्ने अर्कोतर्फ हामीलाई सुकुम्बासी बनाएर बाँध निर्माण गर्न खोज्नु न्याय होइन ।’ निजी जग्गामै बाँध निर्माण गर्ने हो भने मुआब्जा दिनुपर्ने यादवको कथन छ । तर खाडो नदी नियन्त्रण योजना भने मुआब्जा दिनुपर्ने प्रावधान नरहेको बताएपछि तिलाठीवासी बाँध निर्माणको अवरोधमा उत्रेका छन् ।

भारतीय हेपाहा प्रवृत्ति

खाडो नदीको बाढीबाट तिलाठी र आसपास बस्ती हरेक वर्ष डुबान कटानमा पर्नुको अर्को प्रमुख कारण हो भारतीय हेपाहा प्रवृत्ति । सहमतिअनुसार काम नगर्ने, नदीको बहावलाई छेक्ने गरी बाँध निर्माण गर्ने अनि नदीको पुरानो बहावलाई नखोल्नेलगायत भारतीय प्रवृत्तिले पानीको सहज निकास हुन नसक्दा नेपाली बस्ती डुब्ने गरेको छ ।

गतवर्ष पानीको बहावलाई नै छेक्ने गरी भारतीय पक्षले दशगजामा बाँध निर्माण गर्न थालेपछि तिलाठी र आसपासका जनता रोक्न जाँदा झडप भएको थियो । गत वर्षको झडपपछि पनि भारतीय पक्षले सहमति पालना गर्न आनाकानी गरेको छ ।

सन् २०१४ को मार्चमा दुई देशका प्राविधिकहरू स्थलगत अवलोकनपछि पटनामा भएको बैठकमा खाडो र जिता खोलालाई हाल विवादित रहेको तिलाठी दशगजा बाँध स्थल हुँदै पश्चिमतर्फ च्यानल खनी भलुवाही खोलामा खसाल्ने सहमति भएको थियो । च्यानल खन्नका लागि तय भएको जग्गा भएरै विगतमा खाडो नदी पश्चिम दक्षिण बग्दै गरेको थियो । दुवै देशका प्राविधिकले संयुक्त सर्भे गरेर योजना बनाई काम गर्ने सम्झौता भएको थियो ।

६० घर डुबानमा

विराटनगर– झापाको भद्रपुरमा मेची खोलामा आएको बाढी पस्दा नगरपालिका ५ स्थित टोलका ६० भन्दा बढी घर डुबानमा परेका छन् । केही दिनयताको अविरल वर्षापछि मेची खोलामा बाढी आएको थियो । विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार डुबानमा परेका परिवारलाई उद्धार गरी भद्रपुर माविमा राखिएको छ । वर्षा नरोकिएकाले बाढी घटेको छैन । बस्तीका थप घर डुबानमा पर्ने क्रम जारी रहेको भन्दै सम्भावित क्षति रोक्न निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

बाढीबाट बच्न उच्च सतर्कता

गुलरिया– अविरल वर्षाका कारण बबई र कर्णाली नदीमा जलस्तर बढ्दै गएको छ । आइतबारदेखिको वर्षाका कारण जलस्तर बढेपछि स्थानीय प्रशासनले बबई र कर्णाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । 

दाङमा पानी नरोकिएकाले बबईमा जलस्तर बढ्दै जाने खतरा भएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सतर्क गराइएको उनले बताए । बबई नदी दाङ हुँदै बर्दियाबाट भारतीय सीमासम्म बग्ने गरेको छ । दाङमा भारी वर्षा हुनासाथ बर्दियामा बाढी आउने गर्छ । बबईमा जलस्तर ३ दशमलव ४६ रहेको आपतकालीन सूचना व्यवस्थापन कार्य सञ्चालन केन्द्रका अधिकृत रूपन ज्ञवालीले बताए । बबईमा ५ दशमलव ५ मिटर जलस्तर बगे बाढीको खतरा हुने उनले जनाए । उनका अनुसार दाङलगायतका पहाडी जिल्लामा अविरल वर्षा भइरहेकाले जलस्तर बढ्दै गएको हो । 

बाढी आउने सम्भावना भएपछि नेपाली सेना, प्रहरी लगायतका सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न प्रशासनले निर्देशन दिएको छ । कर्णालीमा पनि जलस्तर बढ्दै गएको आपतकालीन सूचना व्यवस्थापन केन्द्रले जनाएको छ । सोमबार दिउँसोसम्म कर्णालीमा ८ दशमलव २६ मिटर माथि जलस्तर बगिरहेको छ । 

कर्णालीमा १० मिटर जलस्तर पुग्न थालेपछि बाढीको उच्च जोखिम मानिन्छ । प्रजिअ थापाका अनुसार अहिले नै आत्तिनुपर्ने अवस्था नभए पनि पहाडी जिल्लामा वर्षा भइरहेकाले आसपासका क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । कर्णाली नदीको जलमापन केन्द्र कैलालीको चिसापानीमा र बबईको बर्दियाको चेपाङमा छ । ती केन्द्रले जलस्तर बढ्दै वा घट्दै गएको जानकारी स्थानीय प्रशासन, प्रहरी, स्थानीय समुदाय, रेडक्रस लगायतलाई दिने गरेका छन् । सदरमुकाम गुलरिया चेपाङको जलमापन केन्द्रले संकेत दिएको ५ घण्टाभित्र जलमग्न हुने गर्छ । चिसापानी केन्द्रले बाढीको संकेत दिएको चार घण्टामा राजापुर आसपासका क्षेत्र डुबान हुने गर्छ । ०७१ को साउन अन्तिम साता बबई नदीमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको थियो । बाढीले ३२ जनाको ज्यान जानुका साथै करिब ९० हजार जनसंख्या प्रभावित भएका थिए । 

बाढीपहिरोले सवारी आवागमन प्रभावित 

लमजुङ (कास)– सदरमुकाम बेंसीसहरको उत्तरी क्षेत्र खुदीको करिब ७ किमि क्षेत्रमा बाढीपहिरोले सवारी आवागमन प्रभावित भएको छ ।

हिमाली जिल्ला मनाङ आउजाउको एकमात्र यो मार्गमा खोलामा पुल छैन । बाढीपहिरो आउँदा गाडी वारपार गर्न नसकेर यात्रुहरू अलपत्र छन् । बाढीले बेंसीसहर नजिकै पुमाखोलाको कल्भर्ट भत्काएपछि खोला पारिबाटै उत्तरी लमजुङ र मनाङ चल्ने सवारी सञ्चालन भइरहेका छन् । निर्माण भएको दुई दशक बिते पनि यो सडक स्तरोन्नति भएको छैन भने खोलामा पुल नहुँदा उस्तै सास्ती छ । पुमाखोला बेंसीसहर–चामे सडकको प्रमुखविन्दु हो । बेंसीसहरबाट ४ किलोमिटरको दूरीमा पर्ने अक्करखोला खरखरे उतिसघारीदेखि चिसापानीसम्मको करिब २ सय मिटर सडक पहिरोका कारण निकै जोखिमपूर्ण छ । ‘सबैभन्दा समस्या पुमाखोला र खरखरे भीरको पहिरो हो । खोला तर्न पुल छैन । खरखरेमा पहिरो खसिरहन्छ । निकै डर छ,’ जिप चालक हुमप्रसाद गुरुङले भने । गत वर्ष स्थानीय बासिन्दाको घरसमेत बगाएको पुमाखोलामा पुल राख्न कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ । ‘पुमाखोलामा पुल राख्नुपर्छ भन्यौं । कसैले सुन्दैनन्,’ स्थानीय रामबहादुर गुरुङले भने ।

बेंसीसहरबाट उत्तरी लमजुङ हुँदै मनाङतर्फको बाटो बनाउन सडक विभागले २०५१/०५२ मा सुरु गरेको थियो । निर्माणको दुई दशकसम्म स्तरोन्नति नहुँदा र खरखरे भीरको पहिरो पन्छाउने कुनै उपाय नअपनाउँदा बर्सेनि यसले सताउने गरेको स्थानीयको गुनासो छ । फुस्रा ढुंगामाटो बग्ने र मस्र्याङदीले पनि विस्तारै कटान गरेपछि पहिरो झर्ने क्रम बढेको छ । पहिरो सामान्य पन्छाएर जोखिमपूर्ण तवरबाट सवारी सञ्चालन गरिएको छ । खुदीका व्यवसायी लेखमान कतिलाले सडकको स्तरोन्नति नहुँदा स्थानीयले समस्या खेप्नुपरेको बताए । खाद्यान्नलगायत सामान ढुवानी गर्न समेत अप्ठ्यारो परेको उनले बताए । ‘सदरमुकाम आउजाउ गर्न ज्यानकै बाजी लगाएर हिँड्नुपर्छ । सडक मर्मतमा कतैबाट पनि पहल छैन,’ उनले गुनासो गरे । 

पहिरोले घर भत्कायो

स्याङ्जा– अविरल वर्षाले पहिरो खस्दा गल्याङ नगरपालिका ८ तुलसीभन्ज्याङमा सोमबार होमबहादुर सारूको घर भत्किएको छ । टिनले छाएको एकतले घरमा माथिबाट आएको पहिरो खसेपछि पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । सारू सपरिवार सुरक्षित स्थान सरिसकेका छन् । 

प्रकाशित: असार २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार