गन्तब्य

यात्रा : केरुङ सपना

- जगदीश्वर पाण्डे

असार १०, २०७४-२०७२ असोज ३ मा नेपालमा संविधान जारी भएपछि भारतले लगाएको ५ महिना नाकाबन्दीमा बेइजिङबाट हजारौं दूरी पार गरेर करिब दश लाख लिटर इन्धन सिगात्से–केरुङ–रसुवागढी हुँदै काठमाडौं आइपुग्यो । तिब्बतको सिगात्सेसम्म रेलकै डिम्बामा इन्धन ल्याइए पनि त्यहाँबाट यता भने चिनियाँ ट्यांकरमा ल्याइएको थियो । 

सिगात्सेबाट ५ सय ४४ किलोमिटर तल नवनिर्माणको प्रक्रियामा लागिपरिरहेको सहर केरुङ छ । त्यस नजिकको माङसिङ (केरुङबाट करिब ५ किमि वर) मा चिनियाँ ट्यांकरले ल्याएको इन्धन नेपाली ट्यांकरमा हालिएको थियो । रसुवागढी हुँदै रसुवा सदुरमुकाम धुन्चे र त्यही नजिक राम्चेलगायतका स्थानमा गएको पहिरोबीचको बाटोबाट ल्याइएका इन्धन ट्यांकरहरू दुई वर्षपछि पनि बिर्सिन सकिएको छैन । लामो रुटबाट ल्याइएको थोरै इन्धनले त्यस बेला नेपालीलाई के पुग्यो र ! नाकाबन्दीप्रति लड्ने नेपालीहरूको मनोबललाई भने उत्तरबाट आयातित ती केही ट्यांकरका दृश्यले बल थपिदिएको थियो । भूकम्पपछि चीनले तातोपानी–खासा नाका बन्द नै गरिदियो । भूकम्प र नाकाबन्दीको करिब २ वर्षपछिको दृश्यलाई औंल्याउने हो भने नेपाल र चीनको नयाँ नाकाको रूपमा रसुवागढी–केरुङ नाका सुचारु भयो । जुन नाका पहिले भोटबाट नुन–सुन ल्याउन प्रयोग गरिन्थ्यो ।

बाक्लिँदो सम्बन्ध 

जेठ ४ मा नेपालतर्फको सिमाना रसुवागढी र पुल क्रस गरी केरुङतर्फ छिर्दा आकाश र जमिनको भिन्नता देखियो । पहिलोपटक पारि तर्ने र करिब एक वर्षपछि भए पनि केरुङ छिर्नेहरू झस्किरहन्थे । 

कहाँ पूर्वाधारबिना चलिरहेका नेपाली कार्यालयहरू, कहाँ जबरजस्त रूपमा ठडिएका चिनियाँ कार्यालयहरू । तिब्बतको जिलुङ जिल्लामा पर्छ, केरुङ । हिमाल र पहाडका काखमा अवस्थित केरुङ बजार समुद्र सहतबाट २ हजार ८ सय मिटर माथि छ । यहाँ घाम लागेका बेलामा पनि चिसो स्याँठ भने लगातार रूपमा चलिरहेको हुन्छ । घर, झ्याल र ढोकाहरू चिनियाँ फलेवर झल्कने गरी हावालाई प्रतिरोध गर्ने गरी बनाइएका छन् । 

ठूला सडक बनिसकेको, बनिरहेको र बन्ने तयारीमा रहेको केरुङतर्फको पूर्वाधारबाट थाहा हुन्छ, चीनले नेपालसँगको यो नाकालाई त्रिदेशी (चीन–नेपाल–भारत) मा मात्र सीमित नराखी दक्षिण एसियाली क्षेत्रलाई लक्षित गरेर अघि बढाउन खोजेको देखिन्छ । पहिलो सुरक्षा र दोस्रो आर्थिक विकासमा जोड दिइरहेको चीनले केरुङमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । 

एक चिन नीतिमा अडिग नेपालले सन् २०१६ को मार्चमा पहिलोपटक पारवहन र यातायातको सम्झौता गर्‍यो चीनले अघि सारेको वेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा भर्खरै हस्ताक्षर गर्‍यो । र, सुरक्षालाई मध्यनजर गरेर चीनले नै प्रस्ताव गरेको नेपाल–चीन संयुक्त अभ्यासमा सहमति जनाएर मैत्रीपूर्ण सगरमाथा अभ्याससमेत गर्‍यो । यसबाट चीन नेपालसँग खुसी देखिन्छ । केरुङमा नेपालतर्फ जोड्ने नाकाका बजार, पूर्वाधार र सडकलाई हेर्दा चीन नेपालसँग प्रगाढ सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहन्छ । रसुवागढीबाट केरुङ छिर्ने र केरुङबाट रसुवागढी आउँदा चिनियाँ पोस्टमा गरिने निरीक्षणले भने सुरक्षाका विषयमा ऊ कहिले पनि ‘कम्परमाइज’ गर्न चाहँदैन भन्ने झल्काउँछ । 

रसुवावासीलाई अवसर 

चीनले रसुवा जिल्लावासीलाई मात्रै अस्थायी पास बनाएर केरुङमा छिर्न दिने गरेको छ । चीनको त्यही नीतिका कारण केरुङमा बाटो निर्माणका कारण रोकिएका मालबाहक र नेपालतर्फको बाटोमा गुडिरहेका गाडीका चालकहरू रसुवा जिल्लाका मात्रै थिए । 

केरुङ बजारबाट नाकातर्फ (२४ किलोमिटर) आउँदै गर्दा सडक निर्माणको अवरोधका कारण अड्किएका रसुवाका अन्तर्राष्ट्रिय चालकहरूले गुनासो गरे, ‘अहिले त यताको सडक निर्माण कार्यले गर्दा कहिलेकाहीं त ७ दिन बाटोमा बिताउनुपर्ने हुन्छ ।’ 

चालक मात्र होइन, एक वर्षमा ‘रिभ्यु’ गर्नुपर्ने पास बोकेका रसुवालीहरू केरुङमा नेपाली होटल चलाएर बसिरहेका छन् । रसुवाका डेन्डी तामाङले नोलिङ होटल चलाइरहेका छन् । उनको होटलमा नेपाली खाना र नेपालबाटै लगेका परिकार पाक्छन् । उनको होटल वरिपरि नेपाली खाना पाइने ४ होटल छन् । कामदार पनि रसुवाकै छन् । 

हुन त चीनमा आफूसँग सीमा जोडिएका हिमाली जिल्लाका नेपाली जनतालाई पासबाटै सीमित क्षेत्रसम्म आवत–जावत गर्न दिइएको छ । 

रोटीबेटी सम्बन्ध 

रुसुवाकी टिमुरेकी मञ्जु थापाले उमेर ३० कटेको छैन । टिमुरे त्यही स्थान हो, जहाँ नेपालले सुक्खा बन्दरगाह निर्माण गर्न लागेको छ । उनका बाबु पूर्वसैनिक हुन् । तर अहिले जागिर छाडेर व्यापारमा लागेका छन् । पश्चिमका थापा रसुवामा आएर विवाह गरे र त्यहीं बसे । मञ्जुको भने चिनियाँ युवकसँग टिम्मुरेमा व्यापारका दौरान भेट भयो । र, लभ–एरेन्ज म्यारिज पनि । अहिले मञ्जु केरुङ बजारमा बस्छिन् । व्यापार गर्छिन् । अब होटल खोल्ने तयारीमा समेत छिन् । उनको छोरासमेत ४ वर्षको भइसक्यो । ‘स्कुल जान थालिसक्यो,’ मञ्जुले सुनाइन् । भारसँगको रोटीबेटीको मात्र कथा सुनेका कतिलाई नौलो लाग्ला मञ्जुको हिमालपारीको घरजम । 

भूकम्पपछिको फरक दृश्य 

नेपालमा भूकम्प जाँदा सीमाक्षेत्र तिब्बत र त्यसमा पनि केरुङमा क्षति नपुगेको होइन । त्यहाँ पनि घर ढले । तर दुई वर्ष बित्तिसक्दा नेपालीहरू टेन्ट र टहरामुनि नै बस्न बाध्य छन् । सरकार जनताको र जनता सरकारको मुख हेरेरै बसिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका जनताको त भूकम्प प्रभावित जिल्लामा जाडो र वर्षा दुवै सिजनमा बेहाल छ । बस्ती नै स्थानान्तरण गरिनुपर्नेबारे त कुरा मात्रै भइरहेको छ । केरुङमा भने भूकम्पपीडितलाई चिनियाँ सरकारले एकतले लोभलाग्दा पक्की घर निर्माण गरेर हस्तान्तरण गरिदिइसकेको छ । चिनियाँ झन्डा फरफराउने हरेक घरहरूले ‘के यहाँ पनि भूकम्पले क्षति पुर्‍याएको थियो’ भन्ने प्रश्न सोध्न बाध्य बनाउँछ ।

साढे दुई घण्टामै 

केरुङबाट रसुवागढी हुँदै काठमाडौं जोड्ने तीन सडक मार्ग छन् । पहिलो, काठमाडौं–गल्छी–धुन्चे–रसुवागढी । यसको लम्बाइ १ सय ५१ किमि हो । दोस्रो, १ सय ४१ किलोमिटरको काठमाडौं–ककनी–धुन्चे–रसुवागढी हो । तेस्रो काठमाडौंको उत्तरी भेग टोखा हुँदै धुन्चे–रसुवागढी पुग्ने १ सय ३३ किमि । 

नेपाली सेनाले अहिले ट्रयाक खोलिरहेको र यो वर्षको चैतभित्रमा डबल लेन खोली सडक विभागलाई हस्तान्तरण गर्न लागेको मैलुङ– स्यापु्रmबेसी खण्डको १६ किलोमिटर र बेत्रावतीबाट मैलुङतर्फको करिब १० किमि सडक दुई लेनमा विस्तार भएपछि काठमाडौंबाट रसुवागढी कम समयमै पुग्न सकिन्छ । 

बेत्रावती मैलुङ हुँदै रसुवागढी सीधा खोलाको किनारैकिनार गएपछि २३ किलोमिटर कम दूरी पर्छ । साथमा डबल लेनको बाटो हुन्छ । र, करिब ३५ भन्दा बढी घुम्तीहरूलाई पार गर्नुपर्ने हुँदैन । चार घण्टामै आउन–जान सकिन्छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अघि बढाउन लागेको टोखादेखि नुवाकोटको थान्सिङ (छहरे) को टनेल मार्ग निर्माण भए, अझ बाटो छोटिन गई साढे दुई घण्टामै काठमाडौंबाट रसुवागढी पुग्न सकिन्छ । एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले लगानी गर्न चासो देखाएको उक्त टनेल बने साढे दुई घण्टामै आउन–जान सकिने मन्त्रालयका एक उच्च पदाधिकारीले बताए । किनकि १ सय ३३ किमिमा धुन्चेको उकालेको २३ किलोमिटर घट्दा एक सय १० किमि रहन्छ । त्यसमा पनि टनेल बनेपछि करिब २० किलोमिटर कम हुन्छ । त्यसको मतलब ९० किमिमा काठमाडौंबाट रसुवागढी पुग्न सकिन्छ । तर यसका लागि भने नेपालले तदारुकताका साथ काम अघि बढाउन जरुरी छ ।

होडिङ बोर्डमा आइसक्यो रेल 

माङसिङमा रहेको खाली जग्गाको अघिल्तिर एउटा ठूलो बोर्ड थियो । त्यसमा रेलको चित्र थियो । र, चिनियाँ र अंग्रेजी दुवै भाषामा अन्तर्राष्ट्रिय रेल भनेर लेखिएको थियो । केरुङलाई बुझेकाहरू यही स्थानसम्म चीनले सन् २०२० मा रेल ल्याउने बताइरहेका थिए । अहिले तिब्बतको सिगात्सेसम्म रेल आइपुगेको छ । चीनले अब ५ सय ४४ किलोमिटर यता रेल ल्याउने तयारी गरिसकेको छ । भ्रमणमा संवाददातासँगै रहेका संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारी जेठ ५ गते बिहान माङसिङको त्यो रेलको बोर्ड देखेर खुसी र दुखी दुवै भए । खुसी यो अर्थमा यहाँसम्म चीनले सन् २०२० मा रेल ल्याउँदै छ । दु:खी यो अर्थमा नेपालतर्फ रेल ल्याउनेबारेमा हुनुपर्ने तयारी भएको छैन ।

‘हाम्रोमा कुरा मात्र हुन्छ, काम हुँदैन । त्यही समस्या हो,’ उनले भने । उनले सडक र रेलमार्गलाई सँगसँगै लगेर नेपाललाई यातायात, व्यापार र आर्थिक दिशामा अघि बढाउनुपर्ने निष्कर्ष निकाले । उनले थपे, ‘यहाँ आएको रेललाई काठमाडौं, पोखरा, लुम्बिनी लाने र भारतबाट पनि रेल ल्याउनुपर्छ । अनि मात्र मुलुकको मुहार फेरिन्छ ।’

प्रकाशित: असार १०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार