कुराकानी

समाज अध्येता वन्त भन्छन्, ‘काठमाडौंमै नअटाउने इगो भएका मान्छेहरू छन्’

असार २५, २०७४-

प्रत्युष वन्त इतिहासकार तथा समाज अध्येता हुन् । दुई दशकदेखि प्रकाशित भइरहेको सिन्हास जर्नलको सम्पादकमण्डलका सदस्य वन्त अध्ययन अनुसन्धान संस्था मार्टिन चौतारीसँग पनि आबद्ध छन् । नेपालको इतिहास, शिक्षा, स्वास्थ्य र सामाजिक अर्थतन्त्रबारे खोज तथा अनुसन्धानमा निरन्तर लागिरहेका वन्त मिडियाबारे पनि सूक्ष्म अध्ययन गर्छन् । ‘मिडिया अध्ययन’ का संस्थापक सम्पादक वन्तका रेडियो र छापामाध्यमबारे पुस्तकहरु प्रकाशित छन् । इतिहासमा विद्यावारिधि गरेका वन्तको सहसम्पादनमा बीसभन्दा बढी पुस्तक प्रकाशित छन् । नेपालको इतिहास र समाजका विभिन्न आयामको समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनको अवस्था, अहिलेको समयमा नेपाली र विदेशी अध्येयताको चासोका क्षेत्र र पठन तथा अध्ययन संस्कृतिको विकासबारे वन्तसँग सुधीर शर्मायज्ञशले गरेको कुराकानीको सम्पादित अंश : 
 
नेपालसम्बन्धी अध्ययन अहिले के–कस्ता विषयमा केन्द्रित भइरहेको पाउनुहुन्छ ?
यसलाई दुई हिसाबले हेर्न सकिन्छ । नेपालको राजनीतिक र सामाजिक क्षेत्रका सार्वजनिक वृत्तहरूमा जेजस्ता विषयमाथि छलफल भइरहेको छ, त्यसअनुसार अध्ययन–अनुसन्धान गर्ने एउटा परिपाटी छ । जनयुद्ध चलेको पहिलो चार/पाँच वर्षहरूमा नेपालमा अध्ययन गर्न आउनेहरूलाई यसमाथि त्यति चासो थिएन, तर सन् २००१ को राजदरबार हत्याकाण्डपछि जनयुद्धलाई ध्यानमा राखेर अध्ययनहरू हुन थाले । अहिले भूकम्पलाई केन्द्रमा राखेर अध्ययन गर्ने टोलीहरू जताततै बनेका छन् । अर्को परिपाटी भनेको सामाजिक वृत्तमा जेसुकै छलफल भइराखोस् मतलब नराख्ने, आफ्नो विधाको कुनै विशिष्ट विषयमाथि मात्रै चासो राख्ने । यो दृष्टिबाट नेपालभित्र धेरै विषयमा काम भइरहेको छ । तर केके विषयमा भइरहेछ, भन्न गाह्रो छ । यस्ता कामलाई सार्वजनिक वृत्तमा देखाउने परिपाटी एकदमै कमजोर छ हाम्रो । 
 
तपाईंको अध्ययनचाहिं अहिले केमा छ नि ?
म जुन ठाउँमा काम गर्छु, त्यहाँ दुई थरी अध्ययनको काम हुन्छ । एउटा आफूले गर्ने, नितान्त आफ्नो अनुसन्धानको रुचि भएको काम । दोस्रो, संस्था चलाउनलाई आवश्यक संस्थागत कामहरू । यस्तो काम भनेको आफैंले अनुसन्धान नगर्ने तर अनुसन्धान गर्ने कामलाई व्यवस्थापन गर्ने हो– ‘रिसर्च म्यानेजर’ जस्तो । अनुसन्धानकै हिसाबले मैले अहिले मार्टिन चौतारीका रिसर्चर र एक अमेरिकी रिर्सचर मिलेर ‘नेपाल इज दि लङ नाइन्टिन फिभ्टिज’ भन्ने शीर्षकमा दुई ‘भोल्युम’ किताबको काम गरिरहेको छु । 
 
अहिले भइरहेको नेपाली समाजको अध्ययन कस्तो लाग्छ ?
नेपालमा अहिले मूलत: दुई थरी काम भइरहेका छन् । एक थरी भने घटनामा मात्रै केन्द्रित हुने । घटनाकेन्द्रित किताबहरू बजारमा प्रशस्तै भेटिन्छन्, तर घटनालाई अन्य सामाजिक, राजनीतिक र आर्थिक विकासजस्ता पक्षबाट फराकिलो सन्दर्भमा हेर्ने काम कम भएको छ । घटनाको व्याख्या गर्ने तर त्यस समयमा कुनै निश्चित पात्रहरू महत्त्वपूर्ण नै छैनन् जस्तो । अर्को तरिका छ, केही निश्चित पात्रहरू मात्रै महत्त्वपूर्ण छन्, लामो समयदेखि नेपाली समाजमा भइरहेका घटनाक्रम भने महत्त्वपूर्ण छैनन् भनेजस्तो गर्ने । 
 
अनि नेपालमा इतिहास विधाभित्र एक–एक गरी केलाउने थोरै मान्छे मात्रै छन् । समाजशास्त्रमा पनि लेखिनुपर्ने कुरा के हो भने–‘ह्वाइ सोलिड हिस्ट्री विल बी भेरी युजफुल फर सोसियोलोजी ?’ तर यस्तो लेख्ने आँट कसको ? हाम्रो अनुसन्धान पद्धति नितान्त नौलो वा कान्छो छ, परिपक्व भइसकेको छैन । हामीकहाँ समाजशास्त्रको पढाइ धेरै पछि सुरु भएको हो । यो कमजोर छ भन्ने पनि सबैलाई थाहा छ, तर कसरी बलियो बनाउने भन्नेबारे हामीकहाँ अलि कम छलफल हुन्छ । 
 
प्राज्ञिक अध्ययनहरू प्राय: अंग्रेजी भाषामा हुन्छन् र अंग्रेजीमै छापिन्छन् । यस्ता काम जसले त्यस विषयमा काम गरेका छन्, तिनले मात्र पढे हुन्छ कि अलि धेरैले पढून् भन्ने लाग्छ ?
यो सन्दर्भमा पनि भारतको केही उदाहरण दाँज्न सकिन्छ । भारतमा सन् १९३० को दशकसम्म एक थरी प्राज्ञिकहरू थिए, जो दुई भाषामा लेख्न सक्थे । उनीहरू अंग्रेजी र अर्को मातृभाषामा बराबरी लेख्थे, त्यसैले उनीहरूलाई अनुवादकको खाँचो परेन । तर नेपालमा भने केही विधामा त नेपाली भाषामै मात्र काम हुन्छ, जस्तो इतिहाससम्बन्धी विधा । २००७ सालसम्बन्धी इतिहासका सबै कुरा नेपालीमै मात्र उपलब्ध छन् । अंग्रेजीमा उपलब्धै छैनन् भनेको होइन, तर तपाईंले ००७ सालसम्बन्धी दसवटा किताब कुन–कुन पढ्नुपर्छ भनेर सोध्नुभयो भने नौवटा त नेपाली भाषामै छन् । यस्तो किन भयो त ? त्रिभुवन विश्वविद्यालयबाट ००७ सालको संक्रमणमाथि अनुसन्धान गर्ने एकाधबाहेक सबै व्यक्तिले आफ्नो ‘पीएचडी थेसिस’ नेपालीमा लेख्नुभएको छ । यसको फाइदा र बेफाइदा दुवै छ । नेपालसम्बन्धी अध्ययन–अनुसन्धान गर्ने विदेशीहरूले नपढिदिएको हुनाले त्यस्तो काम जति परिचित हुनुपर्ने हो, त्यति हुन सकेको छैन । जोन ह्वेल्पटनको नेपालसम्बन्धी किताब ००७ सालको समयमाथि काम गर्ने सुरेन्द्र केसी वा राजेश गौतम वा भवेश्वर पंगेनीको भन्दा धेरै उद्धृत हुन्छ । समाजशास्त्र र मानवशास्त्र विधामा भने नेपाली–अंग्रेजी दुवै भाषामा लेख्ने क्रम जारी छ । अंग्रेजी भाषामा किन चासो छ भने, अंग्रेजीमा लेख्दा त्यो नेपालबाहिर पढिन्छ । यो एउटा तथ्य पनि हो र भ्रम पनि । अंग्रेजीमा लेखेर आफूलाई प्रशिक्षित गर्न अहिले एउटा पुस्ता प्रयासरत छ । म त उहाँहरूलाई के भन्छु भने तपाईंहरूको कामकाजी भाषा नेपाली हो भने नेपालीमै लेख्नुस् । कालान्तरमा आत्मविश्वास यति बढेर आउँछ कि तपाईंले त्यसलाई अंग्रेजीमा पनि लेख्न सक्नुहुन्छ । नेपालसम्बन्धी अध्ययन गर्ने भनेको चाहिं झुर अंग्रेजीमा लेख्ने वा राम्रो अंग्रेजीमा झुर कुरा लेख्ने भने होइन । झुर कुरालाई सोझै झुर नै भन्ने हो । 
 
झुर अंग्रेजीमा राम्रो कुरा लेख्ने वा झुर विषय राम्रो अंग्रेजीमा लेख्ने प्रवृत्ति कत्तिको छ ?
एक थरी नेपालीमा पढ्न नसक्ने र नेपाली स्रोतहरूमा काम गर्न नसक्नेहरू पनि अहिले नेपालमाथि काम गर्न थालिरहेका छन् । नेपाली स्रोतहरूमा उपलब्ध ८० प्रतिशत सामग्रीमा आधारित भएर २० प्रतिशत काम अंग्रेजीमा छापिँदै छ । मानौं, तपार्इंले नेपालसम्बन्धी कुनै विषयमा अंग्रेजी भाषामा लेखेर एउटा सामग्री लन्डनबाट निस्कने जर्नलमा पठाउनुभयो भने उक्त जर्नलले ‘पियर रिभ्यु’ अर्थात् समकक्षी समीक्षाका निम्ति त्यो सामग्री आफ्नै ‘रिभ्युअर’ कहाँ पठाउँछ । नेपाली नपढ्ने र नेपाली सन्दर्भ नबुझ्ने पियर रिभ्युअरले कस्तो पियर रिभ्यु गर्ला ? पियर रिभ्युको बैधानिकता त पियर रिभ्यु कसले छानेको छ भन्नेमा भर पर्छ । तपाईं नेपाल अध्ययनमा चुर्लम्म डुबेको मान्छे, तपार्इं पियर रिभ्युअरमा छानिनुहुन्न भने अवश्य त्यो पियर रिभ्यु राम्रो हुँदैन । यसरी पियर रिभ्युको प्रक्रियाबाट गुज्रेर आएको लेख जर्नलमा पनि छापिन्छ तर त्यो पढ्नलायक नहुन पनि सक्छ । त्यसैले यस्तो भ्रमबाट मुक्त हुन जरुरी देखिन्छ । 
 
पहिला जनयुद्धका कारणले, त्यसपछि राजनीतिक संक्रमण र भूकम्पका कारणले नेपालबारे अंग्रेजीमा धेरै कुरा लेखिँदै छन् । अंग्रेजीमा लेख्दा त्यसको ‘एक्सपोजर’ धेरै हुने सम्भावना पनि हुन्छ । तर अंग्रेजीमा कमजोर कुरा लेख्दा पनि त्यसको एक्सपोजर बढी हुने सम्भावना उत्तिकै भयो । भनेपछि हाम्रो चुनौती भनेको के भयो भने– त्यस्ता किसिमका जर्नलको ‘पियर रिभ्यु नेटवर्क’ हरूमा नेपाल बसेर अध्ययन गरिरहेका वा नेपालमाथि गहिरो अध्ययन गरेकाहरू विदेशीहरूले प्रवेश गर्न कोसिस गर्नुपर्‍यो । नेपालमा हामीले जेलाई भनसुन भन्छौं नि, ठ्याक्कै त्यस्तै भनसुनले बन्ने नेटवर्क हो त्यो । 
 
एउटा बहस छ नि ‘अन्तर्राष्ट्रिय स्तर’ को काम भएन भन्ने । हाम्रो सन्दर्भमा यसलाई कसरी बुझ्ने ?
नेपालमा एक थरी मान्छेहरू अत्यन्तै लघुताभासबाट पीडित भएको देखियो– अन्तर्राष्ट्रिय काम अरू देशमा मात्रै हुन्छ, हामीले गर्न सकिरहेका छैनौं भन्ने । हामीले गर्न नसक्नाका थुप्रै कमी–कमजोरीमध्ये जेलाई अन्तर्राष्ट्रिय स्तर भनिन्छ, त्यो काम नेपालमा पनि भइरहेको छ भनेर देखाउनुपर्ने कुरा हो । नेपाली भाषामा लेखियो भन्दैमा त्यो अन्तर्राष्ट्रिय स्तरको हैन भनेर कसैले भन्छ भने त्यो मान्छेले सार्वजनिक वृत्तमा आफूलाई मूर्ख बनाउने अधिकार प्रयोग गरेको ठहरिन्छ । 
 
नेपाली समाजका विविध पाटामाथि अध्ययन गर्ने विदेशीको चासो अहिले पनि देखिन्छ । नेपालीहरूको रुचि पनि त्यो स्तरमा बढिरहेको छ कि छैन ?
यस्तो क्रम नेपालीमा पनि बढिरहेको छ । नेपालसम्बन्धी विषय नभएका अन्तर्राष्ट्रिय जर्नलहरूमा पनि नेपालीहरूको लेख देखिन थालेको छ । राजनीतिसम्बन्धी जर्नल हुन् या विकाससम्बन्धी वा आतंकवाद र हिंसा विषय समेटिने जर्नलहरू नै किन नहुन्, त्यसमा पनि नेपालीहरूको उपस्थिती देखिन्छ, जुन आजभन्दा २० वर्षअघिको दाँजोमा बढ्दै आएको परिणाम हो । यसका केही कारण छन् । पहिलो, नेपालबाहिर पढ्ने नेपालीको संख्या एकदमै बढेको छ । तिनलाई पढ्ने क्रममै वा पीएचडी गर्ने क्रममा यस्ता जर्नलमा लेख छपाउनुपर्ने बाध्यता छ । त्यसरी नै प्राज्ञिक धनआर्जन गर्ने क्रममा पनि यस्ता काम भएका छन् । दोस्रो कारण, गएको २० वर्षमा नेपालबाहिर पहिलोचोटि प्राज्ञिक कर्म गर्ने नेपालीहरू स्थापित हुँदै छन् । भलै, एकाध अपवादबाहेक उहाँहरू आफ्ना क्षेत्रमा एकदमै कमजोर तरिकाले स्थापित हँ‘दै हुनुहुन्छ । त्यसैकारण उहाँहरूको प्राथमिक चासो भनेको आफ्नो जागिरको सुरक्षा नै हो । तैपनि उहाँहरूले नेपालसम्बन्धी गर्ने अनुसन्धान होस् वा घुमाउरो तरिकाले नेपाल छोएर गर्ने अनुसन्धानहरू पनि जर्नलहरूमा छापिन थालेका छन् । यसले देखाउँछ, लेख्ने नेपालीहरूको संख्या बढिरहेको छ । तेस्रो कारण, नेपालमा हामी आफैंले गरिरहेको कर्म र विश्वविद्यालयमार्फत भइरहेको कर्मले पनि जर्नलहरूमा लेख्न सक्ने विद्यार्थीहरूको संख्या बिस्तारै बढाइरहेको छ । मार्टिन चौतारीले निकाल्ने सिन्हास जर्नलका गएका पाँच वर्षका अंकहरू हेर्नुभयो भने पनि त्यो देखिन्छ । 
 
यस्तो आशा देखिँदादेखिँदै पनि नेपालमा आम बुझाइ के छ भने विश्वविद्यालयअन्तर्गतका सिनास, सेडाजस्ता पुराना अध्ययन संस्था एकदमै कमजोर भए । नेपालको प्राज्ञिक बहस एकदमै कमजोर छ भन्ने बुझाइ छ । के त्यो गलत हो ?
नेपालका पत्रपत्रिकामा सिनाससम्बन्धी समाचार खुबै निस्कन्छ– कुनै बेला त्यो एकदमै सक्रिय थियो, अहिले मृतप्राय: छ भन्दै । त्यस्ता समाचारमा खड्गविक्रम शाह वा डोरबहादुर बिष्टका पालामा गज्जब थियो वा प्रयागराज शर्माले चलाउँदा जीवन्त थियो भनिन्छ । त्यो भएकै हो । तर समयक्रममा हेर्दा, त्यस्तो ‘गोल्डेन एज’ कहिल्यै थिएन । सिनास सधैं राम्रो कहिल्यै पनि भएन । हो, त्यसका केही कुरा राम्रा थिए । हाम्रा अग्रजले सिनासलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन धेरै मिहिनेत गरेका पनि हुन् । त्यो अवस्थालाई हेर्दा सिनास अहिले जीवित छैन भन्न केही गाह्रो छैन । तर एक समय नेपालमा गोल्डेन एज थियो र अहिले त्यो थान्को लाग्यो भन्नेचाहिं होइन । अहिले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरका जर्नलमा छाप्न सक्ने मान्छेहरू छन् । त्यो भनेको यी मान्छेले अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य काम गर्न सक्छन् भन्ने हो । कुरा यति मात्रै हो कि यस्ता मान्छेहरू एउटै मात्र संस्थामा छैनन् । यस्ता ‘रिसर्चर’ हरू एउटा सिनासमा हैन कि २५ वटा संस्थामा छरिएर बसेका छन् । यसरी काम भएकाले कुनै एउटै संस्थाको ‘भिजिबिलिटी’ नदेखिएको हो । 
 
परम्परागत अवधारणाका ‘थिंक ट्यांक’ को कुरा गर्दा यो संस्थाचाहिं एकदमै गज्जबको भयो भन्न सकिने अवस्था त देखिँदैन नि ?
थिंक ट्यांक केलाई भन्ने ? यस्तो–यस्तो काम गर्ने संस्था मात्र थिंक ट्यांक हुन् भन्यौं भने नेपालमा एउटा पनि थिंक ट्यांक छैन । तर थिंक ट्यांक प्रवृत्तिका धेरै संस्था छन्, जुन थरी–थरी छन् र केही नाम मात्रका छन् । कैयनमा थिंक ट्यांक नभई ‘थिंकर’ एक जना मात्रै छन् । उसले थिंक ट्यांकलाई आफ्नो व्यक्तिगत करियर अगाडि बढाउन प्रयोग गर्छ । व्यक्तिगत रूपमा कसैको नाम नलिऊँ तर थिंक ट्यांक खोलेर आफ्नो करियर कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने उदाहरण त्यस्ता मान्छेबाट देखाउन सकिन्छ । मेरै पुस्ताको मान्छेले यही सहरमा बसेर त्यस्तो काम गरिरहेको छ । यस्ता थिंक ट्यांकहरू पनि छन्, जसले रिसर्च र पोलिसीलाई लिंक गर्न चाहन्छन् । यो प्रयास विभिन्न संस्थामा बसेर भइरहेको छ । मार्टिन चौतारी पनि आफैंमा थिंक ट्यांक हो, तर विशुद्ध थिंक ट्यांक मात्रै पनि होइन । थिंक ट्यांकलाई हामीले यसरी पनि सोच्नुपर्छ । नेपालका सन्दर्भमा हेर्दा सरकारले पनि थिंक ट्यांक चलाउने वातावरण दिँदैन । नेपालमा कुनै बेला बाहिर बसेका संस्थाहरूले दुई–तीनवटा संस्थालाई यस्तो वातावरण दिएका थिए, ती अहिले बन्द भइसके । आर्थिक स्रोत नहुँदा थिंक ट्यांक चलाउन एकदमै गाह्रो हुन्छ । गहिरो अनुसन्धान र निरन्तर अध्ययन गर्ने थिंक ट्यांक चाहिन्छ–चाहिन्छ भन्ने जपेर मात्र हामी कहीं पुग्दैनौं । थिंक ट्यांकहरूलाई त गोडमेल र स्याहार पनि गर्नुपर्‍यो नि ।
 
विषयकेन्द्रित थिंक ट्याकंहरू बनाउनुपर्‍यो । जलस्रोतमा एक–दुईवटा राम्रा काम गरेका संस्था छन् । तर ती संस्थाको पनि पाइपलाइन सुकिसकेको छ । एक थरी मान्छेहरू अन्तर्राष्ट्रिय स्तरमा जहाँ गएर जस्तोसुकै अवस्थामा पनि आफ्ना विषयमा बहस गर्न सक्नेखालका छन् । तर उहाँहरूले ‘ट्रेन’ गरेका मान्छे छन् कि छैनन् भनेर हेर्दा कहीं पनि कोही देखिंदैन ।
 
विदेशी दाता वा सरकारले गर्ने सहयोगभन्दा बाहेक निजी क्षेत्र या अन्य तरिकाबाट पनि स्रोत जुटाउन सकिन्छ होला नि ?
हाम्रो देशमा अरू स्रोत कमजोर छन् । जस्तो भनौं न, नेपालका व्यापरिक संस्थाहरूमा ‘रिसर्च’ लाई सहयोग गर्न सक्ने क्षमता छँदै छैन । हामीले भारतसँग दाँजेर हेरौं न, त्यहाँका केही आधारभूत रिसर्च संस्था टाटा घरानाको लोककल्याणकारी सहयोगबाट स्थापित छन् । त्यस्ता संस्था त भारतमा कति छन् कति । नेपालका कुनै पनि व्यापारिक संस्थाले यस्तो गर्न सकेका छैनन् । म आफैंले नेपालका घघडान अर्बपतिहरूलाई यो काममा तपाईंहरूलाई रुचि छ भनेर चिठीमा, इमेलमा, ट्वीटरमा लेखेर पठाउँदा कसैबाट पनि अहिलेसम्म जवाफ पाएको छैन । नेपालभित्र बसेका र नेपालबाहिर बसेका अर्बपतिहरूले रिसर्चमा धेरै ध्यान दिएर पैसा कमाएका होइनन्, अरू नै केही गरेर पैसा कमाएको हुनाले उनीहरूलाई थिंक ट्यांकमा विश्वास छैन भनेर मेरा मित्र जुगल भुर्तेलले मलाई भनिसके । अर्बपतिसँग धेरै संगत गरेको मान्छेले नै यस्तो भनेपछि मैले पत्याउनैपर्‍यो । 
 
त्यसैले नेपालमा अनुसन्धानका निम्ति प्राथमिक फन्ड दिनुपर्ने सरकारले नै हो । राजनीतिज्ञ रवीन्द्र अधिकारीले ट्वीटरमार्फत भन्नुभयो, नेपालमा थिंक ट्यांक खडा गर्नुपर्‍यो । म भन्छु– नेपालमा अहिले जेसुकै नामले भए पनि चलेका २५ वटा संस्था पहिचान गरेर तिनलाई एक–एकवटा बिषयमा काम गर्न चुनौती दिनुस् र त्यसका लागि सरकारले केही पैसा देओस् अनि हेरौं न– कसले कस्तो काम गर्दोरहेछ ?
 
त्यसो भए सामथ्र्य नभएर होइन कि इच्छै नभएर यस्तो भएको रहेछ, हैन त ?
नेपालको सामथ्र्य छैन भन्नै मिल्दैन । त्रिभुवन विश्वविद्यालयको कुनै कुनै विभागमा हेर्नुभयो भने त्यहाँ संसारका २० वटा विश्वविद्यालयबाट पीएचडी गरेका मान्छे छन् । सामथ्र्यको त कमी छैन, तर हामीकहाँ एकअर्काको कुरा सुनेर ‘तपार्इंका कुरामा म यसरी सहमत छैन’ भन्ने संस्कृति छैन । यस्तो प्रवृत्ति नेपाली समाजका सबै क्षेत्रमा व्याप्त छ । आजभन्दा १७/१८ वर्षअघि मैले नेपालका घघडान इतिहासका प्रोफेसरसँग तपाईंको केन्द्रीय इतिहास विभागमा सेमिनार किन हँ‘दैन भनेर सोध्दा उहाँले सेमिनार गरेर मलाई के फाइदा हुन्छ भनेर सोध्नुभयो । त्यसपछि अरू कुरा गर्ने कुनै शब्द मसँग बाँकी रहेन । मेरा मनमा लाग्यो यस्तो प्रश्न सोध्ने मान्छे गलत प्रोफेसनमा हुनुहुन्छ । तिनै प्रोफेसर हिजोआज नेपालका टेलिभिजनहरूमा धेरै झुल्किनुहुन्छ र नेपाल राज्यलाई कसरी जोगाउने र विकास गर्ने भन्ने विषयमा धेरै कुरा गर्नुहुन्छ । टेलिभिजनमा यति धेरै कुरा गर्ने उहाँले आफ्नो विभागलाई कसरी जोगाउने वा कसरी अगाडि बढाउने भन्ने विषयमा के सोचिरहनुभएको होला ? इतिहास विधामा मात्रै होइन, साहित्य, पत्रकारितालगायत सबैजसो क्षेत्रमा काठमाडौं उपत्यकामै नअटाउने ‘इगो’ भएका मान्छे छन् । हामीकहाँ सहकार्य गर्ने संस्कृति एकदमै कमजोर छ । अरूलाई ‘क्रेडिट’ दिएर अघि बढ्न नसक्ने एउटा सर्वमान्य गुण व्याप्त छ । त्यसैकारण असार महिनामा बजेट सक्न पिच गरेजस्तै असार महिनामा बजेट सक्न देशभर कार्यशाला. भइरहेको हुन्छ । 
 
तैपनि नेपाली समाज क्रमश: अगाडि नै बढिरहेकै देखिन्छ । धेरै परिवर्तनहरू पनि भइरहेका छन् । यस्तो सकारात्मक पाटो पनि त छ नि, हैन र ?
समग्रमा प्राज्ञिक क्षेत्रमा यस्तै भइरहेको भनेर भन्न गाह्रो छ । छरपस्ट हिसाबले यति धेरै काम भइरहेका छन् कि त्यसबारे गहिरो रूपमा चिन्ता राखेर डुब्ने मान्छेले मात्रै तिनलाई देखिरहेका छन् । बाँकी मान्छेले देखेकै छैन । नेपालको सामाजिक वृत्तमा धेरै प्रभाव पार्ने पत्रकारिताले नै हो । पत्रकारितामा पनि अहिले पेज भर्ने पत्रकारिता हावी भएको छ । दिन–दिनमा एउटा रिपोर्ट गरेर भ्याइदिनुपर्ने बाध्यताका कुरा सुनिन्छन् । त्यसैले सार्वजनिक वृत्तमा भएका धेरै कुरा बाहिर आएका छैनन् ।
 
अग्रज पुस्तादेखि हामीले सम्म यो देशमा सोसल साइन्स रिसर्च काउन्सिल बन्नुपर्छ भन्न थालेको ४५ वर्ष हुन थालिसक्यो । त्यो भनेको सरकारी पैसाले नेपालमा समाज विज्ञानका सबै विषयमा काम गर्न सक्ने एउटा संस्था बनोस्, जसले विश्वविद्यालयभित्र र बाहिर बसेकाहरूको कामलाई सहयोग गर्न सकोस् भन्ने हो । संसारका प्राय: देशमा यस्तै नाम र काम गर्ने संस्था हुन्छन् । हाम्रो अग्रज पुस्ता यस्तो प्रयास गर्दागर्दै सकियो । हामी पनि यही प्रयास गर्दागर्दै सकिन्छौं कि जस्तो लाग्छ । कहिलेकाहीं निराश हुने दिन मैले नलेखेको तर लेख्नुपर्ने विषयको एउटा शीर्षक सम्झिन्छु, त्यो हो ‘गुड बाइ रिसर्च’ । किनभने जुन समाजमा रिसर्चको उपजबारे धेरैलाई चासो छ, तर रिसर्चलाई सहयोग गर्नेबारे चासो छैन भने त्यो समाजमा रिसर्चको राम्रो उत्पादन हुँदैन । दु:खको कुरा त्यस्तो समाजमा राम्रो रिसर्च उत्पादन नभएपछि त्यस्तो कर्म गर्न चाहने मान्छेहरू नेपालभन्दा बाहिर जान्छन् । त्यो आफैंमा अनौठो कुरा पनि भएन । तर अब यसरी जाने पुस्ताका धेरै मान्छे फेरि नेपाल फर्कन्छन् भन्नेमा चाहिं मलाई शंका छ । हामीजस्ता धेरै मूर्ख हुँदैनन् । 
 
यस्तो जनशक्ति कुनै बेला फर्किने अवस्था पनि त आउला नि ?
मैले कहिल्यै फर्कंदै फर्किंदैन भन्न खोजेको होइन । नेपालबाहिर बसेर नेपालसम्बन्धी प्राज्ञिक अध्ययन गर्नेको संख्या अब निरन्तर बढ्दो छ । धेरै टाढा हेर्नै पर्दैन । बेलायतमा बसेर प्राध्यापन कर्ममा आबद्ध सूर्य सुवेदीले भर्खर सुरु गर्नुभएको मुख्यत: बेलायत र युरोपमा केन्द्रित व्यक्तिहरूको नेटवर्क छ, जसले २०१५ डिसेम्बरमा काठमाडौंमा एउटा सानो बैठक गर्‍यो । त्यसभन्दा अरू बढी काम गरेको मलाई जानकारी छैन । त्यसले पोलिसीसम्बन्धी काम गर्ने भनेको छ । अर्को अमेरिकामा रहेको नेपाल स्टडी सेन्टर छ, जसले वार्षिक रूपमा पोलिसी कन्फरेन्स गर्ने गर्छ । यी दुइटालाई मात्रै हेर्नुभयो भने पनि नेपालभन्दा बाहिर बसेर प्राज्ञिक काम गर्नेको संख्या मजाले बढेको देख्न सकिन्छ । बेलायतमा मात्रै २०१६ मा करिब ७६ जना (नेपाली) विद्यार्थीहरू पीएचडी सकेर विभिन्न विश्वविद्यालयसँग अनेकन काममा आबद्ध हुनुहुन्थ्यो । यो भनेको त ठूलो नेटवर्क हो नि । सबैले नेपालसम्बन्धी अनुसन्धान गर्नुहुन्छ भनेको पनि होइन । तर यो संख्या बढ्दा नेपालमा उहाँहरूको विशेषज्ञतालाई प्रयोग गर्न सक्ने दुई किसिमको संयन्त्र निर्माण गर्न सकिन्छ । 
 
एउटा, छोटो अवधिको आबद्धता । त्यो भनेको समरको छुट्टीमा नेपाल आउने र उहाँहरूले कोर्स पढाउने, नेपालको विश्वविद्यालयभित्र वा बाहिर । यसका निम्ति यस्तो काममा रुचि राख्ने व्यक्तिहरू र यस्तो काम गर्ने सक्ने संस्थाबीच सहकार्य हुनुपर्‍यो । यस्ता कोर्स काठमाडौंकै मार्केटले पनि सजिलै धान्छ, कहीं स्रोत खोज्दै हिंड्न पनि पर्दैन । दोस्रो, भर्खरै पीएचडी सकेकाहरूलाई नेपाल फिर्ता गर्ने हो । भारतकै उदाहरण हेरौं न, सन् २००८ को आर्थिक संकटपछि बेलायत र अमेरिकामा पीएचडी सकेका धेरै भारतीय नागरिकले अमेरिका र बेलायतमा काम पाउने सम्भावना नभएपछि भारतमा आएर काम गर्न थालेका छन् । १० वर्षयता भारतमा स्थापना भएका विश्वविद्यालयका डिपार्टमेन्टहरूमा तिनीहरूलाई फेकल्टी मेम्बर बनाइएको छ । नेपालमा पनि त्यस्तै सम्भव होला नि कुनै दिन । 
 
हाम्रो समाजमा राजनीतिले बुद्धिजीवी वा बौद्धिक वृत्तलाई डोहोर्‍याइरहेको देखिन्छ । बौद्धिक बहसहरूले राजनीतिज्ञ वा राजनीतिक क्षेत्रलाई निर्देशित वा प्रेरित गर्ने अवस्था किन नभएको होला ?
यस्तो भएको पनि होला । निर्देशित त हैन तर सार्वजनिक वृत्तमा हुने बौद्धिक बहसले हस्तक्षेप त गरिरहेको छ । गएको १५/१६ वर्ष राज्यको पुन:संरचना र पछि संघीयतासम्बन्धी बहसमा महत्त्वपूर्ण हिसाबले भाग लिने बौद्धिक/प्राज्ञिक मान्छेहरू गन्नुपर्‍यो भने हामीले ६/७ जना मान्छेको नाम लिनुपर्छ कि पर्दैन ? दुइटा कृष्ण (खनाल र हाछेथु), लोकराज बराल, भूगोलशास्त्री पीताम्बर शर्मा र अरू केही । त्यसैले उहाँहरूले गरेको कर्मले नेपालको सार्वजनिक वृत्तमा केही पनि असर नै पारेन भन्ने पक्षमा म छैन । नेपालका राजनीतिशास्त्रीहरूको संगठन १९९० को दशकको अन्त्यसम्म आइपुग्दा छरपस्ट ढंगले तीन–चार टुक्रामा विभाजित भयो । किनभने विभिन्न राजनीतिक विचार राख्दै आफ्नो प्राज्ञिक कर्मलाई सँगै अगाडि बढाउने क्षमता भएन । इगोको टकराव भयो जसले गर्दा त्यतिबेला सुरु भएको जर्नलले निरन्तरता पाएन । अहिले यी सबै संगठन मृतप्राय: छन् । त्यसो त इतिहासकारहरूको संस्था मृतप्राय: छ भन्दा मलाई ‘खुट्टा भाँच्नुपर्ने रहेछ’ भन्ने चेतावनी दिइएको अनुभव पनि छ । यस्तो भन्ने व्यक्ति नेपालको एउटा विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । नेपालको राजनीतिले अरू सबै व्यवसायलाई जसरी गाँजेको छ, बौद्धिक र प्राज्ञिक कर्मलाई पनि त्यसरी नै गाँजेको छ । यी कर्म गर्छु भन्नेहरूको महत्त्वाकांक्षा यति माथि भयो कि, राजनीतिकर्मीहरूको सर्टको फेरो समोतर कुद्ने इच्छा धेरै भएकाहरूले गर्दा विभिन्न क्षेत्रमा राजनीतिक हस्तक्षेप निम्त्याइयो । प्राज्ञिक कर्म गरेर समाजमा मर्यादित हिसाबले बाँच्ने आत्मविश्वास धेरैमा भएन । 
 
इतिहास र समाजबारे लेख्ने काम साहित्यमार्फत पनि हुन्छ । हामीकहाँ यस्तो काम कत्तिको भइरहेको छ ?
साहित्यकारहरूबाट आफ्नै हिसाबले इतिहास र समाजलाई लेख्ने काम भइरहेको छ । नेपालमा पनि यस्तो प्रयास भइरहेको छ । तर, अहिले नेपालमा राष्ट्रियतासम्बन्धी केही साहित्यकारले गरिरहेको बहस मलाई एकदमै बासी लाग्छ । २० वर्षअघि अरूले नै भनेका कुरा उहाँहरू हिजो मात्रै थाहा पाएजस्तो गरी लेखिदिनुहुन्छ । उहाँहरूले त्यो आधारभूत कामलाई टिपेर नयाँ काम गर्न नसक्ने भन्ने होइन । काठमाडौंमै पञ्चायतकालपछि प्रकाशित भएका सामग्रीको विश्वकै गतिलो ‘अर्काइभ’ छ । त्यसमाथि धेरै काम गर्न बाँकी छ । 
 
प्राज्ञिक जर्नलको अनुभवचाहिं कस्तो छ ? तपाईंहरूले यो (सिन्हास जर्नल) निकाल्नका लागि निकालिरहनुभएको हो कि समाजमा कतै प्रभाव पनि परेको छ ?
त्यो त तपार्इंले अरूलाई सोध्ने कुरा हो । २२ वर्ष सिन्हास जर्नल सम्पादन गरिसकेपछि अब म संसारको कुनै पनि फोरममा बसेर जर्नल सम्पादनसम्बन्धी लेक्चर दिन तयार छु । यस्तो खालको लामो तपस्या बिरलै हुन्छ । यो काम म एक्लैले गरेको पनि होइन, हाम्रो सामूहिक प्रयास हो । नेपालबाहिर नेपालका विषयमा अनुसन्धान गर्ने व्यक्तिबीच के गाइँगुइँ सुनिएको छ भने यो जर्नलमा लेख नछपाई अब हामीलाई गम्भीर रूपमा लिँदैनन् । तर नेपालमा मैले यो जर्नलमा लेखाउन कैयनलाई २० वर्षसम्म लखेटिरहें । सायद बूढो भएपछि उहाँहरूलाई सन्तानले सोध्नेछन्, तैंले त्यो जर्नललाई लेख किन लेखिनस् ?
 
जर्नलको आम प्रभाव हुँदैन । हामीलाई के भ्रम छ भने अन्तर्राष्ट्रिय भनिएका जर्नलहरू हजारांैको संख्यामा छापिन्छन् भन्ने । त्यो होइन । अन्तर्राष्ट्रिय स्तरका कैयन सर्वाधिक प्रभावशाली जर्नल पनि एकाध हजार कपीभन्दा धेरै छापिँदैनन् । हाम्रो जर्नल पनि केही सय प्रति छापिन्छ । अब त जर्नल सामग्रीहरू ‘डिजिटल प्लेटफर्म’ मा आउन थालेपछि कति कपी छापियो भनेर मतलब नहुने समय आइसकेको छ । 
 
जर्नलको प्रभावलाई कतिले त्यसमा प्रकाशित लेख अन्यत्र कति उद्धृत गरियो भन्ने आधारमा पनि हेर्छन् । तर यो प्राज्ञिक बहुलट्ठीपन हो । म पनि यो रोगबाट टाढा छैन । कुनै प्राज्ञिक लेख निस्कियो भने यसले मेरा सामग्रीलाई उद्धृत गरेको छ कि छैन भनेर पुछारमा हेर्ने मान्छेहरूको बानी हुन्छ । म पनि गर्छु । त्यही कुरालाई गणना गरेर जर्नलको प्रभाव नाप्नु भनेको रोग नै हो । जब हाम्रो जर्नलमा नेपालसम्बन्धी छापिएका सामग्री जापान, जर्मनी, फ्रान्स, बेलायत र अमेरिकामा बसेर प्राज्ञिक कर्म गर्नेहरूले ‘साइट’ गर्न थाल्छन्, त्यसको अर्थ हुन्छ । 
 
नेपालमा छलफल र बहसको सार्वजनिक वृत्त खुम्चिन थाल्यो भनेर पनि बेलाबेला भन्ने गरिन्छ । अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ?
सार्वजनिक वृत्तलाई हाम्रो हेराइअनुसार जस्तो सोच्यो, त्यस्तै देख्न सक्छौं । गाली गरिरहेको देखाएर नेपालमा सामाजिक सम्बन्ध त खतमै भएछ भनेर देखाउन पनि मिल्छ । तर त्यही सार्वजनिक वृत्तमा अनुसन्धानात्मक काम पनि पछिल्लो १० वर्षमा निकै भइरहेको छ । निराश भएका दिनमा नेपालको सार्वजनिक वृत्त खुम्चियो भनेर मैले पनि लेख्दिन बेर छैन, तर त्यो आफैंमा सही कुरा हुँदैन ।
 
सार्वजनिक वृत्त वास्तवमा ठूलो भएको छ, यद्यपि कहिलेकाहीं एकदमै खुम्चिएजस्तो पनि देखिन्छ । ट्वीटर हेर्‍यो भने त त्यहाँ लेखिने केही ट्वीटहरूका आधारमा त्यो ठाउँ गाली मात्रै गर्ने वा कित्ताकाट गर्ने वा फलानाले फलानालाई भित्तैमा पुर्‍याएर सार्वजनिक जीवन नै सिध्याइदिने ठाउँजस्तो लाग्छ । सार्वजनिक वृत्तको अर्को ठाउँ भनेको पुस्तक हो । गएको १२/१३ वर्षमा नेपालको पुस्तक प्रकाशनको अभ्यास कहाँ पुग्यो ? म सम्झिन्छु, मैले काम थाल्दा दुई हजार प्रति पुस्तक बिकेको खबर सुन्दा मान्छे अचम्मै मान्थे । तर अहिले त्यस्तो छैन । थाहा नपाउँदो हिसाबले सार्वजनिक वृत्त विशाल भइरहेको छ । गहिरो अनुसन्धान गरेर लामो खालको अनुसन्धान प्रकाशित गर्न धैर्य र राम्रो पाइपलाइन चाहिन्छ । त्यसलाई धान्न सक्ने स्रोत र धैर्य नहुँदा छिटछिटो काम सक्नुपर्ने बाध्यता छ । बिहान लेख्ने, दिउँसो अनलाइनमा राख्ने, तुरुन्त ट्वीट गर्ने र फलोअरहरूले दिएको कमेन्टबाट दंग पर्ने– यस्तो मात्र सार्वजनिक वृत्त हाबी भयो भने हाम्रो बौद्धिक अभ्यास कमजोर हुन्छ । हामीलाई त लामो अवधिको काम गर्न सक्ने, राम्रो ठाउँमा प्रकाशन गर्न सक्ने, छजना मात्रैले किन नपढून् तर तिनको विचार परिवर्तन गर्न सक्ने काम भयो भने त्यसको २० वर्षपछि पनि प्रभाव भइरहन्छ । 

प्रकाशित: असार २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार