भिडियो

राजकुलो सफाइमा जुटे स्थानीय

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४- ठेचो पारु गुठीका राजेन्द्र महर्जन तेल व्यापारी हुन् । उनी बुधबार व्यापार छाडेर लेले (टीकाभैरव)–कुपन्डोल भई बग्ने राजकुलोको सिल सफाइ/मर्मतमा जुटे । कुलो बन्द भएको करिब ८ वर्ष बित्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा उनी सफाइमा जुटेका हुन् । राजकुलोका भरमा रोपाइँ गर्नुपर्ने उनको गोदावरी नगरपालिका १३ मा २ रोपनी खेत छ । ‘पहिला चाँडै रोपाइँ सकिन्थ्यो,’ उनले सम्झिए, ‘कुलो नचल्दा असार लाग्दा पनि रोपाइँ गर्न सकिएन । गत वर्ष आकाशे पानीका भरमा धान रोपें । यसपालि बाँझै होला भन्ने डर।’ 
पारु गुठीकै अष्टमाया महर्जन पनि कुलो सफा गर्न बिहानैदेखि खटिइन् । कुलो नचलेकाले २ रोपनी खेतमा उनले रोपाइँ गर्न पाएकी छैनन् । चापागाउँ ओखा टोलकी लक्ष्मी श्रेष्ठले त यसपालि आलु खेती गर्नै पाइनन् । पारु गुठीकै चन्द्रगोपाल महर्जनको भने स्वार्थ फरक छ । उनको योजना राजकुलोको पानीबाट रोपाइँ गर्नु नभएर गाउँका पोखरी, ढुंगेधारा भर्ने छ।
बुधबार उनीहरू जस्तै पारु गुठीका ५६ गुठियारले श्रमदान गरे । टीकाभैरव १ नम्बर राजकुलो जल उपभोक्ता समितिको अगुवाइमा कुलो सफाइ गरिएको हो । पारु गुठी मात्र होइन यसअघि गोदावरी १२ मा रहेको बालकुमारी गुठीअन्तर्गतका त: गुठी (भैरव गुठी) का ९२ गुठीयार, चह्रेका ३७ र पूर्णिमाका २८ गुठीयार पालैपालो २६ गतेदेखि श्रमदान गर्दै आएका छन् । समिति अध्यक्ष विनोद महर्जनले गुठीयारहरूले ६ दिनमा २ किमिभन्दा बढी सफा गरिसकेको बताए । ‘स्थानीय बासिन्दाले स्वेच्छाले गरेको सहयोग रकमबाट खाजा खुवाउने व्यवस्था मिलाइएको छौं,’ उनले भने, ‘एकपटक खाजा खुवाउँदा ५/६ हजार रुपैयाँसम्म खर्च हुन्छ।’
समिति सचिव चक्र महर्जनले सबै कुलो सफा हुन ५० जनाका दरले दैनिक खटिए साता दिन लाग्न सक्ने बताए । ‘यसका लागि ठेचो तल्लो लाछीस्थित ब्रहमायणी गुठीअन्तर्गतका कोना: गुठी, न्हयस् र मू: गुठीका गुठीयारलाई श्रमदान गर्न आहवान गरेका छौं,’ उनले भने । पहिला राजकुलो हेर्ने ३२ कर्मचारी थिए । नगरपालिका गठन हुनुपूर्व चापागाउँ र ठेचोमा २/२ जना थिए । अहिले एकजना पनि छैनन् । पारु गुठीका नाइके जितगोविन्द महर्जनले कुलो राम्रोसँग चलाउन अहिले कम्तीमा ६ कर्मचारी चाहिने बताए । ‘पहिला गुठीयारहरूबाट श्रमदानै गर्नुपर्दैनथ्यो,’ उनले भने, ‘कर्मचारीले पानी थुन्ने, छाड्ने सबै काम गर्थे।’
‘कुलो नचल्दा रोपाइँ मात्र नभई तरकारी खेतीलाई पनि असर पारेको छ,’ चापागाउँ कृषि सेवा केन्द्रका अध्यक्ष बद्रीप्रसाद देशारले भने । कुलो नचलेपछि रोपाइँसँगै नगर र महानगरका अधिकांश पोखरी र ढुंगेधारा सुकेका छन् । ठेंचोका बुद्ध, महादेव, फुंगालगायत ८ पोखरी, सुनाकोठीका ३, धापाखेलका ३, झरुवारासीका २ र पाटन नगरपालिकाको पिम्बहाल, प्रयाग, जावलाखेल, मत्स्येन्द्रनाथ, तध: लगायत दर्जन बढी पोखरी पानी अभावले दुर्गन्धित बनेका छन् । यस क्षेत्रका सय बढी ढुंगेधारा सुकेका छन् । महानगरले राजकुलो नगर ल्याउन छुटयाउने गरेको बजेट बर्सेनि फ्रिज हुन्छ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कुलोको रेखदेख गर्ने कर्मचारी राख्ने योजना बनाइरहेको बताए । ‘कुलो महानगरसम्म पुर्‍याउन समन्वय गर्ने योजना छ,’ उनले भने । नेपाल–भारत मैत्रीपूर्ण सहयोगमा निर्माण भएको उक्त कुलो २०१८ मा बनेको थियो । २०६२ मा भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण भएको थियो । कुलोमा नल्लु र महादेव खोलाबाट पानी आउँछ । कुलोको लम्बाइ साढे २२ किमि छ । चारघेरभन्दा माथि करिब १ किमि जतिमा भने पानी छ । कुलोले करिब ६० हजार रोपनीमा सिँचाइ गर्ने क्षमता राख्छ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार