विचार/विश्‍लेषण

१५ असार यसरी मनाउने कि ?

- सन्तोष अधिकारी
१५ असारमा संकल्प गरौं, अब खानेकुरा खेर नफालौं, किसानको सम्मान गरौं ।

असार १५, २०७४-किसान र कृषिकर्मीका लागि असार १५ महत्त्वपूर्ण उत्सव हो । मानो रोपी मुरी फलाउने कृषि कर्मको धर्मअनुसार यस दिनलाई विशेष रूपमा लिइन्छ । यो दिन खासगरी धान खेतीसँग सम्बन्धित भएर मनाइन्छ भने सरकारले पनि धान खेतीलाई महत्त्व दिँदै सन् २००४ को अन्तर्राष्ट्रिय धान वर्षदेखि निरन्तर राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । 

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको प्रतिवेदनअनुसार संसारमा उत्पादित कुल कृषि उत्पादनको एक तिहाइ हिस्सा उपभोक्तासम्म पुगेको हुँदैन, जुन उपभोक्ताले नै फ्याँकेर तथा प्रशोधनमा नाश भएर खेर गएको हुन्छ । यसरी खेर गएका कृषिउपजले जलवायु परिवर्तनको कारक तत्त्व हरितगृह ग्यास उत्सर्जनलाई बढावा दिइरहेका हुन्छन् । प्रतिवेदनमा यसरी खेर गएका कृषिउपजलाई कुनै एक देश मान्ने हो भने त्यो हरितगृह ग्यास उत्सर्जन तेस्रो ठूलो देश हुनेछ भनी उल्लेख छ । जलवायु परिवर्तनले गर्दा पृथ्वीको औसत तापक्रम बढ्दै गएको सन्दर्भमा नेपालमा हिमाच्छादित क्षेत्रको उल्लेख्य हिस्सा भएकाले जलवायु परिवर्तनको नकारात्मक असरको उच्च जोखिम रहेको छ । जलवायु परिवर्तन अनुकूलन प्रविधि तथा क्षमता दुवैमा नेपाल अति कमजोर अवस्थामा छ । तसर्थ जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिम हुने देशको सूचीमा चौथो स्थानमा राखेको छ । 

संसारभरि नै सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र कृषि हो जसले झन्डै ४० प्रतिशत मानिसलाई जागिर दिएको छ । नेपालमा त कुलमध्ये दुई तिहाइ सक्रिय जनसंख्या कृषि पेसामा संलग्न छन् । किसानले निकै मिहिनेतसाथ फलाउने कृषिउपज यसरी खेर जाने तथ्यले सायदै कसैलाई खुसी बनाउँछ ।

उपभोक्ताले खाने खानाको प्लेटमा आउने गरेको अन्न र अन्य खानेकुरा उत्पादन भई उपभोक्तासम्म सोझै अनि तुरुन्तै आइपुग्दैन । उदाहरणका लागि धान उत्पादनका लागि जग्गा तयारीदेखि फसल भित्र्याउने बेलासम्म औसत करिब ४ महिना लाग्छ भने धान प्रशोधन गरी उपभोक्तासम्म आइपुग्न अरू कमसेकम १ महिना लाग्छ । फलफूल उत्पादनमा त वर्षौं समय लाग्न सक्छ तर त्यही खानेकुरा जो कोहीले क्षणभरमै फ्याँक्न सक्छन् । यसरी कसैले महिनौं तथा वर्षौं मिहिनेत गरी फलाएको खानेकुरा खेर फाल्नु भनेको त्यही वस्तु मात्र खेर फाल्नु होइन यसको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरण लागि प्रयोग भएका सबै स्रोत खेर फाल्नु हो अनि जलवायु परिवर्तनलाई सघाउ पुर्‍याउनु हो । साथै, त्यतिका समय मिहिनेत गरी उत्पादन गरिदिने किसानको अपमान गर्नु हो ।

किसानको जीवनी र कृषिकर्म नै एक परोपकारी कार्य हो जसले आफूले उत्पादन गरेर आफैंले मात्र उपभोग गर्ने सोचेको हुँदैन बरु अरूलाई पनि खुवाउने लोककल्याणकारी काम गरेका हुन्छन् । अझै महत्त्वपूर्ण कुरा, ती साना किसानको ऐतिहासिक योगदान हामीले कहिल्यै भुल्नु हुँदैन जसले विगतको विनाशकारी भूकम्प र त्यसपछिको पारवहन असहजतामा पनि भोकमरी हुन दिएन ।

यति हुँदाहुँदै पनि किसान नै सबैभन्दा उपेक्षित छन् । धेरै युवा कृषि पेसा गर्न चाहँदैनन् र कृषि पेसालाई न्यून दर्जामा राख्ने गर्छन् जबकि अधिकांश युवा विभिन्न देशमा कृषि मजदुरकै काम गर्छन् । नेपालको परिवेशमा भने किसान मात्रै होइन, किसानका लागि काम गर्ने कृषि प्राविधिक र कार्यालय पनि हेपिएका छन् । निजामती सेवामा प्रवेश गरी न्यूनतम सेवा सुविधा पाउने कर्मचारीमा कृषि प्राविधिकहरू अग्रपंक्तिमा आउँछन् । एक जना कृषि प्राविधिकले एक हजार एक सयभन्दा धेरै घरधुरीमा सेवा पुर्‍याउनुपर्छ । कुल निजामती कर्मचारीको करिब १५ प्रतिशत कृषि प्राविधिक तथा कर्मचारी भएको कृषि विकास मन्त्रालय तथा पशुपन्छी विकास मन्त्रालयको बजेट सधैं कुल राष्ट्रिय बजेटको ३ देखि ४ प्रतिशतकै हाराहारीमा घुमिरहेको छ । अपर्याप्त स्रोतसाधन, न्यूनतम सेवासुविधा र कम क्षमता विकासका अवसरका बाबजुद पनि कृषि प्राविधिकहरू ग्रामीणदेखि सहरी क्षेत्रमा प्राविधिक सेवा दिइरहेका छन् । अनि किसानहरू कृषिउपज उत्पादन गरी बजार पठाइरहेका छन् । 

औद्योगिक क्रान्ति तथा उन्नत प्रविधि विकास लागि पर्याप्त र अतिरिक्त कृषिमूलक उत्पादन वृद्धिको चरण पार गर्दै औद्योगिक क्रान्ति सफल भई मुलुक समृद्ध हुने तथ्य प्रमाणित भएका छन् । कृषि उत्पादनलाई विकासको आधारभूत सर्त मानेका छन् । कृषि क्रान्तिको अगुवा भनेका त किसान नै हुन् ।  सन् १९६० को दशकमा मित्रराष्ट्र भारतको हरित क्रान्तिका पिता भनी चिनिने प्रा. एमएस स्वामीनाथनले पनि कृषि गलत दिशामा गयो भने कुनै पनि कुरा सही दिशामा जाने सम्भावना हुँदैन भनेका थिए । 

त्यसैले असार १५ लाई एउटा संकल्प गर्ने र गराउन उत्साहित गर्ने गरी मनाऔं कि अब खानेकुरा खेर नफालौं र उत्पादक किसानको सम्मान गरौं ।

अधिकारी पीएचडी शोधार्थी हुन् । 

 

प्रकाशित: असार १५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार