विचार/विश्‍लेषण

गरिबी निवारणमा चिनियाँ अनुभव

- चेतनाथ आचार्य
चीनले अवलम्बन गरेको गरिबी निवारण र पछि परेका समुदायका लागि निर्माण गरेको सामूहिक आवास क्षेत्रबाट नेपालले थुप्रै अनुभव लिन सक्छ ।

असार २१, २०७४-चीनको मध्य भागमा पर्ने कान्सु प्रान्तको लानचौ सहरमा असार २२ देखि २५ सम्म २३ औँ चीन लानचौ लगानी तथा व्यापार मेलामा नेपालका उपराष्ट्रपति सहभागी हुने भएका छन् । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले गत बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको संकेत गर्दै लानचौ मेलामा चीनले नेपाललाई प्राथमिकतामा राखेको बताए । चीनले नेपालसँगको कनेक्टिभिटीमा लानचौलाई महत्त्वपूर्ण हबको रूपमा विकास गर्ने नीति बनाएको छ । चीनले लानचौबाट २०७३ वैशाख २९ गते काठमाडौँ लक्षित मालबाहक रेल तिब्बतको सिगात्से पठाएको थियो । लानचौबाट १० दिनमै काठमाडौँ सामान पुग्नेगरी रेल गुडाउनु स्थलमार्गबाट नेपालसँग गरिने व्यापारमा भविष्यप्रतिको एउटा उज्यालो संकेत थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता लुले नेपाल भूकम्पपछिको पुनर्निर्माणमा लागिरहेको बताउँदै त्यस्ता कार्यमा चिनियाँ अनुभव नेपालका लागि महत्त्वपूर्ण हुने भएकाले आपसी सहकार्य र आदान–प्रदान गरिने पनि उल्लेख गरे । विशेषगरी चीनसँग सीमा जोडिएका नेपालका जिल्लाहरूमा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा चीनले सघाउने बारम्बार बताउँदै आएको छ । नेपालमा दुई वर्षअघि गएको भूकम्पपछि सामूहिक बस्ती बसाउने केही प्रयास भएका छन् । सामूहिक आवासगृहको निर्माणमा सरकारी स्तरबाट कदम चाल्ने हो भने त्यसले गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । चीनले नेपालसँगको सम्बन्धमा महत्त्व दिएर अगाडि सारेको कान्सु प्रान्तको गरिबी निवारण कार्यक्रम र सामूहिक आवास प्रणाली साँच्चै नेपालका लागि उपयोगी हुनसक्छ ।

चीनका पूर्वी प्रान्तहरूको तुलनामा कान्सु प्रान्त गरिब र कम विकसित प्रान्त हो । चीनकै पश्चिममा पर्ने तिब्बत, छिङहाई र सिन्चियाङ प्रान्तको तुलनामा चाहिँ कान्सु प्रान्त विकसित र धनी हो । कान्सु प्रान्तको दक्षिणमा पर्ने काननान तिब्बती स्वायत्त प्रिफेक्चरमा व्यापक रूपमा सामूहिक आवास निर्माण गर्दै गरिबी निवारण कार्यक्रम लागु गरिएको छ । उच्च भौगोलिक अवस्था र तिब्बती जातीय मानिसको बाहुल्य रहेकाले कान्नानको मुख्य समस्या गरिबी थियो । अधिकांश तिब्बती जातिका मानिस चौँरी र भेडा पाल्ने भएकाले उनीहरूको बसोबास क्षेत्र अत्यन्त फोहोर थियो । पशुगोठसँगै बसोबास गर्नेका लागि चीन सरकारले विभिन्न कार्यक्रमसहित सामूहिक आवासगृह बनाउने नीति अगाडि सार्‍यो । कान्सु प्रान्तको कान्नान तिब्बती स्वायत्त प्रिफेक्चरमा गरिबी निवारणमा चीनको केन्द्रीय सरकार र प्रान्तीय सरकारले ठूलो लगानी गरेका छन् । 

विशेष गरी तिब्बती जातिका बसोबास रहेका क्षेत्रमा सामूहिक सुविधासम्पन्न आवासगृह निर्माणले त्यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ । आवास क्षेत्र निर्माण गर्दा स्थानीय तिब्बती जातिका परम्पराको संरक्षणमा उच्च ध्यान दिइएको छ । प्रवेशद्वारदेखि नै तिब्बती कला झल्किनेगरी कुँदिएका काठको गेट घरको ढोका र भित्रपट्टिको सजावटमा परम्परागत कलाको सम्बद्र्धन गरिएको छ । सामूहिक आवास भने पनि यहाँका हरेक घरमा कम्पाउन्ड घेरिएको छ । घरभित्र हुनुपर्ने निश्चित मापदण्ड भने समान रहेका छन् । हरेक घरमा शौचालय, भान्सा कोठा, सौर्य ऊर्जाबाट पानी तताउने प्रणाली, बैठक कोठाजस्ता कुरासँगै सुविधासम्पन्न सुत्ने कोठाहरूको निर्माण गरिएको छ । स्थानीय जनसंख्या हेरेर कम्तीमा ४०/५० देखि ४००/५०० सय घर एक क्षेत्रमा बनाइएका छन् । यस्ता आवास क्षेत्र बनाउन चीन सरकारले निर्माणको ७५ प्रतिशतसम्म अनुदान दिएको छ । पहिले तिब्बती जातिका फोहोर बस्ती अहिले हेरिरहुँ जस्ता बनेका छन् ।

उदाहरणका लागि कान्नान तिब्बती प्रिफेक्चरको कास्यु गाउँलाई लिन सकिन्छ । राजमार्गको दुवैपट्टि निर्माण गरिएका ३ सय ६५ घरले यो गाउँलाई सुन्दर सानो सहरजस्तो बनाएको छ । गत महिनामात्र निर्माण सम्पन्न भएको यो गाउँमा १ हजार ८ सय ४५ तिब्बती बसोबास गर्छन् । चौँरी डुलाउने तिब्बती जातिका मानिस अहिले आधुनिक सुविधासम्पन्न घरमा बस्छन् । आधुनिक सुविधासम्पन्न घरमा बस्न थालेपछि उनीहरूको आयआर्जन पनि वृद्धि भएको छ । आवास क्षेत्र निर्माणमा सम्भव भएसम्म स्थानीय कच्चा पदार्थ र स्थानीय श्रम प्रयोग गरिएको छ । इन्टरनेटको सुविधा पुगेको छ । निर्माण कार्यमा स्थानीयले रोजगारी पाएका थिए भने पर्यटकका लागि उनीहरूका घरहरू होमस्टेमा परिणत भएका छन् ।

स्थानीय गीत, संगीत र नृत्यका लागि तालिमको व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय उत्पादन जौंबाट बनेका रक्सी, रोटी, सातु लगायतका स्थानीय परिकारले पर्यटकलाई स्वागत गरिन्छ । यस्ता परिकार बनाउ तिब्बती महिलालाई निशुल्क तालिम उपलब्ध गराइन्छ । आवास क्षेत्रमा स्थापित पसलहरूमा स्थानीय तिब्बती हस्तकलाका सामग्री बिक्री गरिन्छ । इन्टरनेटको सुविधाले गर्दा त्यस्ता उत्पादनलाई धेरै टाढासम्म बेच्न सकिने इ–कमर्सको पनि थालनी गरिएको छ । तिब्बतीहरू चौँरीलाई आफ्नो सबै कुरा ठान्छन् । उनीहरू इन्टरनेटबाटै चौंरीको दूधबाट बनेका परिकार, चौँरीका सुकुटी, छालाबाट बनाइएका ज्याकेट, जुत्ता, पेटी, ऊनबाट बनेका सामग्री र हड्डीबाट बनाइएका हस्तकलाका सामान बेचेर आर्थिक अवस्थालाई मजबुत बनाउँदैछन् ।

स्थानीय तिब्बतीहरूले चिनियाँ र अंग्रेजी भाषाको तालिम लिएर पर्यटक गाइड बनेर पनि आम्दानी गर्छन् । आवास क्षेत्रमै सामूहिक नृत्य तथा सांस्कृतिक प्रदर्शनी गर्ने स्थल पनि निर्माण गरिएको छ । आवास क्षेत्रमा स्वास्थ्य केन्द्र र विद्यालय पनि रहेका छन् । स्वास्थ्य केन्द्रमा परम्परागत तिब्बती उपचार विधि र जडीबुटीको पनि प्रयोग गरिन्छ । विद्यालयमा तिब्बती र चिनियाँ भाषासँगै अंग्रेजी भाषा पनि पढाइन्छ । शिशु कक्षादेखि व्यावसायिक शिक्षातर्फ प्रोत्साहित गर्ने उद्देश्यले चित्रकला, गीत—संगीत, व्यक्तित्व विकास, खेलकुद, नृत्य सिकाउँदै माथिल्लो कक्षामा थाङ्का र गलैँचा बुन्न सिकाउने कक्षा पनि रहेका छन् । नेपालमा जस्तो विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना नभई पढेपछि तुरुन्तै एउटा मेलो समाउन सक्षम बनाउने ज्ञानका रूपमा विकास गरिएको छ ।

चीनमा अहिले पनि ८ करोडभन्दा बढी जनसंख्या गरिब छन् । चीनले चालु १३ औं पञ्चवर्षीय योजनामा पूर्णरूपमा गरिबी निवारण गर्ने घोषणा गरेको छ । यो योजनाको अवधि सन् २०२० सम्म रहेको छ । ८ करोड जनसंख्या भनेको जर्मनीको पुरै जनसंख्या जति हो । यत्रो जनसंख्यालाई यति छोटो अवधिमा गरिबीबाट उठाउने कुराले विश्वको ध्यान चीनमाथि परेको छ ।

चीनले अवलम्बन गरेको गरिबी निवारण र पछि परेका समुदायका लागि निर्माण गरेको सामूहिक आवास क्षेत्रबाट नेपालले पनि थुप्रै अनुभव लिन सक्छ । एकातिर यसले जीवनस्तरमा सुधार ल्याउँछ भने अर्कातिर स्थानीय रीतिरिवाज र कला–संस्कृतिको प्रबद्र्धन हुने कुरामा दुईमत छैन । नेपालले पनि चेपाङ, थारु, तामाङ, राई, लिम्बु, मगर, गुरुङ, कोचे, मेचे, सतार, धिमाल, शेर्पा लगायतका विभिन्न जातिका पहिचान झल्किने खालका ग्रामीण पर्यटन उद्योग खोल्न सक्छ । 

आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् । 

प्रकाशित: असार २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार